खरिद गर्ने कि एमपिए (प्राइभेटतर्फ)को फिल्डवर्क रिपोर्ट !?

खरिद गर्ने कि एमपिए (प्राइभेटतर्फ)को फिल्डवर्क रिपोर्ट !?


त्रिविभित्र देख्न पाइन्छ ताजुबको दृश्य !

✍ पिंडाली प्रसाद, काठमाडौं

पुषको पहिलो हप्तासम्म तोकिएको जनप्रशासन केन्द्रिय विभागअन्तर्गत प्राइभेटतर्फको एमपिएको फिल्डवर्क रिपोर्ट बुझ्ने/बुझाउने क्रममा ताजुबको दृश्य देखियो । फिल्डवर्क रिपोर्ट बुझाउने मिति मङ्सिर १ देखि भनिए पनि बल्खुस्थित विभागको कार्यलयमा बुझिलिने गतिविधि थिएन । विभागीय प्रमुख यशोधा कुमारी काफ्ले, एक आचार्य थरकी शिक्षिका र शिक्षक केशवराज पाण्डेको सुपरीवेक्षण टोली बनाइएको जानकारीचाहिँ गराइएको हुन्छ ।

दृश्य-१

६० भन्दा बढी परीक्षार्थीको भीडभाड । साँघुरो कक्ष । परीक्षा व्यावस्थापनमा खटिएकाहरूबीच नै सञ्चार र समन्वयको अभाव ! यत्तिकैमा शौचालय जान हतारिएकी विभागीय प्रमुख यशोधा काफ्लेको प्रवेश । परीक्षार्थीको भीडभाडले प्रमुख काफ्लेलाई बाटो खाली गरिदिन्छ, तर भित्रैबाट लगाएको ढोका खुलाउन समय लाग्छ । शौचकार्यका लागि हतारिएकी प्रमुख काफ्ले जोडले ढोका ढक्ढक्याउँछिन् । परीक्षा लिन भित्र बसेका सुपरीक्षक बाहिर परीक्षार्थीको भीड अराजक बनेको निष्कर्ष निकाल्छन् । सुरक्षा व्यावस्थापनका लागि प्रहरी बोलाउँछन् ।

प्रहरी आइपुग्दा प्रमुख काफ्लेले वातावरण शान्त बनाइसकेकी हुन्छिन् । तथापि, खबर पाएकाले परीक्षास्थलमा दुई प्रहरी आइपुग्छन् ।

भीड नियन्त्रण गर्न आएका प्रहरी भीडमा उभिइरहेका एक परीक्षार्थीको अगाडि पुग्छन् । प्रहरी आङ तनक्क तन्काएर बुट बजार्छन् र, स्यालुट गर्छन् ।

‘सर पनि यहाँ ? के भएको हो र सर ?’- प्रहरी सोध्छन् । ती परीक्षार्थी ‘कुरो बुझाउने’ प्रयास गर्छन् । प्रहरी जवान अलिक पर पन्छिन्छन् ।

यो परीक्षामा प्रशस्तै मात्रामा सुरक्षा तथा निजामती क्षेत्रका अधिकृतहरू पनि सामेल थिए ।

दृश्य-२

दीपक शर्मा (नाम परिवर्तन) नेपालगञ्जका लागि प्लेन टिकट गरेर रिपोर्ट बुझाउन बसेका थिए । बाइण्डिङ गरेको फिल्डवर्क रिपोर्ट ४/४ पटक सच्याउँदा पनि ‘भएन’ भन्ने प्रतिक्रिया र ‘टोकन’ मात्र पाए ।

यसपछि उनी रिपोर्ट बुझाउने काम बाँकी छोडेर नेपालगञ्ज जाने सोचमा थिए । विभाग परिसरमै भेटिएका एक युवाले उनको ‘टोकन’ हेरेर कुराकानी गरेजस्तो गर्दै क्यान्टिनमा पु¥याए ।

दीपकको मनोदशा बुझेका ती युवाले ‘नआत्तिन’ भन्दै फर्म्याट मिलेको रिपोर्टमा दीपकको नाम र नम्बर राख्ने प्रस्ताव गरे– ‘आधा घण्टामा सब काम सकिएर तपाईं यहाँबाट निस्किनुहुन्छ !’

