पश्चिमा-संस्कृतिको भासमा नेपाली…

पश्चिमा-संस्कृतिको भासमा नेपाली…


पश्चिममाले जस्तो केक काटी बत्ती निभाएर मनाउने हाम्रो संस्कार हैन । तर आधुनिकता र स्वतन्त्रताको भुत चढेर ‘पश्चिमाहरू नै हाम्रो बौद्धिक जगत् हुन्’ भन्ने ‘चेत’ भर्दै आफ्नो अस्तित्व गुमाउँदै गएका नेपाली यस्ता कुरालाई हावामै उडाउन माहिर छन् ।
✍ काशी पौडेल ‘आयुष’

आधुनिकता र स्वतन्त्रताले यति फड्को माऱ्यो कि अचेल आफ्ना भाव, चाह वा गोप्य व्यवहार सबै सामाजिक संजालमा छताछुल्ल पार्नु वा सार्वजनिक गरेर स्वतन्त्रता र एक्काइसौँ शताब्दिको महान् उपलब्धि ठान्छ मान्छे ! आफन्त, अभिभावक, इष्टमित्रलगायत विश्वभरीका दैनिक नित्यकर्म जान्ने माध्यम नै यही सामाजिक संजाल र विद्युतीय सामग्री हुन् भन्दा फरक नपर्ला । हामी नेपालीको कुरा गर्दा एकटकले सामाजिक संजालमा घोरियो… दिन कटायो… यस्तो लाग्छ कि सारा जीवन नै यही हो ! न परिवारको फिक्री न भोजनको सुर्ता छ ।

सामाजिक संजाल र विद्युतीय सामाग्रीले कतिपयलाई राम्रो मार्ग पछ्याउने माध्यम देखाउने कार्य गर्छ भने कैयनलाई चाहिँ नकारात्मकता, अनैतिकता सिकाएको छ । त्यस्तै, कतिपयका लागि आफ्नो कला-संस्कृति, परम्परा सर्वत्र फैलाउने थलो पनि बन्छ यो । कतिपयलाई आफ्नो बिर्सेर अरुको संस्कृति ग्रहण गर्ने थलो पनि यही बन्न पुग्छ । आम नेपाली आफ्नो सांस्कृतिक रीतिरिवाजलाई संरक्षण गर्नु भन्दा पनि अरुकोमा रमाउनुमा गर्व गर्न थालेका छन् । यसै सन्दर्भमा विद्युतीय सामग्रीमार्फत भित्रिएको एउटा पश्चिमी संस्कार- ‘जन्मदिनमा मैन निभाएर केक काट्ने’ परम्पराको बारेमा पङ्क्तिकारले यस लेखोटमार्फत केही बुझाउने चेष्टा गर्दैछ ।

प्राचीन सभ्यतामा मान्छेले प्रकृतिको पुजा गर्थे, आफूसँगै सारा ब्रह्माण्डका बस्तु उत्तिकै महत्त्वपूर्ण हुन् भन्ने ठान्थे । दैनिक नित्य कर्मसँगै भोजनमा समेत पंचदेव (जल, जमिन, आकाश, वायु, र अग्नि) प्रकृतिको पुजा गर्नु उनीहरूको धर्म मानिन्थ्यो । त्यतिबेला केक काटेर जन्मदिन मनाउने कुरा कल्पनाबाहिरको कुरा थियो । साधारण किसिमले बुझ्दा जब मान्छेले पात्रोको निर्माण गऱ्यो तबदेखि मान्छेले आफ्नो जन्मदिन लिखित रूपमा सम्झन सक्ने माध्यम बन्यो भन्ने लाग्छ । तर घडी, पला, निमेष जस्ता समयको मुल्याङ्कन गर्दै तिथिमिति पुऱ्याएर हाम्रो पुर्वीया सनातन सभ्यतामा अष्टचिरञ्जीवीको मन्त्र-
अश्वत्थामा वलिर्व्यासो हनुमांश्च विभिषणो ।
कृपः परशुरामश्च सप्तैते चिरंञ्जीवीनः ।।
सप्तैतान संस्मरेन्नित्यं मार्कण्डेयमथाषटमम ।
जिवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित ।।

अर्थात्, अश्वस्थामा, वलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र भगवान परशुराम जस्तै चिरञ्जीवी रहनु, सबै जगतमा ब्याप्त रहनु भनी घ्यू, तिल, जौ, अविर, महलगायतका सामाग्री तयार गरी पुजा-आराधना अनुष्ठान दियो बालेर मन्त्रोच्चारण गर्दै मनाउँदै आएका थियौँ । पश्चिममाले जस्तो केक काटी बत्ती निभाएर मनाउने हाम्रो संस्कार हैन । तर आधुनिकता र स्वतन्त्रताको भुत चढेर ‘पश्चिमाहरू नै हाम्रो बौद्धिक जगत् हुन्’ भन्ने ‘चेत’ भर्दै आफ्नो अस्तित्व गुमाउँदै गएका नेपाली यस्ता कुरालाई हावामै उडाउन माहिर छन् ।

