बाँदरका कारण आलु, गहुँ र तरकारी रोप्न पाउँदैनन् पूर्वका किसान

बाँदरका कारण आलु, गहुँ र तरकारी रोप्न पाउँदैनन् पूर्वका किसान


बाँदरले नखाने खेतीमा सीमित हुन बाध्य

  • सुरेन्द्र सुवेदी, काठमाडौं

पूर्वका पहाडी क्षेत्रमा बाँदरले आतङ्क नै मच्चाइरहेका छन् । बाँदरकै कारण आलु, गहुँ र तरकारीजन्य बालीहरू लगाउन पाउँदैनन् किसान । हिउँदे धान भित्र्याइसकेका किसान खेत–बारीमा बाँदरले नखाने तोरी, प्याज र लसुनखेतीमात्र गरिरहेका छन् ।

पाँचथरको फिदिम-४ का कृृषक केशव खनाल, कमल खनाल र चीरञ्जीवी खनालसमेले तोरी छर्ने तयारी सुरु गरेका छन् । तोरी, मुला, प्याज र लसुन रोप्ने तयारीमा रहेको केशव खनालले बताए । उनले भने, ‘डेडु र बाँदरले आलु, गहुँ, मटर, चनाजस्ता बाली खाएर हैरान पारिरहेका छन्, विकल्पमा ढेडु र बाँदरले नखाने बाली लगाउन बाध्य भएका छौँ ।’

पहाडी जिल्लाका तल्लो क्षेत्रमा ढेडु र बाँदरको बाक्लो संख्या हुन्छ । खोलाको पानी पिइरहनु पर्ने उनीहरूको प्रवृत्तिले खोला किनार आसपासका खेत र बारीमा मकै, धान र धानको ब्याडसमेत खाने गर्नाले उनीहरू नउठी बिहान ५ बजेतिरै रुङ्न खेत पुग्नु परिरहेको फिदिम-४, शान्तिपुरका नवीन भट्टराईले घटना र विचारलाई बताए ।

बाँदरले बाली खाएर हैरान बनाउन थालेपछि स्थानीय तहले प्लास्टिकका बन्दुक अनुदानमा वितरण पनि गरेको छ । सामान्य भरुवा बन्दुकभन्दा २० गुणा ठूलो आवाज आउने त्यस्ता बन्दुक गाउँमा दर्जन बढीका संख्यामा राखिएको छ । कार्बन राखेर पानीले भिजेपछि बन्ने ग्यासबाट ती बन्दुक पड्काइन्छ । तर, गाउँ-गाउँ सबैतिर त्यस्ता बन्दुक भएपछि बाँदर भाग्ने स्थान नै हुन्न र फर्किएर आइहाल्छन् ।

यहाँसम्म कि धानको बीउ राखिएका ब्याडको धान पनि बाँदरले खाएर हैरान बनाइरहेको पाइन्छ । जब ब्याडमा धान उम्रिएर हरियो हुन्न, त्यो बेलासम्म बिहान ५ बजेदेखि रात परेपछिमात्र ब्याड रुँगेर घर फर्कने किसानको बाध्यता नै छ ।

धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, भोजुरका तल्लो क्षेत्रमा बर्सेनी बाँदरले आतंक मच्चाइरहेको पाइन्छ । कानुनतः मार्न नपाइने भएकोले समस्या ठूलो छ ।

पछिल्लो समय वनक्षेत्र बढेको छ । र, बाँदर तथा ढेडुको संख्या पनि वृद्धि भइरहेकोले उनीहरूले ब्यवस्थापन गर्न चुनौती देखिएको तेह्रथुमको इवाका गणेश प्रसाइँको भनाइ छ ।