बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने तामाङ पक्राउ

बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने तामाङ पक्राउ


ग्राहकको रोजाइ अनुसार बालिकाहरू उपलब्ध गराइ यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाइफकाइ होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिइ जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट-७ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

करिब १२ लाख मूल्य बराबरको गहना चोरी

कपिलवस्तुको बिजयनगर गाउँपालिका-७ लालपुर बस्ने ४९ वर्षीय राजबहादुर कुर्मी चौधरीको घरबाट झ्याल र ढोका खुला रहेको मौकामा सुन र चाँदीका विभिन्न गहना गरी १२ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।