प्रविधिको प्रयोगमा पश्चिममा संस्कृतिको बढ्दो हैकमवाद र संस्कृतिको चलखेलका कारण फिल्म, टिभी, रेडियो, मोबाइल हुँदै हाम्रोमा प्रभुत्व र सम्भ्रान्त परिवारका साथै धेरथोर अङ्ग्रेजी जाने-बुझेका ब्यक्तित्वको नक्कलवादी संस्कारको कारण पूर्वीय सभ्यतामा पनि पश्चिमी संस्कृतिको प्रभाव पर्दै गयो । जानेर वा देखासिखी गर्दै आमनेपालीको घर-घरमा यो कार्यले जरा गाडेर बसेको छ । बाइबलीय संस्कृतिको अनुयायीहरूका अनुसार ईसापूर्व ३००० मा फिरौनको जन्म भएको थियो । त्यही जन्म सम्झनास्वरुप जन्मदिन मनाउने परम्परा रहन गएको हो भनिन्छ । तथापि तत् मितिमा कुनै फिरौन भन्ने ब्यक्तिको जन्म भएको इतिहास पाइँदैन । तथापि, मिश्र देशमा फिरौनको सम्झनामा जन्मदिन मनाउने गर्थे भनिन्छ । युनानी, माया सभ्यताले देवी-देवताको मुर्तिस्वरुप बनाएर जन्मदिन मनाउने चलन चलाएको बताइन्छ । मान्यताअनुसार सबै ब्यक्तिमा एउटा खराब आत्माको बास हुन्छ । त्यो आत्माले ब्यक्तिमा खराब आचरण पैदा गर्छ । त्यसैले हर सालमा देवी-देवताको चन्द्रमा आकृति बनाएर मुर्तिमा पुजा-आराधना गर्दा ब्यक्तिमा भएको खराव आचरण नाश भएर जन्छ भन्ने मान्यता राख्दथे । असल आत्माले भगवानसँग सम्बन्ध बनाइराख्छ र खराब आचरण नाश गर्ने उनीहरूको सोचाइ थियो ।

खास जन्मदिनमा परिकार खुवाउने परम्पराको इतिहास केलाउदा रोमन राज्यबाट शुरूवात भएको पाइन्छ । प्रसिद्ध नर (छोरा मान्छे) जब ५० वर्ष पार गर्छ तब गहुँको पिठोमा जैतुनको तेल, पनिर, मह मिश्रण गर्दै पकाएर आगन्तुकलाई खुलाउने चलन चलाएको पाइन्छ । त्यहाँका राजा-महाराजाको जन्मदिन मनाउँदा सार्वजनिक बिदा दिने गरिन्थ्यो । यो कार्य १२औं शताब्दीसम्म रह्यो । हाम्रो पुर्वीय सभ्यताको अनुसार चीनमा पनि हर बच्चा जन्मेको एक सालमा अनुष्ठान अनुसार जन्मदिन मनाउने चलन थियो । यो कति शताब्दीसम्म चल्यो त्यो भने कतै उल्लेख पाइँदैन । अब पुनः इसाई धर्मावलम्बीको कथनलाई नै जोड दिउँ । चौथो शताब्दीसम्म छोरा जन्मेको एक सालमा पापमोचनको घडी भन्दै जन्मदिन मनाइन्थ्यो । त्यही परम्परालाई कृश्चियनहरू अचेल क्रिसमसको रूपमा मनाउने गर्छन् ।

रोमन संस्कृतिमा गहुँको पिठोमा केही सामग्री मिलाएर बाँड्ने चलन थियो । अचेलको केकको शुरूवात भने जर्मनी बेकरीद्वारा भएको हो । १८औं शताब्दीमा किन्डर फेस्टिफ नाम दिएर प्रयोगमा ल्याएको हो । किन्डर फेस्टिभ पार्टीमा जर्मन बेकरीले आफ्नो उत्पादित केकलाई मैनबत्तिले सजाएर पुऱ्याएपछि मैन निभाएर केक काट्दै जन्मदिन मनाउने आधुनिक शैलीको विकास भएको थियो । बच्चाको उमेरअनुसारको मैन संख्या राखेर जलाइन्थ्यो । एक साल बढी जिउन पाइयोस् भनी पुनः अर्को मैनबत्ति थपिन्थ्यो । यसरी जलेका मैन निभाएर दुष्ट आत्मा, सैतान (मुर्तिपुजक) नाश होउन् भन्दै पुकार्थे अनि केक काटेर आगन्तुकलाई बाँड्दथे । यसरी जन्मदिन मनाउनेहरू सबै सम्भ्रान्त परिवारकै हुन्थे । किनकि, आम मानिसलाई जन्मदिन मनाउन बन्देज थियो । यस्तोमा बसाइँसराइ गरेर बाहिर जानेले आफ्नो संस्कृति आफूसँगै लिएर गए । टिभी, सामाजिक संजाल (दूरभाष विद्युत उपकरण)को प्रभाव र प्रयोगसँगै विश्वब्यापी हुँदै गयो ।

