जिम्मेवार अधिकारीकै सहयोगमा मौलायो तस्करी !

जिम्मेवार अधिकारीकै सहयोगमा मौलायो तस्करी !


  • धर्मेन्द्र यादव, वीरगञ्ज

सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छवी दर्लामीको संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारी भुलेर दर्लामीले तस्करी गर्नेहरूसँग सेटिङ मिलाएको आरोप छ ।

सशस्त्र प्रहरीकै मिलोमतोमा नेपालबाट चाइनिज स्याउ, चाइनिज दशफिटे इन्चीटेप, कुखुराको दाना, चुरोट, युनीलिवर कम्पनीका सबै समान, फेयरएण्डलभ्ली, फेयरएण्डलभ्लीकोे पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, भारतमा प्रतिबन्धित प्लास्टिकजन्य समानलगायत करोडौँका सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ ।

यस्तै, भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस्, मोटरपार्टस्, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुँडा, खानेतेल, चिनीलगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरू मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौँ मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रँदा ठूलो रकम राजस्व छली हुने गरेको स्पष्टै छ ।

त्यस्तै, भारतमा सस्तो र नेपालमा महँगो भएका कारण सख्खर, धान र गहुँको तस्करी खुब बढेको छ । धान, गहुँ ओसारपसार गर्ने तस्करहरूसँग प्रतिट्रेक्टर ३ हजार र सख्खर ओसारपसार गर्ने तस्करहरूसँग प्रतिट्रेक्टर ७ हजारका दरले सशस्त्रका प्रहरी निरीक्षक दर्लामीले बुझेर लाइन दिएको एक तस्करले बताए । बुढगाईको नाका हुँदै रातिको समयमा धान, गहुँ र सख्खर लोड गरिएका ट्रेक्टर दैनिक नेपालतर्फ भित्र्याउने गरेको स्थानियहरूले बताएका छन् । तस्करहरूले सशस्त्र प्रहरीकै सेटिङमा रातको समय पारेर ट्याक्टरकै माध्यमले सख्खर, धान र गहुँको तस्करी गर्ने गरेका छन् भने दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याइ जम्मा गरेर ट्याक्टरमा लोड गरी वीरगञ्ज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।

यस्तै, भिस्वाबाट काठमाडौं जाने रात्रीबसमा अवैध रूपमा भित्र्याइएको भारतीय कपडा, पाउडर दुधलगायत विभिन्न समान बसमा हालेर काठमाडौं पठाउने गरेका छन् ।

उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीवितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिलप्याक मदिराको पनि तस्करी भइरहेको छ ।

विषाक्त भारतीय माछाको तस्करी :

बुढगाई नाकाबाट भारतीय माछा हप्तामा ५-६ ट्रिप पिकअपमा लोड गरी तस्करीको माध्यमले नेपालतर्फ भित्र्याउने गरेको पनि बुझिएको छ । भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभइ नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुऱ्याउँछ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।

‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने र यस्ता माछा रासायनिक तथा जैविक रूपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । तर स्वास्थ्यको लागि घातक भएपनि आफ्नो पकेट गरम गर्न सशस्त्र प्रहरी बलका जिम्मेवार अधिकारीले नेपाली जनताको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन् । बोर्डर नाकामा खटिएका सशस्त्र प्रहरीहरूले नै तस्कहरूको आर्थिक प्रलोभनमा परी राजश्व चुहावट गर्नेहरूसँग साँठगाँठ गरेर गलत धन्दालाई पश्रय दिनु कहाँसम्म क्षम्य होला ? सरोकारवाला निकायले ध्यान दिनु अपरिहार्य भएको छ ।