मापसेवन गरेर एम्बुलेन्स चलाउने चालक प्रहरी नियन्त्रणमा

मापसेवन गरेर एम्बुलेन्स चलाउने चालक प्रहरी नियन्त्रणमा


मोरङमा मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने चालक फेला परेका छन् । बिरामी बोक्ने अति संवेदनशील साधन एम्बुलेन्स चलाउँदा पनि मादक पदार्थ सेवन गर्ने चालकहरू प्रहरी नियन्त्रणमा आएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार प्र१–०२–००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरीको दुहवी-४ का २८ वर्षीय सुनिल राजबंशीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको र उनलाई नियन्त्रणमा लिने क्रममा अभद्र ब्यवहारसमेत गरेका छन् । टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहारमा दिन ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।

यस्तै को१च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ रतुवामाई नगरपालिका-५ का २९ वर्षिय सफलमुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदै अन्य केही मोटरसाइकल र पसलको सटरमा समेत क्षति पुऱ्याएका छन् । उनलाई पक्राउ गरी अभद्र ब्यवहार कसूर अन्तर्गत अनुसन्धानपछि प्रशासन कार्यालयबाट १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

एम्बुलेन्स जस्तो संवेदनशील सेवामा समेत मादक पदार्थ एवं लागुपदार्थ सेवन गरी सवारी चलाई विरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुऱ्याउने चलन देखिएको छ । यस्ता गलत चलनलाई नियन्त्रण गर्न प्रहरीले शुन्य सहनशिलताको नीति लिएको प्रवक्ता दाहाल घटना र विचारलाई बताउँछन् ।