मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

मेनपावर सञ्चालक र कर्मचारी पक्राउ


भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-३ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछाप दोरम्भा गाउँपालिका-७ घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।

केसीका अनुसार मनोज र पदम नजिकको नातेदार भएको र निजहरुले नक्कली कागजातका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई सेटिङ मिलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म लिइ युवायुवतीलाई विदेश पठाउने गरेका थिए ।

यही मङ्सिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई उक्त कार्यको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो । निज अधिकृत खड्कामार्फत पक्राउ परेका मनोज र निजको सालो पदमले तीन सय जना सेटिङ मिलाएर पठाएको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताए । उनले भने, ‘पक्राउ परेकालाई लिखितसम्बन्धी कसूर समेतका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।’