घाँसदाउरा लिन जङ्गल गएका सासूबुहारी मृत अवस्थामा

घाँसदाउरा लिन जङ्गल गएका सासूबुहारी मृत अवस्थामा


नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् । प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको जानकारी दिए ।

‘उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ, खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो’, प्रनाउ पौडेलको भनाइ छ ।

प्रहरीका अनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने बताइएको छ ।