बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त


घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

नेकपा (एमाले)ले ललितपुरको बालकुमारी घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरिया भाषा परीक्षा इपिएसको विषयलाई लिएर बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको र केही घाइते भएका थिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ज्ञातव्य छ, बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भनेका छन्, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’ मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने उनले बताए ।

घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।

photo: rss