‘राजतन्त्र’को पुनर्स्थापना : एक दिवास्वप्न !

‘राजतन्त्र’को पुनर्स्थापना : एक दिवास्वप्न !


राजा आउ देश बचाउ भन्नेले चुप लागेर बसेका ज्ञानेन्द्र शाहलाई नै विस्थापन गर्न यो साजिस गरिरहेका त छैनन् ? शङ्का गर्नुपर्ने ठाउँ छ । किनकि यो आन्दोलनको रथ हाँक्नेहरूमध्ये भ्रष्ट र पतित व्यक्तिहरू पनि भएकाले त्यस्तो शङ्का उब्जिएको हो ।
✍ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

२०५१ को मंसिर महिनातिर नेपाली राजनीतिक इतिहासमा पहिलोपल्ट कम्युनिष्ट पार्टीको सरकार बन्यो र त्यसको नेतृत्व मनमोहन अधिकारीले गर्नुभयो । त्यस बेलाको प्रचलनअनुसार महिनाको पहिलो बिहीबार राजासमक्ष प्रधानमन्त्रीले ब्रिफिङ गर्नुपर्थ्यो । त्यो बेला प्रधानमन्त्री मनमोहन अधिकारी पहिलोपल्ट दरबारमा जानुभयो । राजा वीरेन्द्रले राम्रो स्वागत-सत्कार पनि गर्नुभयो । राजा वीरेन्द्रले प्रधानमन्त्री मनमोहनसित भन्नुभएछ, ‘मनमोहनजी मैले तपाईंले एकपल्ट जनकपुरमा भाषण गर्नुभएको कुरालाई आजपर्यन्त बडो हेक्कामा राखिरहेको छु ।’ मनमोहनजीले सोध्नुभएछ, ‘के कुरा हो सरकार त्यस्तो ?’ राजा वीरेन्द्रले उत्तर दिनुभएछ, ‘जनमत सङ्ग्रहको बेला जनकपुरमा भाषण गर्दा म मरेँ भने एउटा मनमोहन मर्ने हो, तलमाथि परे मनमोहन पर्ने हो, तर राजाको श्रीपेच गयो भने त्यो कहिल्यै फर्किंदैन, त्यसैले म श्रीपेच जोगाउने मात्र प्रयत्नमा छु, म वा हामीलाई राजनीतिमा नतानिदिनोस्, किनकि अब हामीले राजनीति गऱ्यौँ भने श्रीपेच रहँदैन, तपाईंको यो भनाइ मलाई असाध्यै सटीक लागेको छ ।’

उहाँहरूबीच निकै लामो कुराकानी भएको थियो भन्ने मैले विशेष सूत्रबाट थाहा पाएको थिएँ । नेपालको राजनीतिक इतिहासमा राजा वीरेन्द्र अत्यन्त लोकप्रिय राजा थिए भने २०४६ पछि बनेका प्रधानमन्त्रीमा मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई अति आदरणीय व्यक्तित्व थिए । यी दुई व्यक्तिको विषयमा लेख्नुपर्दा अझै पनि मेरा आँखाबाट आँसुका धारा छुट्छन् । मैले यी तीन जनाबाहेक अरूलाई त्यस्तो शिखरमा राख्न सकिनँ ।

पहिले त मनमोहनजीसित मेरो १५ वर्ष आउजाउ भयो, उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो भने २०४५ देखि किशुनजीसित सम्पर्क भयो, यो क्रम पछिसम्मै रहेको थियो । उहाँहरू दुवैको निष्कलङ्क चरित्रबाट म जति प्रभावित थिएँ, त्यति कसैबाट भइनँ । त्यस्तै २०५३ पछि राजा वीरेन्द्रकहाँ आउजाउ भइ नै रह्यो, कवि चेतबहादुर कुँवर राजाका स्वकीय सचिव हुनुहुन्थ्यो र, मलाई असाध्यै सम्मान गर्नुहुन्थ्यो । मलाई लाग्छ- वीरेन्द्र राजा साँच्चिकै सुझबुझ भएको, उदार एवम् प्रजातान्त्रिक चरित्रको हुनुहुन्थ्यो । उहाँले मनमोहनको श्रीपेच फर्किंदैन भन्ने कुरालाई बडो गम्भीर रूपमा लिनुभएको प्रसङ्ग यस बेला उद्धरण गर्नु उपयुक्त लागेर उल्लेख गरेको हुँ ।

