मिटरब्याजी निरन्तर धर्नामा : ‘सम्झौता भयो, कार्यान्वयन भएन’

मिटरब्याजी निरन्तर धर्नामा : ‘सम्झौता भयो, कार्यान्वयन भएन’


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मिटरब्याजबाट पीडित बनेकाहरू निरन्तर आन्दोलनमा छन् । मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले राजधानीमा निरन्तर धर्ना दिइरहेको छ । रत्नपार्कको शान्ति बाटिकामा धर्नामा बसेका उनीहरू सरकारले आफ्ना मागको सम्बोधन नगरेको भन्दै आक्रोश व्यक्त गर्छन् ।

मिटरब्याज (अनैतिक आर्थिक कारोबार) समाधान गर्न सरकारले आयोग नै बनाएको छ । आयोगले करिव २ सय १५ बिगाहा जग्गा पीडित किसानलाई फिर्ता गरेको दाबी पनि गरिरहेको छ । तर, ब्यवहारमा त्यस्तो छैन । सर्लाहीबाट धर्नामा बस्न आएका तैयव मन्सुरले करिव ५० बिगाहा जग्गा पनि पीडितले फिर्ता नपाएको दाबी गरे । उनले भने, ‘आयोगले मुद्धा त मिलायो तर, त्यो अझै कार्यान्वयन भएको छैन ।’

आयोगमा २८ हजार मुद्धा परेका छन् । तीमध्ये ५ सयजति मिलाएको छ । तर, ती कार्यान्वयनमा नआएको कन्चनपुरदेखि आएका पुस्करराज भट्टले घटना र विचारलाई बताए ।

आयोग सरकारले बनाए पनि त्यो अधिकारविहीन भएकोले नै उसका फैसला कार्यान्वयन हुन नसकेको पीडितहरुको भनाइ छ । पीडितहरु गत मंसिर २८ गतेदेखि निरन्तर धर्नामा छन् । उनीहरूलाई प्रहरीले पक्रने र छोड्ने गरिरहेको छ ।