धनुषामा बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको आशंका

धनुषामा बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको आशंका


धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरीनजिक खाल्डोमा जमेको पानीमा गएराति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिएका छन् । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको प्रहरीको भनाइ छ ।

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता अवालेले जानकारी दिएका छन् ।

यता, चितवनको इच्छाकामना मन्दिरनजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।