अस्वीकृत रिपोर्टको ६ वटा फाइल हातमै भएका दीपक अलमलमा परे । रिपोर्ट पास गराएर नेपालगञ्ज फर्किने झिनो आशामा सिधै सोधे- ‘कति खर्च गर्नु पर्छ र ?’

दीपकको आँखामा गहिरिएर हेरिरहेका ती युवाले भने, ‘पचास हो, तपाईंलाई मिलाएर ।’

‘ए हुँदैन हुँदैन…, म यै रिपोर्ट पास गराउँछु । मैले यो विषयमा धेरै काम गरिसकेको छु ।’

‘हुन्छ नि ! फर्म्याट मिलेको रिपोर्ट हेरेर मिलाउन सजिलो पनि हुन्छ । रिपोर्ट मगाउँ ?’, नरम स्वरमा युवाले भने ।

दीपक फेरि अलमलमा परे, ‘मसँग त्यति धेरै पैसा छैन !’

हजार रुपैयाँ दिए बनिबनाउ रिपोर्ट आउने बताउँदै ती युवाले आफूसँग भएको बनिबनाउ फर्म्याट मिलेको रिपोर्ट देखाए । अनि भने- ‘हजुरले केही गर्नु पर्दैन, यत्ति दुई वाक्यको उद्देश्य हेर्नुभए पुग्यो ।’

पाँच मिनेटभित्रै दीपकको नाम, सिम्बोल नम्बर र रिपोर्ट टाइटल मिलाइएको कभर पेज पनि बाइण्डिङ गरेरै आइपुग्यो । क्यण्टिनकै एउटा कुनामा मोलमोलाइ चल्यो ।

दृश्य-३

नयाँ टाइटल, नयाँ रिपोर्टको माथि देखिने गरी राखिएको पुरानो टोकन लिएर दीपक रिपोर्ट बुझाउने कोठाको ढोकामा उभिए । साथमा हातभरि रिपोर्ट लिएका पचासौँ जना परीक्षार्थी लाइनमै हुन्छन् ।

शिक्षक पाण्डे निस्किएर टोकन हेर्छन् । अनि दीपकलाई भित्र बोलाउँछन् ।

लगभग पाँच सेकेण्डजति रिपोर्ट हेरेर पाण्डे भन्छन्- ‘फर्म्याट मिलाएर ल्याउनुभएछ । ल अब अब्जेक्टिब्स् भन्नु त !’

दीपकले आधा वाक्य पनि बताउन भ्याएका हुँदैनन्, पाण्डेले उत्साहित आवाजमा भने ‘ल भयो.. बुझेको मान्छेसँग धेरै के सोध्नु पऱ्यो र…, ए ल उहाँको रसिद बनाइदिनु !’

दृश्य-४

खुइलिएको तालु र झ्याम्म दाह्री पालेका पाण्डेको दौडधुप देख्दा लाग्थ्यो उनी त्रिविभित्र एक्लै ठूलो सुधार ल्याउन लागिपरेका छन् । पालेको रूपमा ढोका लगाउन, सुरक्षाकर्मीको रूपमा परीक्षार्थीलाई गलहत्याउन आफै भ्याउँथे ।

यति मात्रै होइन, रिपोर्ट आफैले बनाएको भन्ने परीक्षार्थीलाई तेजोबध गर्न र वर्षभरि पढाउनुपर्ने ‘रिसर्च मेथोडोलोजी’सम्बन्धी ज्ञान २ मिनेटभित्र दिलाउन मरिहत्ते गर्थे ।

‘यति गरेन भने, भोलि विद्यार्थीले मेरो टाउको फुटाउँछन् !’

