‘म पदेन खोरेत !’

‘म पदेन खोरेत !’


बक्रोक्ति
अब निकटभविष्यमै राष्ट्रिय राजनीतिमा उदाउने ‘सेनेटरी प्याड’को ब्यापारका माध्यमबाट महिला उत्थानमा जुटेका डफेदार पुत्र परम् आदरणीय ‘राष्ट्रिय राहुल’लाई नेपाल महिला संघको केन्द्रिय सभापति बनाउने तयारीमा जुट्न र खोरेत भजन गाउन तयारी अवस्थामा रहन सम्पुर्ण खोरेत काङ्ग्रेसलाई अपिल गर्दै आजलाई जय नेपाल !!
✍ ज्ञानमणि भुर्तेल

सुनसरी काङ्ग्रेसले राष्ट्रियसभाका लागि गिरिराज आचार्यको नाम सिफारिस गरेपछि विश्वास गर्न गाह्रो भएता पनि उहाँ स्वयंको ‘फेसबुक स्टाटस’बाट विश्वस्त भएपछि फोन लगाइयो !

जय नेपाल आदानप्रदान पछि- ‘अहिलेलाई शुभकामना मात्रै दाजु ! बधाई चैँ दिने दिन आएपछि दिउँला, तर आउने सम्भावना छैन !’ को प्रत्युत्तरमा उहाँ मज्जाले हाँस्नु भो- ‘मैले पनि बुझेको छु भाइ ! सिफारिस गर्ने साथीभाइलाई सम्झेर हाइट बढाइदिएकोमा धन्यवाद दिएँ ! सुनसरी काङ्ग्रेसले सम्झ्यो… पुग्यो ! दिउन् भन्ने आश पनि छैन, दिन्छन् भन्ने विश्वास पनि छैन । काङ्ग्रेस जीवन्त राख्ने प्रयत्न भने आजीवन रहन्छ । काङ्ग्रेस बचाउने काङ्ग्रेसले नै हो ! तिमी–हामी यसका लागि लागिरहनुपर्छ भाइ !’

जनमतसंग्रहको बेलादेखिको आत्मीय संगत स्मरण गर्दै केहीबेरको भावुक सम्वादपछि सम्पर्कमा रहने बाचाका साथ ‘मकै खाने छुट्टी’ गरियो !

मष्तिष्कमा एउटै कुरो खेल्यो- कुनै समय ज्यान हत्केलामा राखेर खोसिएको प्रजातन्त्र फर्काउन हिँडेको ब्यक्ति सिफारिसमा पर्दैमा यत्रो सुखद अनुभुतीमा रमाउनुपर्ने ? निश्चित छ- उ सिफारिसमा मात्रै परेको हो ! सांसद हुने सम्भावना सुन्य छ ! तर पनि हामी बबुरा मुतको न्यानोमा मस्त छौँ ! यही हो बहुदल ? यही हो गणतन्त्र ? यसैलाई प्रजातन्त्र मानेर ताली बजाउनुपर्ने हाम्रो नियति !

निश्चित थियो– गिरिराज र गिरिराजहरू जिल्ला सिफारिसमा मात्रै परेका हुन्, केन्द्रको नजरमा पर्नै सक्दैनन् ! सिफारिस गर्ने काङ्ग्रेसको काङ्ग्रेस जागीर खुस्किने सम्भावना पनि प्रवल छ ! गिरिराजहरूको उपयोगिता पञ्चायतको अवसान सगसगै समाप्त भैसकेकोछ ! अब गिरिराजहरूको आवश्यकता छैन ! अहिले गिरिराज जस्ता हजारौँ काङ्ग्रेस काङ्ग्रेसको नजरमा गिरिसकेका छन् ! पञ्चायत ढलेर बहुदल उठिवरि राजतन्त्र समेत फ्याँकेर गणतन्त्र नामको ‘गाँडतन्त्र’ हामीले भिरिसकेकाछौँ र आजपर्यन्त भोग्दैछौँ !

काङ्ग्रेसलाई फरियाले बेरेर केन्द्रमा फँणा फिँजाएर विराजमान द्रब्यपिसाच ‘राष्ट्रिय भाउजू’ले गिरिराज जस्तालाई चिन्दा पनि चिन्दिनन् र चिन्नु जरुरी पनि छैन ! न त राष्ट्रिय भाउजुका पति नामका पिलन्धरे काङ्ग्रेस डफेदारलाई नै गिरिराजहरूको चिन्ता छ ! उहाँलाई त निष्ठावान् भन्दा बिष्टावान प्रिय छ । त्यसैले उहाँ सकुनी रोज्नुहुन्छ जसले अधिवेशनका बेला जिल्लाका भेडा बेचेर आफूलाई सत्तारोहणमा टेको लाइदिनुहुन्छ !

