धिक्कार छ हामी नेपालीलाई… !

धिक्कार छ हामी नेपालीलाई… !


दश हजार मेगावाट बिजुली बिक्री गर्दा नेपाललाई कति फाइदा हुन्छ ?

✍ डा अम्बरिश पोख्रेल

दश हजार मेगावाट बिजुली निर्यात गर्दा आउने नौ खर्ब रुपैयाँमध्ये एक रुपैयाँ पनि नेपालको हकमा आम्दानी देखिँदैन । त्यसोभए, नेपालले आम्दानी कुन बिन्दुमा गर्छ होला ? २५-३० वर्षपछि बल्ल आम्दानी सुरु हुने हो र ? यसलाई बुझ्न निम्न कुरा हेर्नुपर्ने हुन्छ-

१. दश हजार मेगावाट बिजुली उत्पादन गर्नको निम्ति भारत सरकार वा भारतीय कम्पनी वा भारतीय कम्पनीमार्फत कोही अन्य कम्पनी आउँछ नेपालमा ।

२. उत्पादन गर्न/गराउन चाहिने जनशक्ति पनि भारतीय र अन्य विदेशीहरू नै आउँछन् ।

३. लगानी उसको, जनशक्ति उसको, सामान उसको भएपछि उत्पादनमूल्य पनि उसैले (इन्डियन कम्पनी) तोक्छ, तोक्ने नै भयो । यसरी नै तोकिन्छ ।

४. बिजुली उत्पादन कम्पनी कहाँको हुन्छन् ? इण्डियाको ।

त्यो दश हजार मेगावाट बिजुली निर्यात गर्ने देश वा क्षेत्र कहाँ छ ? इण्डिया नै हो ।

बिजुली किन्ने देश कुन हो ? इण्डिया नै हो ।

५. अब भन्नुस्, के इण्डियाले नेपाल सरकारलाई वा नेपाल विद्युत् प्राधिकरणलाई पैसा भुक्तान गर्छ, त्यो दश हजार मेगावाटको, हालको अनुमानअनुसार नौ खर्ब रुपैयाँ ?

एकछिनको लागि सम्झनुहोस्, ल नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी नौ खर्ब गर्छ । तर, उत्पादन कम्पनी इन्डियाको भइसकेपछि, नेपाल विद्युत प्राधिकरणले पुनः त्यही इन्डियन कम्पनीलाई उक्त रकम तिर्नु परेन ? वा, उक्त पैसा फिर्ता गर्नु परेन ?

अनि दश हजार मेगावाट बिजुली बेचेर आएको रुपैयाँ पुनः इण्डिया गएन जस्ताको त्यस्तै ?

के नेपाल बिचौलियाको काम मात्र गर्ने/गराउने हो यो मामलामा ? वा
दलाली काम गरेबापत कमिसन खाने नेपालले ? यही हो नेपालको आम्दानी ? वा, अन्य आम्दानीको स्रोत के छ सम्झौतामा ?

६. अहिलेको विश्वमा हिमालको त्यो चिसो पानी अमूल्य भइसकेको छ ।

बिजुली उत्पादन गर्ने स्थान नेपालको ।

एउटा सार्वभौम स्वतन्त्र देश नेपालका ठूला-ठूला नदीहरूमा इण्डियन कम्पनीलाई बिजुली उत्पादन गर्न लगाएर,

बिजुली उतै लगाएर,

उल्टै आफ्नै नदीहरूमाथिको नियन्त्रण इण्डियाको हातमा सुम्पिने ?

यो प्रकारको सम्झौता दूरगामी रूपमा नेपालको हितमा प्रयोग हुने देखिँदैन । यदि नेपालको हितमा छ भने, कुन शर्तमा छ ? कुन बुँदामा छ ? कुन बिन्दुमा आम्दानी हुन्छ होला ?

७. अझ ती नदीहरूको चिसोपानीको मूल्य नै गरिएको छैन सम्झौतामा ।

पानी त उसले सित्तैमा लैजाँदै छ सिँचाइको निम्ति र पिउने पानीको रूपमा ।

जबकि विश्वमा पानीको पनि मूल्य गरिन्छ र गरिएको छ, गर्छन् ।

इण्डियाले चिसो पानी खाडी मुलुकमा बेच्दैछ टनेल (सामुन्द्रिक पाइपलाइन) मार्फत ।

टनेल बनाउने काम तीव्र रूपमा भइरहेको छ । टनेलमा दुई पाइपलाइन निर्माण गरिने छ, एउटा खाडीबाट इन्धन आपूर्ति गर्ने इण्डियामा, यताबाट हिमालको चिसो पानी बेच्ने हो इण्डियाले ।

तर नेपालको पानी सित्तैमा ? केही दिनु पर्दैन नेपाललाई ?

८. एकथरीले ठूलो भ्रम श्रृजना गरेको पनि देखिन्छ । नेपालले पनि उत्पादन गरेर इण्डियालाइ बेच्न सक्छ भनेर । त्यो गलत हो ।

इण्डियाको लगानी बाहेक अन्य राष्ट्र वा कम्पनीले उत्पादन गरेको बिजुली उसले नकिन्ने नीति बनाएको छ । कानुन बनाएको छ ।

जस्तै नेपालले कुनै देशसँग ऋण धन गरेर बिजुली उत्पादन गरे पनि किन्दैन उसले ।

९. नेपालले बंगलादेशलाई पनि आफ्नो बिजुली निर्यात गर्न सक्दैन । इण्डियन कम्पनीले नेपालमा उत्पादन गरेको बिजुली, नेपाल विद्युत् प्राधिकरणमार्फत बेच्ने मात्र हो ।

नेपालले आफ्नै देशको बिजुली बिचौलियाको काम गर्ने मात्र हो, हालसम्मको संझौता अनुसार । र इन्डियाको नीति अनुसार कम्तिमा पनि आजको दिनसम्म ।

१०. तीस वर्षको पञ्चायत कालमा उसले गरेको भरमग्दूर कोशिस बल्ल अहिले ४०-४५ वर्षपछि गणतन्त्रमा सम्भव भएको छ इण्डियाको लागि ।

उसको दाउ नेपालका ठूला सबै नदीहरू सित्तैमा आफ्नो नियन्त्रणमा पार्ने थियो । दाउ जसले पनि लगाउँछ, लगाउन पाइन्छ ।

यो दश हजार मेगावाट बिजुलीको नाममा, आफ्नो दाउ हात पार्न सफल भएको छ ।

११. सुगौली सन्धिमार्फत जमीन गुमाएको नेपालले, दश हजार मेगावाट बिजुलीको नाममा जलस्रोत पनि गुमाउन पुग्यो नयाँ शताब्दीमा ।

१२. जलविद्युत् संसारमा सबैभन्दा सस्तो ऊर्जा र वातावरण मैत्री प्रविधि हो ।

यसको उत्पादन देशका कलकारखाना खोल्न, चलाउन र त्योमार्फत रोजगारी सृजना गर्न गराउन अर्थात् नेपालको समृद्धिको लागि प्रयोग गर्ने ऊर्जा हो, तर यहाँ उल्टो भइरहेको छ । धिक्कार छ हामी सबैलाई ।
अस्तु ।