आइतबार पन्ध्रलाख धरौटी बुझाएका शरणार्थी नेता रिजाल बुधबार रिहा

आइतबार पन्ध्रलाख धरौटी बुझाएका शरणार्थी नेता रिजाल बुधबार रिहा


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् । उक्त मुद्दामा सात महिना हिरासतमा बस्नुभएका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन् ।

भुटानी नेता रिजाललाई उच्च अदालत पाटनले गत मङ्सिर १५ मा १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा उनी सुन्धारा कारागारमै रहेका थिए ।

उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिएअनुसार रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा गत आइतबार बेलुकी धरौटी रकम बुझाएका उनी सोम र मंगलबार बिदा परेकोले बुधबारमात्रै रिहा भएका हुन् । अब यही पुस २० गते उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन् । यस्तै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् ।

उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमा नै छन् ।

file photo