जिएमपी प्रतिष्ठानको साधारणसभा सम्पन्न

जिएमपी प्रतिष्ठानको साधारणसभा सम्पन्न


जिएमपी तिमल्सिना प्रतिष्ठानको पन्ध्रौँ साधारणसभा गत साता सम्पन्न भएको छ । काठमाडौंको मैतिदेवी शास्त्रीमार्गस्थित प्रतिष्ठानको आफ्नै भवनमा आयोजित सो सभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमल्सिनाले गर्नुभएको थियो ।

संस्थाले वर्षेनी एक जना उत्कृष्ट स्रष्टालाई सम्मान गर्दै आएको छ । सो क्रममा यसपटक नेपाली भाषा-साहित्यको क्षेत्रमा अथक योगदान पुऱ्याउनुहुने लेखक/साहित्यकार श्रीमती रमा शर्मालाई प्रतिष्ठानले भव्य समारोहबीच सम्मान प्रदान गरेको छ ।

सभामा संस्थाका उपाध्यक्ष सुशीलविक्रम थापाले स्वागत मन्तव्य र महासचिव डा. मिलनदेव भट्टराईले गत आ.व. ०७९/०८० मा संस्थाबाट भए/गरेका कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरी कोषाध्यक्ष प्रा.डा. श्रीमती गजब शर्मा तिमल्सिनाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले गत आ.व.मा सम्मान कार्यक्रम, सत्यसाई केन्द्र पूर्व बत्तिसपुतलीबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनलाई गत वर्षझैँ थप सहयोग, जेष्ठनागरिक सहयोग ट्रष्ट फण्डबाट सञ्चालित कार्यक्रमलाई सहयोग, विभिन्न सामुदायिक विद्यालयमा खेलकुद र संगीतका सामग्री वितरण, रक्तदान कार्यक्रम, युवाका लागि इन्टर्न सेवा कार्यक्रम, रोटरी क्लब डिल्लीबजर र पद्मकन्या मा.वि. जस्ता संस्थाहरूसँग सहकार्य एवम् जेष्ठनागरिक सेवा तथा युवा क्षमता विकास केन्द्रको स्थापना आदि कार्य गरेको थियो ।

संस्थाले आगामी आ.व.का लागि पनि यी र यस्तै कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको पनि जनाएको छ ।

सो प्रतिष्ठानमा जम्म २९ जना सक्रिय सदस्य रहेका र सोही समूहबाट आगामी वर्षका लागि पनि यसअघिकै कार्यसमितिलाई निरन्तरता दिने सर्वसम्मतिबाट निर्णय भएको जनाइएको छ । जसअनुसार अध्यक्षमा प्रा.डा. पार्थिवेश्वर तिमल्सिना, उपाध्यक्षमा सुशीलविक्रम थापा, महासचिवमा डा. मिलनदेव भट्टराई, कोषाध्यक्षमा प्रा.डा. गजब शर्मा तिमल्सिना र सदस्यहरूमा शंकरकुमार श्रेष्ठ, एन्जिला थापा, इन्दिरा पराजुली तथा कार्यक्रम निर्देशकमा लक्ष्मीप्रसाद खनाल रहनुभएको छ ।