अमेरिकीहरू भने जन्मदिनको पर्वलाई अलिक भिन्न किसिमले हेर्ने गर्छन् । जस्तो कि अक्टोबर ५ लाई विशेष महत्त्वपूर्ण र सांस्कृतिक जन्मदिनको रूपमा हेर्छन् । यो विशेष दिनमा धेरैले जन्मदिन मनाउने चलन थियो । तर, मे २२ को दिनलाई खराब जन्मदिन भनेर धेरैले बहिष्कार गर्थे ।

सन् १७६० देखि १८४० सम्म चलेको औद्योगिक क्रान्तिपछि मात्र सर्वसाधरणले केक चाख्न पाएका थिए । त्यो पनि उद्योगहरूले वार्षिक उत्सव मनाउदा केक काट्ने र उद्योगको कर्मचारीलाई केक बाँड्ने चलन ल्याएपछि मात्र सम्भव भएको हो । हाम्रो पुर्वीय दर्शनमा जुनसुकै कार्य पर्व आदि पर्दा फलफुल र मिष्ठान्नको उपयोग गरिन्छ । तर अहिले संचारको पहुँच र सामाजिक संजालको प्रयोग तथा वैदेशिक रोजगारमा पुगेका नेपालीको कारण केकसँगै ह्याप्पी बर्थ डे गीतको प्रभाव कुना-कन्दरासम्म पुग्यो । तर ह्याप्पी बर्थडे गीतको बारेमा नेपालीलाई ज्ञान छैन । पैटिहिल र मिल्ड्रेड हिल दिदीबहिनी (केन्टुकी स्कुलको शिक्षिका)को संयुक्त प्रयासमा सन १८९३ लेखिएको गुड मर्निङ्ग टु यु अल भन्ने गितको परिस्कृत रिमिक्स गीत अहिलेको ह्याप्पी बर्थ डे टु यु भन्ने गीत बनेको हो । यो गीतलाई स्कुलका विद्यार्थीले सामुहिक रूपमा गाउने गर्थे । गीतलाई पुस्तकमा प्रकाशित गर्दै पुनः १९२४ मा रोबर्ट कोलवैनद्वारा थप परिस्कृत गर्दै संगीतवद्ध गरिएको थियो । तिनै हिल दिदीबहिनीको रचना र कोलवैनको संगीतबद्ध गीत आजको समयसम्म निरन्तर बज्ने गर्दछ । प्रतिलिपी अधिकार हिल दिदीबहिनीको अधीनमा रहेकोेले कसैले चाहेर पनि पुनः थप परिस्कृत गर्ने हिम्मत नराखेका हुन् ।

आधुनिक जगतको जश खोज्ने पश्चिममाहरू सम्भ्रान्त परिवार र गोराभन्दा बाहिर समानता देख्नै चाहन्थेन । त्यो नियम आजको दिनसम्म पश्चिमीहरूमा गोरा काला धनी, गरिवको विभेदमा यथावत नै छ । मुस्लिम, इस्लामहरू धार्मिकताको सवालमा विभेदको जंजिरमा जकडिएको छ । तिनै मुस्लिम र इसाईको विभिन्न सम्प्रदायमा जुनसुकै पर्वमा एक अर्कोलाई बन्देज लगाउने निस्तेज पार्ने घटना आज पनि रहीआएको छ । हाम्रो पूर्वीय संस्कृति परम्परामा सबै एकैनास हौँ भन्ने भावना थियो । भलै कार्यविभाजनको कारण चार वर्णविन्यासमा राखिएको थियो । सबैले जुनसुकै पर्वहरू सामुहिक रूपमा मनाउने चलन परापूर्व कालदेखि रहिआएको छ । भलै आजभोलि पश्चिमा छद्मभेषीहरूको मिसनले पूर्वीय सभ्यता र वर्णका छेदभित्र घुसपैठ गर्दै विभेद जहर घोलेर द्वन्द्व निर्माण गर्न खोज्दैछन् ।

त्यसैले अब हामीले हाम्रो परापूर्वदेखि चल्दै आएको हाम्रो मौलिकता, पहिचान, परम्परा, संस्कृतिलाई जोगाउँदै आफ्नै मौलिकताअनुसार जन्मदिन वा कुनै पर्व मनाउन कटिबद्ध रहनुको विकल्प छैन । पश्चिमाहरू आफ्नो राम्रो-नराम्रो संस्कृति विश्वब्यापीकरण गर्दै नाफा कमाउँछन् । हामीलाई प्रयोगको बस्तु ठान्छन् । हामी तिनको प्रभावमा पर्छौं आफ्नो अस्तित्व गुमेको पत्तै पाउँदैनौँ । त्यसैले हामी अस्तित्वविहीन पहिचानरहित नेपाली बन्दै गइरहेको छौँ । अब अरुलाई दोष दोखाएर आफ्नो अस्तित्व सक्ने हैन, आफ्नो मौलिक परम्परा, ग्रन्थ संस्कृति जोगाउने तपाईं-हामीले हो । आजैदेखि लागौँ । जय मातृभूमि !