यति बेला मुलुकमा एकथरि मानिसहरूले राजतन्त्रको आवश्यकता भएको भनेर बेमौसमे आन्दोलन चलाइरहेका छन् । राजतन्त्र गएपछि फर्केको त्यस्तो इतिहास त छैन । बेलायतमा झण्डै २ सय वर्षपछि फर्केको थियो भने कम्बोडियामा राजकुमार सिंहानुक राष्ट्रपति हुनुभएको थियो । जापानका राजा हिरोहितोचाहिँ हिरोसिमा र नागाशाकीमा अमेरिकाले नरसंहार गरेपछि संसद्समक्ष माफी मागेर संसद्को अधीनमा बस्ने शर्तमा राजा रहिरहनुभएको थियो । त्यस्तै, राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई श्रीपेच नै जिम्मा लगाइ साधारण नागरिक भएर बस्ने मनसायले २०६५ गद्दी त्याग गर्नुभएको थियो । त्यसपछि उहाँले पुनः राजा हुने सपना देख्नुभएको जस्तो मलाई लाग्दैन ।

राजा महेन्द्रका धेरै परिवारमध्ये एक परिवार सीता गुरुङ पनि हुन्, उनीबाट जन्मिएका रवीन्द्र शाह (जो स्व. वीरेन्द्र राजाका साख्खै दाइ हुनुहुन्छ) को जन्म भयो । उहाँ कालिमाटी र कलङ्कीबीचको रविभवनमा बस्नुहुन्छ र उहाँको त्यहाँ बसोबास भएपछि उक्त ठाउँको नाउँ नै रविभवन भएको हो । उहाँ एक राम्रो कवि पनि हो । उहाँ राजा महेन्द्रका सबैभन्दा ज्येष्ठ सुपुत्र हुनुहुन्छ । मेरो विचारमा साँच्चै राजाको आवश्यकता देशलाई परेको हो भने उहाँलाई विकल्पको रूपमा अघि सार्न सकिन्छ । स्व. वीरेन्द्रकी साख्खै सुपुत्री श्रुतिकी जीवित दुई पुत्रीहरू छन्, उनीहरूलाई दोस्रो विकल्पका रूपमा अघि सार्न सकिन्छ । अर्का पृथ्वीनारायणकै वंशज प्रकाशजङ्ग शाह पनि हुनुहुन्छ, यीबाहेक अरू विकल्प भएजस्तो मलाई लाग्दैन ।

ज्ञानेन्द्र शाहलाई देशले २/२ चोटि राजा बनाएकै हो, तर दुवैपल्ट उहाँले राजा पद जोगाउन सक्नुभएन । तेस्रोचोटि बनाए पनि उहाँबाट राजा पद जोगिने ग्यारेन्टी देखिँदैन । तसर्थ उहाँका नाउँमा आन्दोलन गर्नु बुद्धिमान मानिसको काम होइन । एकपल्ट उहाँका नाति हृदयेन्द्रलाई राजा बनाउने भनेर बेबी किङ र अर्कोतर्पm सेरेमोनियल किङको चर्चा पनि चलेकै हो, त्यस मामलमा यी दुवै कुरामा दरबारबाटै सपोर्ट नभएको हुँदा गणतन्त्र आएको हो ।

