पूर्वानुमानअनुसार अन्ततः उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले बिहीबार खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीश कोइरालाको आदेशमा भनिएको छ, “बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौं जिल्ला अदालतबाट २०८०/८/१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी रु. तीस लाख धरौटी, जमानत वा बैंक जमानत दिई/लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।’
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो । न्यायाधीश प्रकाश खरेल खाणलाई धरौटीमा छोड्न नसकिने निचोडमा पुग्दा राय बाझिएपछि खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो । सोहीअनुसार आज सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो ।
अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडं जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।
प्रतिक्रिया