काङ्ग्रेस-निष्ठा बाहेक केही नदेख्ने कंगाल गिरिराज जस्ता ‘हरामी काङ्ग्रेस’लाई किन सांसद बनाउने ? गिरिराजसँग संसदीय खुबी के छ ? उनले कहिल्यै बामपन्थी भएर बाम मैदानमा परेड खेलेनन् ! पञ्चायतकालमा अञ्चलाधीशसँग गठबन्धन गरेर खेलकुद समितिमा घुस्रिन जानेनन् ! नेताको धुपौरे बन्दै पुराना काङ्ग्रेसको अन्तेष्टि गर्न पनि जानेका छैनन् ! गुट बनाउने कला उनसँग छैन ! सुपारीका बोरा बोक्न सक्दैनन् ! रक्तचन्दन चाई्ना पुऱ्याउने कला उनसँग छैन ! काङ्ग्रेसलाई नगदेबाली बनाउनसमेत जानेनन् ! पदीय मर्यादाविपरीत इँटाभट्टामा जिउँदै मान्छे पोल्नेलाई संरक्षण गर्नेदेखि सुडान कलंक बोक्न पनि सकेनन् ! आफ्नो प्यादा नभए बरु माओवादी मुख्यमन्त्री नै ठिक भन्दै माओवादीसँग प्रीति गाँस्नसमेत जानेनन्, न त तरुणको ‘त’समेत नबुझेकोलाई एकैपटक केन्द्रिय सदस्य बनाउन सक्ने कलात्मक गुण नै बोके ! न उनले पटक-पटक चुनाव हारेर जनताबाट तिरस्कृत हुन सके !

यावत गुण बोकेका सर्वगुणसम्पन्न महापुरुष काङ्ग्रेसभित्र उपलब्ध हुँदाहुँदै काङ्ग्रेस निष्ठाबाहेक कुनै गुण नभएका काङ्ग्रेस मात्रै जप्ने अबगुणी ‘हरामी काङ्ग्रेस’लाई राष्ट्रियसभा सदस्य जस्तो गरिमामय पद ‘मुफ्तमें’ किन दिने ?

राष्ट्रिय भाउजु र उहाँका पति नामका बुख्याँचा हाम्रा पिलन्धरे डफेदारका यी र यस्तै–यस्तै तर्क–कुतर्क बीच सुनसरी काङ्ग्रेसले एउटा निष्ठालाई सिफारिसको घेराभित्र पारेर न्युनतम विवेकको आभास दिएको छ, जसबाट काङ्ग्रेस स्वास्थलाभको झिनो आशा गर्न सकिन्छ, तर विश्वास गर्न किमार्थ सकिन्न !

मलाई माफ गर सुनसरी काङ्ग्रेस… !

सकुनीराजभित्र रुमलिएको मैले मेरो जिल्लामा गिरिराज जस्ता कुनै काङ्ग्रेस भेटिनँ ! रामबाबुको श्रद्धाञ्जली सभामा ‘रामबाबु पनि काङ्ग्रेस थिए ?’ भन्ने जमातको सदस्य मेरो खोरेतग्रस्त मष्तिष्कले भेटोस् पनि कसरी ? मैले मेरो गाउँमा काङ्ग्रेस जप्ने र काङ्ग्रेस जोगाउने कुनै ‘हरामी काङ्ग्रेस’ पाउन सकिनँ ! विगतमा गोरुको पुच्छर समातेर नगरको टिकट बेचेरै भएपनि मोटरको स्टेयरिङ समात्ने हुँदासम्म पनि मेरो खोरेतग्रस्त मष्तिष्कले मेरो जिल्लामा कुनै महिला भेटेन ! कुनै राई लिम्बू भेटेन ! कुनै आदिवासी भेटेन ! कुनै दलित भेटेन ! काङ्ग्रेसका लागि मरिमेट्ने कुनै सन्थाल भेटेन ! काङ्ग्रेसका लागि जेलनेल भोगेर बैंस बिताएर अहिले बारिको डिलमा पुऱ्याइएका कुनै हरामी काङ्ग्रेस भेटेन ! तर पनि महिलाको भेलामा महिला, लिम्बूको भेलामा लिम्बू, दलितको भेलामा दलित उत्थानका खोक्रे भाषण पस्किन भ्याइदिने मेरो खोरेत मष्तिष्कले भर्खरै तुर्सा स्मृति दिवसका दिन सन्थाल उत्थानको ब्याख्या गर्न समेत भ्याइदियो ! जुन जमातमा गयो त्यही जमातको उत्थान गाउनु तर मौका पाउँदा उनैलाई धसाउनु मेरै खोरेतग्रस्त मष्तिष्कको कमाल हो भन्नेमा म आफैं विश्वस्त छु !

खैर..!

भाडमें जाए काङ्ग्रेस ! भाडमें जाए मुलुक !!

गिरिराज सम्झिने सुनसरी काङ्ग्रेस र गिरिराजहरू सम्झिने अन्य अविवेकि जिल्ला मुर्दावाद ! अर्काको बिहेमा नाचेर रमाउने जन्ती हुन पुगेका गिरिराजहरूलाई बधाई !

अब निकट भविष्यमै राष्ट्रिय राजनीतिमा उदाउने ‘सेनेटरी प्याड’को ब्यापारका माध्यमबाट महिला उत्थानमा जुटेका डफेदार पुत्र परम् आदरणीय ‘राष्ट्रिय राहुल’लाई नेपाल महिला संघको केन्द्रिय सभापति बनाउने तयारीमा जुट्न र खोरेत भजन गाउन तयारी अवस्थामा रहन सम्पुर्ण खोरेत काङ्ग्रेसलाई अपिल गर्दै आजलाई जय नेपाल !!