बिना ब्याज एक अर्ब ऋण : प्रसाईंका कारण डुब्यो एनसीसी बैंक !

बिना ब्याज एक अर्ब ऋण : प्रसाईंका कारण डुब्यो एनसीसी बैंक !


■ सुरेन्द्र सुवेदी, काठमाडौं

मेडिकल ब्यवसायी भनेर चिनिने दुर्गा प्रसाईंले तत्कालीन एनसीसी बैंकमाथि गरेको ‘लुट’को खुलासा भएको छ । सात वर्षअघि प्रसाईंले कीर्ते गरेर सो बैंकबाट एक अर्ब रुपैयाँ ऋण लिने सफलता पाएका थिए । बैंकसँगको ऋण-सम्झौतामा प्रसाईंले बडो चलाखीपूर्वक ‘बीएनसी कलेज सञ्चालनमा आएर विद्यार्थी भर्ना भएपछि मात्र बैंकको साँवाब्याज असुली प्रक्रिया सुरु गर्ने’ भन्ने वाक्य घुसाएका रहेछन् । समयमा ऋण नतिर्ने या सकभर तिर्नैनपर्ने नियतका साथ प्रसाईंले त्यसरी सम्झौता गरेर ऋण लिएको अनुमान लगाउन सकिन्छ । जबकि, यो कलेजले अहिलेसम्म स्वीकृति नै पाएको छैन, जसका कारण ७ वर्षअघि लिएको ऋणको एक रुपैयाँ पनि साँवा र ब्याज प्रसाईंले तिरेका छैनन् ।

तत्कालीन बैंकका कार्यकारी अधिकृतसँगको मिलेमतो (सेटिङ)मा बैंकलाई झुक्याउने प्रसाईंविरुद्ध उक्त बैंक उच्च अदालत विराटनगरमा मुद्धा लिएर गयो । तर, अदालतले त्यही वाक्यांशको आधारमा बैंकलाई मुद्धा हराइदियो । जसका कारण बैंकले सात वर्षदेखि एक अर्ब रूपैयाँको साँवा र ब्याज उठाउन सकिरहेको छैन ।

सप्तकोशी कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर भावेश बोहोराले करिव ५० करोड रुपैयाँ पनि धितो नभएको सम्पत्तिको धितो राखेर १ अर्ब ६० करोड रुपैयाँ ऋण लिन सफल भएका छन् । वैंकले साँवा र ब्याज असुल्न ताकेता गरेपछि बोहोरा फरार छन् । उनी भारतमा रहेको श्रोतको दाबी छ ।

सो बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले आफ्नो सालो विनय अधिकारीलाई तीन वर्षको स्वेच्छिक अवकास योजना (भिआरएस) दिएको पनि खुल्न आएको छ । कुनै पनि बैंकले १ वर्षभन्दा बढीको भिआरएस दिँदैनन् । यिनै अध्यक्ष केशरीले कमजोर रहेको बैंकका सञ्चालकलाई २ लाख ५० हजार रुपैयाँका दरले रकम दिएर अमेरिका घुमाएको पनि खुल्न आएको छ ।

एनसीसी बैंक कुमारी बैंकसित मर्ज भइसकेको छ । बैंकका तत्कालीन कार्यकारी अधिकृत रमेशराज अर्यालले कुमारी बैंकबाट राजीनामा दिए । अचम्मतः उनले राजीनामा त दिए तर राजीनामा दिएपछि सञ्चालक समितिबाट साढे २ वर्षसम्म करिव २ करोड रुपैयाँ सेवा सुविधा लिन पाउने निर्णय पहिले नै गराएका रहेछन् । तर, अहिले राष्ट्र बैंकले काम नै नगरी त्यसरी रकम लिन नपाउने भन्दै रोक्का गरेको छ । अर्याल भने त्यो रकम पाउनुपर्ने भन्दै दौडधुपमा रहेको श्रोतहरूको भनाइ छ । ‘यस्ता कर्तुत र बेथिति अन्य कुनै बैंकमा पाइन्न ।’ मर्जपछि बनेको कुमारी बैंकका संस्थापक एक सेयर सदस्यले घटना र विचारलाई बताए ।

अर्काे घतलाग्दो घटना पनि यो बैंकसित जोडिएको छ । एक जना व्यक्तिले राजधानीमै १ करोड १७ लाखमा जग्गा खरिद गरे । यो जग्गा खरिद गरेको ३ दिनपछि त्यो जग्गाको मूल्याङ्कन १६ करोड रुपैयाँ गराए । र, त्यसको ५ दिनपछि ७ करोड रुपैयाँ ऋण लिएका छन् । ती ऋणीले १ किस्ता रकम बैंकलाई बझाएपछि बाँकी रकम तिरेका छैनन् । यो मुद्धा अहिले पाटन उच्च अदालतमा चलिरहेको बैंकका एक लगानीकर्ताले बताए । यस्तो अनियमितता गरेका सिइओ रिजाललाई बैंकले विदा दिएपछि हाल आरसी खनाल सिइयो छन् । उनी भने केही इमान्दार सिइओको रूपमा रहेको सेयर सदस्यहरूको भनाइ छ ।