नेपाली सेनाका अशोकराज सिग्देललाई रथीको दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाका अशोकराज सिग्देललाई रथीको दर्ज्यानी चिह्न प्रदान


प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मनुभएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी हुनुभएको थियो ।

शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा हुनुभएका सहायक रथी सन्तोषवल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त हुनुभएको छ ।

रथीमा बढुवा हुनुभएका सिग्देल प्रधानसेनापतिको रोलक्रममा रहनुभएको छ ।