‘भ्रष्टाचार गर्नेहरूले नै काटे नेपालका राजा’

‘भ्रष्टाचार गर्नेहरूले नै काटे नेपालका राजा’


रणबहादुर शाह युवक राजा थिए । उनको मुख्य दायित्व थियो- राष्ट्र र जनताको रक्षा ।

ऊबेला राज्यकोषबाट अठार हजार रुपियाँ मासेपछि ती भ्रष्टाचारीबारे छानबिन गर्न राजाले साँझमा बैठक बोलाए ।

केही दिनअघि मात्रै भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड पाउन लागेका त्रिभुवन प्रधान (खवास)ले ‘मजस्ता धेरै छन्’ भनेर पोल खोलेपछि काट्न विष्णुमति लगिएका त्रिभुवनलाई बाटोबाटै फर्काएर पुनः अनुसन्धान सुरु गरियो ।

राजा रणबहादुर शाह काशीमा बसेका बखत काठमाडौंमा धेरै भारदारले मोज गरेको र उनीहरूले विदेशी धन लिएको सूचना पाएका थिए, राजाले ।

भीमसेन थापाको गुप्त योजनाअनुसार राजपरिवारका शेरबहादुर शाही पनि भ्रष्टाचारको अभियोगमा मुछिए ।

साँझ छिप्पिँदै जाँदा धेरै रहस्य खुल्दै गयो तर भ्रष्टाचार गर्नेहरू राजाभन्दा प्रवल भएकाले उनीहरू ऐक्यबद्ध थिए ।

विक्रम सम्वत् १८६३ बैशाख १६ गते सो बैठकमा शेरबहादुर शाही र त्रिभुवन प्रधान प्रमुख अभियुक्त ठहरिने निश्चित थियोे । राजाको अनुपस्थितिमा युरोपका क्रिश्चियनहरूसँग घुस खाएर उनीहरूले नेपालमा ब्यापारकेन्द्र खोल्न अनुमति दिएको पाइयो ।

रणबहादुरलाई भारततर्फ लखेटे मात्रै योजना सफल हुने भएको हुँदा सो रणनीति बनाउन इस्ट इण्डिया कम्पनीको हात रहेको खुलासा भयो । अहिलेको सन्दर्भमा हेर्दा नेपाली राजनीतिमा त्यो प्रत्यक्ष हस्तक्षेप थियोे ।

गीर्वाणयुद्धविक्रम शाह बालक राजा छँदा पनि उनले विदेशीलाई त्यस्तो अनुमति दिएका थिएनन् ।

रणबहादुरले बैठकमा धेरै केरकार गरेपछि बाहिर बार्दलीमा गएर शेरबहादुरले एक अम्खोरा पानी पिए । राजाले मार्छन् भन्ने बुझेर राजाका सौतेनी भाइ शेरबहादुरले कम्मरबाट फुत्त तरवार झिकेर राजालाई काटे ।

यी सबै कुराको तारतम्य मिलाएका प्रधानमन्त्री भीमसेन थापा केही मिनेटअघि मात्रै ‘खाना खाएर आउँछु’ भनेर बैठककक्षबाट बाहिर गएको इतिहासज्ञहरूले लेखेका छन् । सो घटनापछि उथलपुथल भयो ।
भीमसेनले राजाका हत्यारा भन्दै दरबारका धेरै निर्दोषहरूलाई मारे ।

रणबहादुरको हत्यापछि गीर्वाणयुद्धविक्रम शाहको रक्षा गर्न सल्यानमा बिहे भएकी पृथ्वीनारायण शाहकी छोरी विलासकुमारी काठमाडौं आइन् ।

दरबार हत्याकाण्डको रचनाकार र प्रमुख अभियुक्त भीमसेन नै हो भनेर उनले भन्न थालेपछि उनलाई पक्राउ गरेर फलावाङ पुऱ्याइयो । वर्षको १४ सय रुपियाँ भत्ता दिएर कैदी जस्तो घुमफिर गर्न नपाउने आदेश दिए भीमसेनले ।

भ्रष्टाचार र भ्रष्टाचारी मात्रै होइन, विदेशी हस्तक्षेप विरुद्धमा कठोर हुन खोज्दा मारिएका रणबहादुरका बारेमा नराम्रा कुरा मात्रै प्रकाशमा ल्याइयो । यो इतिहासको अपव्याख्या हो । राजा वीरेन्द्रले विदेशीलाई नागरिकता दिन नमानेपछि के भयो, जगजाहेर छ । उनले नेपालको रक्षा र परराष्ट्र मामिला भारतलाई नदिने अडान लिएपछि २०४६ सालमा आन्दोलन गराइएको थियोे ।
राजा ज्ञानेन्द्रले बरु राजगद्दी त्यागेर बस्छु, रक्षा र परराष्ट्र विदेशीलाई दिन्न भनेपछि ‘गणतन्त्र’ ल्याइएको हो ।

धर्मनिरपेक्ष, संघीयता र गणतन्त्र हाम्रो नारा थिएन भन्ने नेता धेरै छन् तर विदेशीले दिने गरेको दाना रोकिने डरले मौन छन् । सत्य यही हो ।

(युवराज गौतमको फेसबुक वालबाट)