‘पाँच लाख लाग्ने उपचार डेढ लाखमै हुने : गरिब, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गरिने’
वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’बाट सेवा सुरु गरिएको जानकारी दिए ।
अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकीरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रुपमा सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताउनुभयो ।
‘अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थित रुपमा चलाउन नसकेर एकजना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ’, उनले भने- ‘पछि हामीले उपकरणलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्यौँ भने १० मिनेटमा नै बिरामीलाई तयारी अवस्थामा राख्न सक्दछौँ ।’
क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ । ‘अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाइ-घुमाइ बिरामीमा भएको क्यान्सरको सेल र सामान्य सेललाई मार्ने गर्दछ बचाउने गरिन्छ, विकिरणले क्यान्सरको सेललाई हाइ डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ’, उनले भने ।
अस्पतालमा उपचारका लागि रु. एक लाख ५० हजार खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत रु. पाँच लाखसम्म खर्च हुने उनको भनाइ छ । नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन् । उनले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताउनुभयो । उनले गरिब, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताए ।
प्रतिक्रिया