गायनमा अब्बल, प्रशासनमा कुशल दीपेन्द्रसँग कीर्तिमानका चाङ !

गायनमा अब्बल, प्रशासनमा कुशल दीपेन्द्रसँग कीर्तिमानका चाङ !


जसको क्षमताको सदुपयोग गर्न राज्य चुक्यो

तपाईं कल्पना गर्नुहुन्छ- हाम्रोजस्तो प्रतिभा नचिन्ने संस्कार भएको देशमा एक व्यक्तिले चार÷चारवटा कीर्तिमान बनाएको छ भनेर ? पत्याउन कठिन होला, किनकि ओझेलमै रहेका या पारिएका ती प्रतिभा कसैको नजरमा छैनन् र, चिनिन पनि चाहन्नन् । हो, आज हामी यिनै अग्रज र क्षमताका प्रतिमूर्तिको विषयमा केही शब्द खर्चने कोशिसमा छौँ ।

उनी हुन्- गायक, प्रशासकदेखि, अध्यापकसम्मको पहिचान बनाएका दीपेन्द्रविक्रम थापा ।

एसएलसीको बोर्डमा नाम निकाल्ने, सरकारले दिएको सेवा नलिने, बाहिरी क्षेत्रबाट सरकारको निजामति सेवामा पहिलो पटक प्रवेश गर्ने, नेपाल सरकारको सचिव भएर पाँच वर्ष सेवा गर्दा पनि पेन्सन नपाउनेदेखि लगातार तीन पटक उत्कृष्ट गायकको उपाधि पाएको जस्ता रेकर्ड बनाएका उनै अब्बल गायक थापाको विषयमा यहाँ केही पङ्क्ति कोरिँदै छ ।

२०१६ सालमा राजधानीको कालिमाटीमा जन्मिएका दीपेन्द्र इतिहासका चर्चित पात्र भीमसेन थापाका सन्तति हुन् । वेदविक्रम र विष्णुकुमारीका तीनमध्ये कान्छा सुपुत्र उनी २०३२ सालको एसएलसीमा ‘बोर्ड-१०’मा परेका थिए । अमृत साइन्स, त्रिचन्द्र, त्रिभूवन विश्वविद्यालयहुँदै स्नातकोत्तर गरेका उनले जनप्रशासन क्याम्पसबाट एमपीए पूरा गरे । बेलायतबाट उच्च स्नातकोत्तर गर्न पनि भ्याए । हालसम्म निरन्तर अध्यापनमा सक्रिय उनी दैनिक बिहान ४ घण्टा र साँझ २ देखि ३ घण्टा सङ्गीत/गायनको रियाज गर्छन् । अर्थात्, उनमा गायनप्रतिको मोह उसबेलादेखि आजसम्म पनि उत्तिकै कायम छ ।

२०३४ सालमा १८ वर्षको उमेर, दीपेन्द्रविक्रम थापा बीएससी अध्ययन गर्दै थिए, त्यसबेलै उनले रेडियो नेपालबाट स्वरपरीक्षा पास गरे । त्यो बेला स्वरपरीक्षा पास गर्नु भनेको चान्चुने कुरा ठानिँदैनथ्यो । रेडियो नेपालबाट स्वरपरीक्षा पास गरेका गायक-गायिकाको ‘हाइहाइ’ नै हुन्थ्यो । २०३५ सालमा आफ्नो नाम अलिक लामो भएजस्तो लागेर बीचको विक्रम हटाइ उनले दीपेन्द्र थापाका नामबाट कालजयी गीत गाए- ‘धेरै धेरै प्रयास गरेँ, धेरै धेरै चेष्टा गरेँ, न तिमीले आफूलाई सम्हाल्न सक्यौ, न मैले आफूलाई सम्हाल्न सकेँ…!’ चर्चित गीतकार राजेन्द्र रिजालको रचना र लोकप्रिय सङ्गीतकार शम्भुजीत बाँस्कोटाको संगीतमा उनले गाएको उक्त गीतले त्यसबेला अध्यधिक चर्चा पायो, हरेक सङ्गीतप्रेमीको मुखमा झुण्डिएको थियो त्यो गीत, जसलाई अझैपनि कैयनले भुलेका छैनन् ।

‘तिम्रा मीठा कुराहरू बैशाखी दिनहरू झैँ लाग्यो’ र राजकुमार थापाको शब्द अनि प्रकाश गुरुङको संगीतमा दीपेन्द्रले गाएको यो गीतले पनि राम्रै चर्चा बटुल्यो । वर्तमान देशको अवस्थासुहाउँदो ‘देश कसैको भएपनि सजायँ किन मलाई…’ बोलको रजनी रिमालको गीतमा शम्भुजीतले नै संगीत दिएको गायक दीपेन्द्र थापाको यस गीतले राष्ट्रियताको सन्दर्भमा माहोल नै बदलिदियो । तीन वर्ष शास्त्रिय संगीत सिकेर गायनमा आएका उनले गाएको ‘हरे ल म आएँ कहाँबाट आज, म सम्झन्न प्रभु केही राख लाज’ बोलको भक्ति-सङ्गीत अति नै चर्चित तथा लोकप्रिय भजन हो । भारती खरेलको शब्द रहेको यस भजनमा शंभुजीतले नै संगीत भरेका हुन् ।

२०३९ देखि २०४४ सालसम्मको अवधिबीच रेडियो नेपालले आयोजना गर्ने प्रतियोगितामा उनी तीन वर्ष निरन्तर पुरस्कृत भइरहे । २०३९ मा ‘नेपालको अस्तित्वलाई जोगाउन हामी विभाजित छैनौंँ… बोलको गीत प्रतियोगितामा दोश्रो भए । त्यसपछि ‘यहाँ पीरैपीरको उपहार लिएर…’ बोलको गीत दोश्रो भयो र, तेश्रो भयो- ‘आजभोलि किन तिम्रो याद आउन थाल्यो…!’

