चुनौतीसँगै पर्यटनको यात्रा

चुनौतीसँगै पर्यटनको यात्रा


मुख्य श्रोतराष्ट्रहरूले अत्यन्त आवश्यकबाहेक नेपालको यात्रा नगर्नु भन्ने यात्रा-निर्देशिका गरेको अवस्थामा समेत पर्यटकहरू नेपाल आएका र, उनीहरूको अनुभव राम्रै भएको तथ्य हामीमाझ छ । नेपालको भूअवस्था विशिष्ट भएको र यहाँको अनुभव अलौकिक भएका कारण नै विषम परिस्थितिमा समेत विदेशी पर्यटक आएका थिए, जबकि उनीहरूका राष्ट्रबाट जारी यात्रा-निर्देशिकामा ‘नजानु’ समेत भनिएको थियो ।
✍ सुधन सुवेदी

सबैभन्दा पहिले असर गर्ने अनि ढिलोसम्म असरबाट मुक्त नहुने क्षेत्र पर्यटन हो । कोभिडबाट केही राहत मिलेको भएपनि युद्ध लगायतका समस्याबाट गुज्रिरहेको हालको समयले पनि यही कुरालाई अझ बलियो बनाएको छ । भुइँचालोले रन्थनाएको यो क्षेत्रलाई कोभिडको महामारीले थचक्कै बसाएको थियो । आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर सोच्ने र यही गाह्रो समयले सिकाएको पाठमा आधारित हुँदै ब्यवसायको स्थायित्व हाशील गर्नुपर्ने चुनौती पनि सामुन्ने तेर्सिएको छ ।

नेपाली पर्यटनको आधारका रूपमा रहेका पदयात्रा मूलतः समूहमा नगरिने, आत्मसन्तुष्टि प्राप्तिका लागि गरिने भएका हुँदा ती आफैमा ‘आइसोलेटेड’ छन् । नेपालमा पर्यटकले गर्न रुचाउने क्रियाकलाप पदयात्रासमेत भएकाले हाल नेपाल सरकारका साथै विश्व स्वास्थ्य संगठनले जारी गरेको कार्यविधिअनुरुप शत् प्रतिशत हालकै स्थितिमा गर्न सकिने हुँदा पर्यटकीय गतिविधि सुचारु गर्नका लागि पहिलो रोजाइका रूपमा रहेका छन् ।

संख्यात्मकबाट गुणात्मकतामा जोड :

समयले दिएको सन्देश नै यही हो । आगामी दिनमा भ्रमण वर्ष जस्तो कार्यक्रम नगरी विशेष समूहलाई लक्षित कार्यक्रमहरू गर्न आवश्यक छ । उदाहरणका लागि साहसिक पर्यटनमा मात्र केन्द्रित कार्यक्रम, नेपालमा विदेशी फिल्म छायाङ्कन गर्ने अभियान, अन्तर्राष्ट्रिय संगीत उत्सव, जलयात्रा प्रतियोगिता आदि । यी अभियानहरू भ्रमण वर्षजस्तो प्रचारात्मक र ठूलो नभइ जुन समूह वा क्षेत्र लक्षित छन् त्यहीँ जोड दिने हुँदा यस्ता कार्यक्रमहरू प्रभावकारी हुन जान्छ ।

बक्सबाहिरको सोच :

आजका मितिमा नेपाली खानालाई सन्तोष साहले संयुक्त अधिराज्य र सम्पूर्ण विश्वमै परिचित बनाएका छन् । खाना देश चिनाउने मुख्य कडी भएको तथ्य पनि यसैसँग अझ ब्यापक भएको छ । समय र संसारले पछ्याएको लयलाई बेलैमा चिनेर सोअनुसार देशलाई चिनाउनु नै पर्यटन प्रवर्द्धन हो । सगरमाथा र बुद्ध भनेर नथाक्ने अनि ठाउँ चिनाउन भ्युटावर ठड्याउने सोचबाट बाहिर आइ खाना, संगीत र दैनिक जीवनका यावत पक्षलाई विश्वमाझ पस्किनसके देश त चिनिन्छ नै, पर्यटनमा हामीले सोचेको फड्को हाशील हुनेछ ।

प्रवर्द्धन र सेवा सँगसँगै :

पर्यटन प्रवर्द्धनले आशातीत सफलता तबमात्र पाउनेछ जब पर्यटकका अनुभव सुखद् हुन्छ । नेपालमा तीन तहका निकाय यसमा सक्रिय छन् । सरकारी निकाय जसले नीति निर्माण गर्छन्, सेवा अनुगमन गर्छन्, अनुमति प्रदान गर्ने, दर्ता गर्ने वा खारेज गर्ने । सेवा प्रदान गर्ने नीजि क्षेत्र मूलतः पर्यटकसँग रहेर उनीहरूले चाहेको सेवा प्रदान गर्छन् । अनि बीचमा राष्ट्रिय पर्यटन संस्थाका रूपमा रहेको नेपाल पर्यटन बोर्ड जस्तो संस्था जसले देशको पर्यटन प्रवर्द्धन गर्छ, निजी क्षेत्रको गाह्रोसाह्रो नीतिनिर्मातालाई भन्छ, सरकारबाट जारी नियममा रहेर काम गर्न निजी क्षेत्रलाई मद्दत गर्छ ।

यो तीनै तहको सहकार्यबाट मात्रै सेवामा गुणस्तर सम्भव छ । पर्यटन सेवामुखी उद्योग भएका कारण राम्रो सेवाले नै प्रवर्द्धन हुने बुझाइ सबै तहमा हुन आवश्यक छ । सञ्जालमा भाइरल हुनु र पर्यटनको लाभ पुग्नु फरक हुन् ।

युएसपीमा जोड :

हालको असामान्य स्थितिमा पर्यटन क्षेत्रलाई परेको अप्ठेरोबाट उकासिने, पुनःस्थापित हुने प्रयत्न भइराख्दा विगतका अनुभव केलाउन जरुरी छ । विगतमा देशले सामना गरेको बन्द, हड्ताल, निषेधआज्ञा, सङ्कटकालका स्थितिमा अत्यन्त आवश्यकबाहेक नेपालको यात्रा नगर्नु भन्ने यात्रा-निर्देशिका मुख्य श्रोतराष्ट्रहरूले गरेको अवस्थामा समेत पर्यटकहरू नेपाल आएका र, उनीहरूको अनुभव राम्रै भएको तथ्य हामीमाझ छ । नेपालको भूअवस्था विशिष्ट किसिमको भएको र यहाँको अनुभव अलौकिक भएका कारण नै विषम परिस्थितिमा समेत विदेशी पर्यटक आएका थिए, जबकि उनीहरूका राष्ट्रबाट जारी यात्रा-निर्देशिकामा ‘नजानु’ समेत भनिएको थियो । हो, अब हामीले हाम्रा सबल नेपाल पक्षमा जोड दिइ बजारीकरण गर्नुपर्छ । यी पक्षलाई नवीन सोचले डोऱ्याउनु छ जसले पर्यटनको पहुँच ब्यापक बनाओस् । के देखाउने भन्दापनि कसरी भन्ने कुरोमा बढी जोड दिन आवश्यक छ ।

[email protected]