त्यो बेला पनि राजपाठ सम्हाल्न सक्ने सामर्थ्यवान् व्यक्ति शाही परिवारमा कोही देखिएन । किनकि, २०५८ को दरबार हत्याकाण्डमा शाही परिवारका १० मध्ये ९ परिवारको हत्या भएको थियो । श्रुति र धीरेन्द्र पनि अकालमै मारिएका थिए र यो हत्याकाण्ड देखिजान्नेलाई पछि खेदी-खेदी मारिएको हुँदा हत्या नै रहस्यमय बन्नपुग्यो, तसर्थ अब राजा राख्तैमा वा पुनःस्थापना गर्दैमा देशको समस्या समाधान हुन सक्दैन । हुन्थ्यो भने पूर्वराजा ज्ञानेन्द्र आफैंले सत्ता छोड्नुहुने थिएन । उहाँले आफ्नो कमजोरी स्वीकारेर नै स्वेच्छाले गद्दी त्याग गर्नुभएको हो । अब त्यागेको गद्दीमा गएर बस्नु त उहाँलाई नैतिकताले पनि दिँदैन होला ।

उहाँले गद्दी त्याग्ने बेलामा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई श्रीपेच बुझाउँदै यो सुरक्षित राखिरहन नेपाल सरकारलाई अनुरोध गर्नुभएको समाचारमा आएको थियो । तसर्थ उहाँको श्रीपेच कसैले खोसेको नभइ उहाँले स्वेच्छाले सरकारलाई बुझाउनुभएको देखिन्छ । यदि सरकारले कसैलाई राजा बनाउनु छ भने हालको संविधानले सबै जातलाई समान ठान्छ, लिङ्ग र वर्णको भेदलाई मान्दैन । तसर्थ साँच्चै राजा नै बनाउने हो भने रवीन्द्र, प्रकाशजङ्ग वा श्रुतिका छोरीलाई बनाए के फरक पर्छ त ?!

हुन त अहिलेको युगमा राजा राख्ने काम युगद्रोही कदम हो । तर पनि केही कुत्सित मनसाय भएका युगद्रोहीहरूले राजा फर्काउने भनेर आन्दोलन गरिरहेकाले तिनलाई स्पष्ट पार्न आवश्यक भएकाले यो विकल्प प्रस्तुत गरेको हुँ । तर राजाको श्रीपेच गएपछि फर्किंदैन भन्ने मनमोहनको यो भनाइ लगभग ध्रुवसत्य हो । जसले श्रीपेच नै देशलाई बुझायो उसैले फेरि श्रीपेच देउ त भन्दैन होला । फेरि यो आन्दोलनप्रति ज्ञानेन्द्र शाहको कहीँ-कतै समर्थन वा सहानुभूति भएजस्तो पनि देखिँदैन । मलाई लाग्छ- यस्तो आन्दोलन चलाएपछि संविधानले स्वीकार्दैन र कथंकदाचित ज्ञानेन्द्रले समर्थन गरेमा उनको सबै कुरा जाने सम्भावना बलियो छ । तसर्थ राजा आउ देश बचाउ भन्नेले चुप लागेर बसेका ज्ञानेन्द्र शाहलाई नै विस्थापन गर्न यो साजिस गरिरहेका त छैनन् ? शङ्का गर्नुपर्ने ठाउँ छ । किनकि यो आन्दोलनको रथ हाँक्नेहरूमध्ये भ्रष्ट र पतित व्यक्तिहरू पनि भएकाले त्यस्तो शङ्का उब्जिएको हो । नेपालमा खाँट्टी राजावादी दल राप्रपा हो, उसले पनि यो आन्दोलनप्रति ऐक्यवद्धता जनाएको देखिएन । बरु कम्बोडियामा जस्तो ज्ञानेन्द्र शाहले पार्टी खोलेर चुनाव जितेर राष्ट्रपति बन्ने काममा लाग्नु उत्तम बाटो हो जस्तो लाग्छ ।