तर प्रतिभाको उचित सम्मान तथा कदर नहुने अनि आयआर्जनको सवालमा पनि सङ्गीत क्षेत्रबाट केही हात नलाग्ने त्यसबेलाको परिवेशका कारण २०४५ सालताका उनी ‘गीत गाएर नहुने रहेछ’ भन्ने निष्कर्शमा पुगे, अनि पढाइमा अब्बल भएकाले सरकारी सेवातर्फ आकर्षित भए । पहिलो पटक नै उनी नेपाल प्रशासनिक प्रक्षिण प्रतिष्ठानको तालिम तथा अनुसन्धान अधिकृतमा उत्तीर्ण भए । त्यहाँ सक्रिय रहेको समयमा उनको सङ्गीत-यात्रामा भने केही बिराम नै लागेजस्तो भयो । हुन त सौखिन गायक रहेका दीपेन्द्रले फाट्टफुट्ट गीत नगाएका होइनन्, तर उनले त्यो बेला सार्वजनिक चर्चामा रहन पनि खासै चाहेनन् । बेलायतमा पढ्ने अवसर मिल्यो, उता हानिए । एक वर्ष बेलायत बसेर उच्च स्नातकोत्तर गरेर फर्किए । त्यसपछि सरकारी सेवामा उनको बढुवा पनि भयो । उनी उपनिर्देशक तहमा पुगे । बढुवा भएपछि बाहिरी क्षेत्रबाट सहसचिवमा खुला प्रतिस्पर्धा गरे । २०५४ मा निजामति सेवाभन्दा बाहिरको क्षेत्रबाट सहसचिवमा नाम निकाल्ने पहिलो व्यक्ति बने दीपेन्द्र थापा ।

२०६२ मा उनलाई नेपाल सरकारले सचिवमा बढुवा गऱ्यो । सचिव भएर उनी श्रम तथा यातायात, मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, सामान्य प्रशासन र शिक्षा सचिव रहेर पाँच वर्ष बिताए । निजामति सेवाको उपल्लो पद सचिवसम्म भएर पनि जम्मा १३ वर्ष २ महिनामात्र काम गरेर अवकास पाउने उनी अहिलेसम्मकै एक्ला सचिव हुन्, जसकारण उनले पेन्सन पनि पाएनन् । यस्तोमा पाउने भनेको उपदान हो, तर त्यो पनि लिएनन् उनले । त्यो उपदानको रकम नेपाल सरकारकै खातामा गयो । यो अर्काे रेकर्ड पनि नेपाल सरकारसित छैन ।

सचिवसम्म भइ ५० वर्षकै उमेरमा निजामति सेवाबाट अवकास पाउने उनीभन्दा अर्काे मानिस सायद भेटिन्न । अर्थात्, ५० वर्षको उमेर अनि क्षमता भएको व्यक्तिलाई सरकारले नचिनेर अवकास दियो । अहिले देश जसरी अधोगतिमा गएको छ, दीपेन्द्र थापाजस्ता बहुप्रतिभाशाली र क्षमतावान् व्यक्तिलाई सरकारले नचिन्नु पनि एक कारण हो भन्न सकिन्छ । उनी एक प्रतिनिधिपात्र हुन्, यस्ता धेरै सक्षम र प्रतिभावान् व्यक्तिले सरकारबाट उपेक्षा ब्यहोर्नुपरेको छ ।

यद्यपि, दीपेन्द्र थापा भने आफ्नो दैनिकीमा मस्त छन् । लोकप्रिय एवम् वरिष्ठ गायक गायक प्रदीपराज पाण्डेको यो भनाइ यहाँ उद्धृत गर्नु सान्दर्भिक हुनेछ- ‘सरकारले चाहेको भए यस्ता व्यक्तिलाई प्रशासनदेखि बेथिति सुधारका काममा अझै परिचालन गर्नु पर्थ्यो !’

दैनिक अध्यापनमा सक्रिय दीपेन्द्र थापा पुनः गायनमै सक्रिय छन् । ८ वटा आधुनिक गीत, ६ वटा भजन र नेवारी भाषामा पनि ७ वटा भजन रेकर्डिङको क्रममा रहेको जानकारी दिन्छन् उनी ।

नेपालको इतिहास रच्ने भीमसेन थापाका कान्छा भाइतर्फका सन्तति रणवीरसिंह थापा, जो हाल स्वामी अभयानन्द नामले चिनिन्छन्, उनको रचनाका सात वटा नेवारी भजन दीपेन्द्रले रेकर्ड गरिरहेका छन् । ज्ञातव्य छ, दीपेन्द्रवीक्रम थापा नेपालका पहिलो प्रधानमन्त्री माथवरसिंह थापाका सातौँ पुस्ताका सन्तति हुन् ।

  • प्रस्तुति : सुरेन्द्र सुवेदी