मुख्यमन्त्रीलाई प्रशन्न भावमा मुसहर महिलाको प्रश्न- ‘हाम्रो ऋणको ब्याज मिनाहा भएकै हो त !?’

मुख्यमन्त्रीलाई प्रशन्न भावमा मुसहर महिलाको प्रश्न- ‘हाम्रो ऋणको ब्याज मिनाहा भएकै हो त !?’


‘मुख्यमन्त्रीज्यु, के हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?’- दानीदेवी ऋषिदेव (मुसहर) ले प्रश्न गरिन् ।

दानीदेवीको जिज्ञासा पूरा हुन नपाउँदै उनकी छिमेकी रेखा ऋषिदेवले जिज्ञासा राखिन्, ‘अनि यो ब्याज मिनाहा गराउन प्रदेश सरकारले के-के व्यवस्था गरिदिएको छ त ?’

दानीदेवी र रेखा जस्ता धेरै महिलाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसमक्ष सरकारले घोषणा गरेको ब्याज मिनाहा कार्यक्रमबारे जिज्ञासा राखेका हुन् । मुख्यमन्त्री कार्कीले जवाफ दिन खोज्दै थिए, बीचैमा स्थानीय चोमनीदेवी ऋषिदेवले फेरि अर्को प्रश्न गर्दै भनिन्, ‘अब यो काम के कसरी अघि बढ्दैछ त, मुख्यमन्त्रीज्यु ?’

आइतबार विराटनगर महागनरपालिका वडा नं १२ को सम्पन्न बस्ती पुगेका मुख्यमन्त्री केदार कार्कीलाई सिमान्तकृत ऋषिदेव समुदायले ब्याज मिनाहाबारे जिज्ञासा राखेका हुन् । उनीहरुले खुलेरै आफ्नो समुदायले भोग्नु परेको आर्थिक तथा समाजिक समस्या पनि बताए ।

‘हो, तपाईंहरूले जमिन खरिद गर्दा लिएको सबै ऋणको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिएको छ, त्यो ब्याजवापतको रकम सरकारले नै तिरिदिने हो अब ढुक्क हुनुहोस्’, कार्कीले ढाडस दिँदै भने- ‘बजेटमा घर बनाउन जग्गा नहुनेले खरिद गर्दा ऋणको ब्याज मिनाहा गरिदिने व्यवस्था गरिदिएका छौँ ।’

मुख्यमन्त्री कार्कीले अब किस्ता बुझाउँदा ब्याज तिर्नुनपर्ने गरीको सरकारले तयारी गरेको स्थानीयलाई जानकारी गराए ।

यो जवाफ सुनेर बस्तीका महिलाले मुख्यमन्त्री र प्रदेश सरकारको सम्मानमा ताली बजाए । जग्गा खरिद गर्न लिएको ऋणको ब्याज सरकारले तिरिदिने खबर सुनेपछि ऋषिदेव समुदायका महिला खुसी देखिए । चोमनीले भनिन्, ‘हाम्रो घर बनाउन पहिले पनि प्रदेश सरकारले सहयोग गरेको थियो । अब ब्याज तिर्नु नपरे हामी सजिलैसँग साँवा बुझाउन सक्छौं ।’

विराटनगर महानगरपालिका वडा नं १२ मा प्रदेश सरकार, जीवन विकास समाज, विराटनगर महानगपालिका, ह्याविटेट नेपाललगायत संस्थाको सहयोगमा एकीकृत बस्ती निर्माणको काम शुरु भएको थियो । त्यहाँ १४६ घरमध्ये धेरै सम्पन्न भइ ऋषिदेव समुदाय घरमा बस्न थालिसकेका छन् । कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री भएका बेला बस्ती निर्माणको पहल शुरु भएको थियो । बस्ती ३ बिघा १६ कट्ठा ५ धुरमा फैलिएको छ ।

प्रतिपरिवार १० धुर जग्गा, भान्सा, ट्वाइलेट, बाथरुमसहित तीन कोठे घर बनेको बताउँदै उपभोक्ता समितिकी पूर्वसचिव श्रद्धा ऋषिदेवले भनिन्, ‘घडेरी किन्न जीवन विकास लघुवित्तले सहयोग गरेको थियो । हामीले दुई लाख ७० हजार रुपैयाँको किस्ता महिनाबारी रुपमा बुझाउने गरेका थियौं, त्यसमा ब्याज पनि जोडिने गरेको थियो, अब ब्याज तिर्न नपर्दा धेरै राहत हुने भयो, धन्यवाद छ प्रदेश सरकारलाई ।’

बस्ती निर्माणका क्रममा सरकारी तथा गैरसरकारी निकायले समेत सहयोग गरेका थिए । तर, जग्गा भने समुदाय मिलेर खरिद गरेका थिए । यो उनीहरुकै स्वामित्वमा रहने जग्गाको किस्ता उनीहरुले बैंकलाई ब्याजसहित मासिक ७ हजार रुपैयाँ नियमित बुझाउने गरेको श्रद्धाले सुनाइन् ।

ऋषिदेवले भनिन्, ‘हामीले जग्गा आफैं खरिद गरेका हौं । यसरी घरबारविहीन भएकाले खरिद गरेको जग्गाको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिने भएपछि बस्तीका सबै मानिस खुसी छन् ।’