तिलौराकोट साझेदारी वनक्षेत्रमा वनरक्षक र शिकारीहरूबीच गोली हानाहान

तिलौराकोट साझेदारी वनक्षेत्रमा वनरक्षक र शिकारीहरूबीच गोली हानाहान


  • विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको तिलौराकोट साझेदारी वनको क्षेत्रमा वनरक्षक र शिकारीहरूबीच गोली हानाहान भएको छ । सव वन डिभिजन कार्यालय गोरुसिङ्गेबाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउँसो पूर्व पश्चिम राजमार्गको उत्तरतर्फको बलुन्द्र खोलाकिनारमा झडप भएको हो ।

साझेदारी वनको बी वान सिक्स सी वान सव कम्पार्टमेन्टमा पुग्ने क्रममा गस्तीटोलीले बन्दुक पड्किएको आवाज सुनेको थियो । सोपश्चात वन गस्ति टोलीले गोरुसिङ्गेबाट थप टोली बोलाएर शिकारी समूहलाई घेरा हालेको थियो । सो क्रममा १२-१४ जनाको समूहमा ३-४ वटा बन्दुकसहित रहेका शिकारीटोलीले रेन्जर दिलिप यादव नेतृत्वको गस्ती टोलीलाई लक्षित गरी ६-७ राउण्ड हवाइ फायर गरेको थियो । त्यसपछि गस्तीटोलीले शिकारीहरूतर्फ ५ राउण्ड हवाइ फायर गरेपछि शिकारीहरू भागेका थिए ।

गस्तीटोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर ७ धैरेनीडाडा बस्ने वर्ष ३९ का जंगबहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका परियारबाट टोलीले भरुवा बन्दुकमा लाग्ने २ राउण्ड गोली बरामद गरेको छ । नियन्त्रणमा लिएका उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा बुझाइएको र उनीमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलेको सव वन डिभिजन कार्यालय गोरुसिङ्गेका वन अधिकृत बसन्त थापाले जानकारी दिए ।

पछिल्लो समय तिलौराकोट साझेदारी वनक्षेत्रमा वन संरक्षणसम्बन्धी कार्य अगाडि बढ्नुका साथै वन डढेलो घट्दा जैविक विविधता बढेको छ । जसका कारण वनको स्थितिमा सुधार आइ वन्यजन्तुको शिकारीको जोखिम पनि बढदै गएको छ । अहिले सो साझेदारी वनक्षेत्रमा हरिण, बँदेल, निलगाई, दुम्सी, मयुर र वनकुखुरा बढेका छन् । त्यसैगरी सो वनमा चितुवासमेत देखिने गरेको छ ।

वनमा जैविक विविधता बढेसँगै वन्यजन्तुको शिकारीको जोखिम बढेकाले गस्ती र निगरानी बढाइएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिए । पछिल्लो दुई वर्षमा वनक्षेत्रमा सो घटना पहिलो भएको र वन्यजन्तुको शिकार गर्नका लागि शिकारीहरू गएको हुन सक्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए । भरुवा बन्दुकको गोलीसहित फेला परेका व्यक्तिलाई हातहतियार खरखजाना मुद्दा चलेको जानकारी दिँदै सो समुहबारे आवश्यक अनुसन्धान अगाडि बढेको उनले स्पष्ट पारे ।