स्मरणीय छ, नेपालमा राजा ल्याउन यस्तो आन्दोलनले किमार्थ सक्दैन । तर नेपाली काङ्ग्रेस वा एमालेले चाहेमा आन्दोलन गर्नैपर्दैन । नेपाली काङ्ग्रेस र एमालेलेले अब पनि राजा ल्याएर आफ्नै टाउकामा बञ्चरो हान्ने काम गर्लान्जस्तो मलाई लाग्दैन । हुन त हालै एमालेले मेची-महाकाली अभियान सम्पन्न गरेको छ, यसबाट उसले जनमत बुझ्ने कोसिस गरेको छ भने नेपाली काङ्ग्रेसले गणतान्त्रिक हिन्दुराज्य र सङ्घीयता खारेजी गर्ने विषयमा विमर्श गर्नथालेको छ । यो कुरालाई विचार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्दिरहरूमा गएर गेरुवस्त्र धारण गर्न थालेका छन् । तसर्थ, यी तीनैवटा पार्टीले धर्मनिरपेक्षता र सङ्घीयता खारेज गर्नसक्ने स्पष्ट सङ्केत गरेका छन् ।

सङ्घीयताको पक्षमा एमाले र काङ्ग्रेस थिएनन्, धर्मनिरपेक्षका विषयमा पनि दुवैको सायद यही धारणा थियो, तर कतैबाट जबर्जस्ती लादिएको हो भन्ने दुवै पार्टीमा हेक्का छ । अब एमालेको जनमत बुझाइलाई काङ्ग्रेसले कसरी लिन्छ भन्ने हेर्न बाँकी छ । किनकि नेपालको लोकतान्त्रिक आन्दोलनमा यी दुई पार्टीको भूमिका अग्रणी रहिआएको तथ्य कतैबाट छिपेको छैन । यो घटनामा माओवादी चेपुवामा नपर्ला भन्न सकिँदैन । काङ्ग्रेस सकेसम्म धर्मनिरपेक्षता र सङ्घीयता पुष्पकमल दाहालबाटै खारेज गराउन चाहन्छ र यो बाटो एमालेका निम्ति पनि सुगम हुन्छ भन्ने मेरो बुझाइ छ । माओवादीले पनि जनतन्त्र, जातीय राज्य आदि थुप्रै उरन्ठेउलो बाटो त्यागिसकेको छ भने धर्मनिरपेक्ष र संघीयता पनि नत्याग्ला भन्न सकिन्न, यदि त्याग्यो भने यो माओवादीका निम्ति पनि अनुकूल बाटो हुनेछ । यही धर्मनिरपेक्षता र सङ्घीयता बोक्नाले आफू अलोकप्रिय हुँदै गएको माओवादीले पनि अनुभूत गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि नगरेको भए यी दुई ठूला पार्टी काङ्ग्रेस र एमाले एक बिन्दुमा उभिए भने माओवादी पनि उभिन कर लाग्छ, पछि हट्न नमिल्ने परिस्थिति तयार भइरहेको छ । दाहालले पनि आफू सत्तामा टिकिरहन र जनसमक्ष पुग्ने अवसरलाई गुमाउने बाटोमा लाग्छन् भन्ने मलाई लाग्दैन । फेरि धर्मनिरपेक्षता र सङ्घीयता खारेज गरे भने राजावादी स्वतः जिरो डिग्रीमा झर्ने वर्तमान परिस्थितिलाई देउवा, ओली र प्रचण्डले पनि राम्रै गरी बुझेका छन् । अहिलेको दबाबले यही कुरालाई इङ्गित गर्छ । तर, राजतन्त्र फर्किन्छ भन्ने कुराको चाहिँ कल्पनासम्म गर्न सकिँदैन । त्यो एउटा दिवास्वप्न मात्र हो । किमधिकम् ।

  • महाकवि देवकोटा आश्रम, हालः बेघर