सोमबार ११औँ नेपाली टोपी दिवस मनाइँदै

सोमबार ११औँ नेपाली टोपी दिवस मनाइँदै


‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने मूल नाराका साथ सोमबार (पुस १६) ११औँ नेपाली टोपी दिवस मनाइने भएको छ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आएको छ।

विगत वर्षझैँ यस पटक पनि पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि बसन्तपुरमा भेला भएर कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ ।

यस वर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ ।

वसन्तपुरमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन नसकेपनि नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरुमा राखेर विश्वभर प्रवर्द्धन गर्नका लागि सम्पूर्णमा संस्थाले अनुरोध गरेको छ ।

जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शोभराज बराल, निरोज थापा र राजेश खत्री रहेका छन् ।