कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाइजहाज’

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाइजहाज’


झापाको बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाइजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाइजहाज’ बनाएका हुन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए । जहाज उडाएपछि अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए ।

बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाइजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको बाँस्कोटाको भनाइ छ ।

धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए ।

गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गरेका छन् ।

छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन् । बनाएका सामानले उनको घरका कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गर्ल्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् । गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ ।

‘सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो’, सबिनले भने, ‘सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्नेथिएँ ।’ एउटा हवाइजहाज बनाउन रु ६५ हजार खर्च भएको उनले जानकारी दिए ।

भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति-१ का वडाध्यक्ष अनिल वाग्लेको भनाइ छ । ‘एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदैहोइन, हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ । उहाँले हामी सबैका अगाडि हवाईजहाजलगायत उपकरणहरु प्रदर्शनी गरेर देखाउनुभयो’, उनले भने ।

सबिनकी आमा चेलीमायाका अनुसारगहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरिएको हो । विद्यालय जाँदा खाजा खान दिएको रु २० पनि बचत गरेर रु चार हजार बनाएको देखेपछि छोरोको चाहना पूरा गर्न आफूले गहना बेचेको उनको भनाइ छ ।

‘सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । नयाँ किनेर ल्याएका रेडियो, टर्चलाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए । असाध्यै चुलबुले र तेज दिमागवाला थियो, दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पार्थ्यो’, छोराको बाल्यकाल सम्झँदै आमा चेलीमाया भन्छिन्, ‘तर अहिले हवाइजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् ।’

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उनले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ । बिजुली साइकल बनाउन रु २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गर्ल्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुर्व्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ । डिभाइसका कारण दुर्व्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गर्ल्स सेफ्टी’ राखिएको रहेछ ।

‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन् । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । ‘आठ महिना लाग्यो । कैयौँपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो, सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुऱ्याउनुभयो ।’

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थालेका थिए । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया-ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आएका छन् ।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुऱ्याउन नसकेको वुबा कृष्ण बताउँछन् । घरमा इन्टरनेट जडान नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । ‘यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौँ भन्ने त मनमा हुँदैन नि’, मनको बह पोख्दै उनले भने, ‘घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छुइनँ ।’

  • रासस