फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौनपीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौनपीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौनपीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।

राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नुपरेको छ । फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ ।

बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको सर्वोच्च राज्य पुरस्कार खोस्नुपर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफू त्यसको पक्षमा नभएको बताएका थिए । डेपार्डियोले करिब तीन दशकअघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गरेका थिए ।

राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उनको आलोचना शुरु भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उनको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् ।

करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खलाहरू बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाहरूले यौन उत्पीडन र आक्रमण गरेकोको आरोप लगाएका थिए।

सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको शुरुमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो ।

यता नारीवादी सङ्गठनलेले म्याक्रोनका टिप्पणीहरू यौनहिंसा भोगेका सबै महिलाहरूका लागि ‘अपमान’ भएको बताएका छन् । राष्ट्रपतिका यस्ता अभिव्यक्तिले यौनहिंसा पीडितको मनोबल खस्किने र पीडामाथि पीडा थपिने भन्दै विभिन्न सङ्गठनका प्रतिनिधिहरू थप उत्तेजित भएका छन् ।

ग्रीन पार्टीकी सांसद स्यान्ड्रिन रुसोले राष्ट्रपतिको उक्त टिप्पणीलाई ‘यौन हिंसा पीडितहरूलाई आवाज दिने आन्दोलनको अपमानू भएको बताएका छन् । त्यस्तै, महिला फाउन्डेसन नामक संस्थाकी प्रमुख आनी-सेसिल मेलफर्टले ‘पीडितहरूप्रति यो कति अपमानजनक र घृणित छ, र समयभन्दा कति पछाडि छ भनेर भन्न एकल ट्वीट पर्याप्त छैन’ भन्ने टिप्पणी गरेकी छन् ।

फ्रान्स २ टेलिभिजन च्यानलले अभिनेतालाई उनको २०१८ को उत्तर कोरियाको यात्रामा महिला दोभाषेको उपस्थितिमा बारम्बार स्पष्ट यौन टिप्पणीहरू गरेको र घोडामा सवार सानी केटीलाई यौन शोषण गरेको देखाएको छ।

पूर्व राष्ट्रपति फ्रान्कोइस ओलान्डले बिहीबार फ्रान्स इन्टर प्रसारकसँगको कुराकानीमा उक्त फुटेज हेरेपछि आफूलाई ‘जेरार्ड डेपार्डियोप्रति सम्मान नरहेको’ बताएका छन् । तथापि अक्टोबरमा अभिनेताले आफ्ना विरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।