बालकुमारी घटनाको मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति

बालकुमारी घटनाको मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति


सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको मन्त्री शर्माको भनाइ छ ।

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको छ ।