पत्रकार महेन्द्र पाण्डेयको निधन

पत्रकार महेन्द्र पाण्डेयको निधन


पत्रकार महेन्द्र पाण्डेयको निधन भएको छ ।

गुल्मी जन्मथलो भएपनि काठमाडौलाई कर्मस्थल तुल्याउँदै आउनुभएका पाण्डे लगभग तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । पाण्डेको हिजो (बिहीबार) राति बाउन्न वर्षको उमेर निधन भएको हो ।

नेपाल विद्यार्थी सङ्घ गुल्मीका पूर्वसभापति एवम् नेपाली काङ्ग्रेसमा क्रियाशील पाण्डेय अठ्ठाइस वर्षअघि घटना र विचार साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभएको थियो । एक दशक अवधि घटना र विचार साप्ताहिकमा क्रियाशील रहँदा राजनीतिक, सामाजिक लगायत विविध विषयमा कलम चलाएका स्वर्गीय पाण्डेयको ‘त्यसबेलादेखि यसबेलासम्म’ पुस्तक (अन्तरवार्ताको सँगालो) प्रकाशित छ । विभिन्न पत्रपत्रिकामा उहाँका दर्जनौँ फुटकर लेख पनि प्रकाशित छन् । पछिल्लो समय उहाँले आफ्नै सम्पादकत्वमा ‘रिपोर्टस् नेपाल डट् कम’ (अनलाइन पोर्टल) सञ्चालन गर्दै आउनुभएको थियो ।

बिहीबार साँझ ह्यात होटलमा आयोजित एक विवाह भोजमा सरिक भइरहेकै अवस्थामा स्वास्थ्यसम्बन्धी केही असहज महसूस गरेपछि पाण्डेयलाई बेहोस अवस्थामा दश बजे राति ओम अस्पतालमा पुऱ्याइँदा चिकित्सकले मृत घोषणा गरेको बुझिएको छ । उहाँको पार्थिव शरीर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा राखिएको छ ।

प्रजातन्त्र र राष्ट्रवादप्रति प्रतिबद्ध र जुझारु स्वभावका स्वर्गीय पाण्डेय अत्यन्त सहयोगी र मित्रवत व्यवहारका लागि परिचित हुनुहुन्थ्यो ।

दिवङ्गत पाण्डेका श्रीमती र दुई छोरी रहेका छन् । अल्पायुमै दिवंगत हुनुभएका पाण्डेयप्रति श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौँ ।