नेपाली युवतीको दिल्लीमा ‘अनलाइन होमडेलीभरी’

नेपाली युवतीको दिल्लीमा ‘अनलाइन होमडेलीभरी’


धन्दामा संलग्न दम्पति समातिए !

  • सुरेन्द्र सुवेदी, काठमाडौं

आफू भारतमा बसेर नेपाली युवतीहरूलाई यौनधन्दामा लगाउने र अनलाइनमार्फत ‘होम डेलिभरी’ दिने गरेको खुल्न आएको छ । यसअघि यस्तो तरिकाबाट वेस्यावृत्तिमा लगाउनेगरेको खासै सुनिएको थिएन ।

अनलाइनमार्फत विज्ञापन गर्दै आकर्षक तलब दिने प्रलोभनमा पारेर स्याङजाको पेलाकोट-९ (हालको गल्याङ नपा-७) स्थायी घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र बाँकेकोे कोहलपुर नपा-८ माइती भएकी भण्डारीकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी र रिया भन्ने टीकाकुमारी वलीले यस्तो धन्दा गर्दै आएका थिए ।

उनीहरूको टिमले भारतको दिल्लीमा रहेका होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ पनि राम्रो हुने लोभमा पारेर दिल्ली लाँदै बेस्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखेर यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीको मानवबेचबिखन ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए । उनका अनुसार राजधानीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर जिल्लाको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

भण्डारी दम्पतिले दिल्लीको किसनगढस्थित अपार्टमेन्ट भाडामा लिएर खाने, बस्ने व्यवस्थासमेत मिलाउँदै अनलाइन प्रस्टिच्युसनको ऱ्याकेट चलाउने गरेका थिए । ह्वाटस् एपबाट अनलाइन भुक्तानी गरिसकेपछि ती युवतीहरूलाई ग्राहकले भनेको स्थानमा पठाउने गरेको खुलेको हो । यसअघि नेपाली युवती प्रयोग गरेर यस्तो प्रकारको धन्दा भएको पाइएको थिएन । यौनधन्दा चलाउनकै लागि भाडामा लिएको अपार्टमेन्टमा सिसी क्यामरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिमसमेत उपलब्ध गराएर ह्वाट्सएप, फेसबुक आईडी बनाइ पासवर्ड आफैले राखेर अनलाइन निगरानी गर्ने गरेको पाइयो’– ब्युरोका प्रवक्ता पँगेनीले घटना र विचारसँग भने ।

भण्डारी दम्पतिले बेश्यावृत्ति गराएर कमाइ भएको रकमको २० प्रतिशत ती युवतीलाई दिने र बाँकी ८० प्रतिशत आफैँ लिने गरेका थिए । यसरी बेश्यावृत्तिमा संलग्न गराइएका युवतीमध्ये ब्युरोले यसअघि ९ जनाको उद्धार गरिसकेकोे छ ।

गत वर्ष चैत्रमा निज दम्पत्तीसमेतको विरुद्धमा ६ वटा मुद्दा दर्ता भएकोमा ती मुद्दामा संलग्न तीन जना कारागारमा छन् । प्रहरीले अनुसन्धान गरिरहेको समयमा भण्डारी दम्पतिले दिल्लीमा स्थान परीवर्तन गरी पुनः नेपालबाट युवतीहरू लान थालेको खुल्नमा आएको छ । यस्तो धन्दामा संलग्न गराइएका पीडित युवती पाँच जनालाई ब्युरोले दिल्ली दूतावास र भारतीय प्रहरीको सहयोमा बेस्यावृत्तिबाट छुटाएर नेपाल ल्याइ सुरक्षित आवासमा राखेको छ ।