बालकुमारी घटना : दुई जनाको मृत्यु, बन्यो छानबिन समिति

बालकुमारी घटना : दुई जनाको मृत्यु, बन्यो छानबिन समिति


ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न गृहमन्त्रलायले छानबिन समिति गठन गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूलाई रोक्नेक्रममा प्रहरी र प्रदर्शनकारीबीच नै भिडन्त भएको र भिडन्तमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । उनीहरुको उपचारका क्रममा निधन भएको हो । एक जनाको किष्ट अस्पताल र अर्कोको पाटन अस्पतालमा मृत्यु भएको हो ।

गृहमन्त्रालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक डीआईजी लालमणि आचार्यको नेतृत्वमा घटना छानबिन समिति गठन गरेको छ । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

साथै, इपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवम् मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख प्रकट गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस अवस्थामा संयमता अपनाई शान्ति कायम गर्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

ज्ञातव्य छ, रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडप भएको थियो ।