परीक्षार्थीहरू भन्छन्- ‘पाण्डेको बोली बनिबनाउ लाग्थ्यो ।’

‘हामीलाई हेप्ने । हेपेको मन पर्दैन !’ पाण्डे परीक्षार्थीसँग चिच्याइरहेका देखिन्थे । उनी केही आत्तिएको, एक्लिएको र कुनै परोक्ष दबाबमा परेजस्ता देखिन्थे ।

विभागीय प्रमुख योशोधा कुमारी काफ्ले र आचार्य थरकी शिक्षिका पाण्डेको रवैया थाहा पाएर पनि नपाएजस्तो, जानेर पनि नजानेजस्तो, बुझेर पनि नबुझेजस्तो भावमा देखिन्थे ।

‘परी’ हराएको परीक्षा (छ्या) !

गुपचुपरूपमा कीर्तिपुर र बल्खुका फोटोकपी पसलबाट रिपोर्ट र थेसिस किन्न त पाइन्थ्यो नै ! एकैपटकमा ग्यारेण्टी लिएका सूचना भने पहिलोपटक देखिएको हो ।

यसरी फेसबुकमार्फत विज्ञापन हुनु र, परीक्षामा फरक व्यवहार पाउनु ताजुबको विषय हो ! विसङ्गति हो ! बेथितिको चरम नमूना नै हो !

संयोग कि नियत… ?

एक महिनाअघि जारी गरिएको सूचनामा फर्म्याट पनि टाँसिएको छ, तर परीक्षाको मिति समाप्त हुँदासम्म पनि यसमा कहीँ कतै विभाग वा विभागीय प्रमुखको छाप वा हस्ताक्षार देखिँदैन ।

सूचनामा फिल्ड रिपोर्ट ‘एपिए फर्म्याट’मा तयार गर्न भनिएपनि एपिएको कुन संस्करण भनी खुलाइएको छैन । सातौँ संस्करण भएको एपिए फर्म्याटमध्ये जुन अपनाए पनि हुन्छ भनिएकाले पनि परीक्षार्थीहरू अलमलमा देखिन्थे ।

फर्म्याट आफैमा अपुरो/अधुरो त छँदैछ, साथै बहुअर्थी लाग्ने पनि देखिन्छ ।

एकातिर, पाण्डेको नाटकीय दौडधुप अनि अर्कोतिर, सुपरीवेक्षण समूहका दुई शिक्षिकाले बच्चा बोकेर आएका महिला परीक्षार्थीप्रति देखाएको असहयोग र निष्क्रियता पनि जानिनसक्नु थियो ।

परीक्षार्थीहरूको जिज्ञासामा प्रमुख काफ्ले बनिबनाउ उत्तर दोहोराइरहेकी हुन्थिन्- ‘कारखानाबाट ल्याइएका रिपोर्टलाई मान्यता दिइँदैन ।’

काफ्लेको अर्को जवाफ हुन्थ्यो- ‘फर्म्याट मिलाएर ल्याएको पास हुन्छ ।’

फिल्ड रिपोर्टको बजार मूल्य :

यसरी विज्ञापन गरेकाहरूले फिल्ड रिपोर्टको ३० देखि ५० हजार भनिए पनि बजारमा ३० हजारमा उपलब्ध हुने परीक्षार्थीहरू बताउँछन् । यसरी किनेर ल्याएको रिपोर्टलाई सुपरीक्षण समूहले ‘कारखानाको उत्पादन’ भनी सम्बोधन गरे पनि यस्ता रिपोर्टहरू बिनाझण्झट पास भएको पाइयो ।

हजारभन्दा बढी परीक्षार्थी सामेल यस कार्यक्रममा यस वर्षमात्रै १ सय ४० भन्दा बढी फिल्ड रिपोर्ट बुझाउने काममा सामेल भएका थिए । यसरी ५० प्रतिशतले ३० हजारका दरले मात्रै खरिद गरे पनि एकैवर्षमा कम्तिमा २१ लाखको कारोबार हुने देखिन्छ । तर विभागका अन्य शिक्षक तथा कर्मचारी यस्तो हुन नसक्ने बताउँछन् ।

यो पनि हेर्नुहोस्-

MPA (Private) Field Report 2080 – CDPA

https://cdpa.edu.np/mpa-private-field-report-2080/?fbclid=IwAR3mGH0tk0-W0l-tnmpylTmv6rnLlN_ntCtmr4B8p846tSCVCvu7Q00ugc4