राजा ज्ञानेन्द्रबाट कपिलबस्तुमा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण

राजा ज्ञानेन्द्रबाट कपिलबस्तुमा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण


  • कृष्णप्रसाद पौडेल, कपिलवस्तु

दिवंगत राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पारेर राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गर्नुभएको छ ।

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहनुभएका उहाँले शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर शिलान्यास गर्नुभएको हो । पूर्व श्री ५ ले त्यहीँ झन्डोत्तोलन समेत गर्नुभएको थियो ।

केही दिनदेखि भैरहवामा रहनुभएका राजाले आफ्ना नाति हृदयन्द्रलाईसमेत सँगै ल्याउनुभएको थियो । भैरहवादेखि बहादुरगञ्जसम्मको हुलाकी बाटो हुँदै उहाँ दिउँसो ३ बजेतिर खैरेन्द्रपुर पुग्नुभएको थियो । खरैन्द्रपुरस्थित बालहंश साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठपछि उहाँले शालिक अनावरण गर्नुभएको हो । पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । पूर्व श्री ५ ले नागरिक अभिनन्दन समेत ग्रहण गर्नुभएको थियो ।

राजा ज्ञानेन्द्र र हृदयन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो । नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमालेका तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन् । राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो ।

कार्यक्रममा राजसंस्थाको पक्षमा नाराबाजी समेत गरिएको थियो । मेयर थापाले दिवंगत राजा वीरेन्द्रको जन्मजयन्तिको अवसरमा राजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास गरिएको उल्लेख गर्दै यो आफैमा ऐतिहासिक क्षण रहेको प्रतिक्रिया दिए । बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ थियो ।