संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा

संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा


गोकर्णेश्वर नगरपालिका-१ स्थित वाग्मती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यारत हुनुहुन्छ ।

महालक्ष्मी नगरपालिका-८, ललितपुरका रेग्मी १६ दिनदेखि सिसी क्यामेराको निगरानीमा पानी पनि नपिइ तपस्यामा लीन हुनुभएको हो । गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दावी उहाँले गर्नुभएको छ । पानीसमेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उहाँले जानकारी गराउनुभयो । अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ ।

मङ्सिर १४ गतेदेखि भने उहाँ संसारीमाई मन्दिर परिसरमा सिसीक्यामेराको निगरानीमा केही नखाइ बस्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उहाँको निगरानी सिसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ । निराहार व्रत बसिरहनुभएका उहाँको दर्शनका लागि आउने भक्तजनको सङ्ख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ ।

निराहार तपस्यामा रहनुभएका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सङ्घीय सांसद सन्तोष चालिसे, वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाललगायत पुग्नुभएको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गर्नुभएका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफू पनि आश्चर्यचकित भएको बताउनुहुन्छ ।

rss