राजनीतिको ‘मार्केटिङ’

राजनीतिको ‘मार्केटिङ’


भ्रष्टाचारभित्र पनि कसरी झन् ठुलो भ्रष्टाचार हुँदोरहेछ भन्ने तथ्य ललिता निवास, नक्कली शरणार्थी, क्वीन्टलौँ सुन आदि काण्डले प्रष्ट पारेकै छ । जनताले विश्वास गरेर माथि पुऱ्याएका पात्रहरूकै अनुसन्धान फाइलहरू बाक्ला हुदै जाँदा ‘राजा आउ, देश बचाउ’ भन्ने ब्यानरको बजार तेजी हुनु स्वभाविक हो ।
✍ दुर्गाराज भट्टराई

एउटा छाताको सयेँलमा सबै मानिस अटाउँदैनन् जुन छाता निकै फराकिलो नै किन नहोस् । कुनै ठाउँमा मानिस अटाउन अक्सर दुईवटा खाली ठाउँ आवश्यक पर्दछ । उसको हैसियत अटाउने एउटा कुर्सी र विचार राख्ने एउटा समूह, भीड । त्यहाँ राखिएका कुर्सीहरूमा कोही नअटाएपछि ऊ अर्को कुर्सीको खोजीमा निस्कन्छ । निति, सिद्धान्त, शैली त निष्ठावान् पुरुषहरूका कारणहरू हुन्, सामान्य व्यक्तिहरू त्यहाँ आसिन मानिसहरूले लगाएका लुगाको रङ मन परेन भने पनि अर्को छाताको खोजी सुरु गर्दछन् जहाँ आफ्नो हैसियत र शब्द राख्न सहज होस् । राजनीतिको मार्केटिङ यही विन्दुबाट सुरु हुन्छ ।

विकासको मुल आधार नै राजनीतिक चेतना र मार्केटिङलाई मानिन्छ । विगत हेर्ने हो भने यस क्षेत्रमा गौरव गर्न लायक कामहरू धेरै भएका छन् । त्यागी नेतृत्व र साहसी कार्यकर्ताबाट त्यो सम्भव भएको थियो । आज रमिता विपरीत छ । सबैलाई एउटै विशेषणमा राख्नु त सन्तुलन नहोला तर आज भ्रष्ट नेतृत्व र तिनका वरिपरि घुम्ने कार्यकर्ताबाट राजनीति अस्वस्थ मात्र होइन, घृणित बन्न पुगेको छ । इतिहासमा परिवर्तनको लागि निर्णायक भूमिकामा उभिएर हालसम्म बाँचेका नेताहरू कुनै प्रायश्चितबाट सम्भव नहुनेगरी दोषी भएका छन् । दोषी सबै छन् र अर्कालाई दोषी देखाएर दोष मोचन गर्न मञ्चको सबै समय खर्च गरिरहेछन् । आज यही बेथितिबाट निर्मित खाल्डो फराकिलो हुँदा राजतन्त्रको मार्केटिङ सहज बनेको हो । नयाँ पाटी र नयाँ नेताको जन्म भएको हो ।

आज हामी राजा आऊ भनिरहेका छौँ । खासमा हामीले कसलाई राजा भनेर बोलाइरहेका छौँ ? हामी सबै यो शीर्षकमा स्पष्ट छैनौँ । यो टाढाको विषय भएकोले आजै स्पष्ट हुन आवश्यक पनि छैन किनभने हाम्रो सामु शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र हिँड्दैछन् । राजाको विम्बमा उनैको तस्बिर राखेर राजतन्त्रको मार्केटिङ गर्ने मलिलो मैदान प्राप्त भएकै छ । राजा आए सब ठिकठाक हुन्छ कि हुदैन ? भन्ने प्रश्नतिर मानिसहरू गएकै हुदैनन् । गणतन्त्रको विकृत पाटोले आजित भएकाहरूको समर्थनमा राजतन्त्रको मार्केट अझै केही समय चल्ने देखिन्छ ।

‘राजा आऊ देश बचाऊ’ भन्ने टिठलाग्दो आह्वान् ज्ञानेन्द्रकै कानले सुनिरहदा उनीचाहिँ के सोच्दा हुन् ? राजनीतिक मार्केटिङको लागि त उनी भन्दैछन्- ‘तपाईंहरू उठ्नुहोस्, म त छँदैछु ।’ तर उनको आत्माले पनि ‘म छँदैछु’ भनिरहेको होला ? किनभने पटक-पटक राजा भइसकेर हाल निवृत्त भइसकेका ज्ञानेन्द्रलाई राम्ररी थाहा छ- राजा भएर पनि गर्न सकिने जादु केही हुँदैन । सात सालमा टुकुटुकु हिँड्न सक्ने हुँदै राजा भएका ज्ञानेन्द्रलाई आफ्नो उमेर र ल्याकतको राम्रो जानकारी हुनुपर्छ । राजाको लागि आउँछ भनिएको समय आयो नै भनेपनि उनको समयचाहिँ धेरै माथि पुगिसक्ने हेक्का सबैले राखेकै छन् । उत्तराधिकारी पारसको नाउँ त यहाँ धेरै चर्को पर्न सक्छ । उनीसँग काबु भएर पटक-पटक दरबारले नै प्रवेश निषेध गरेको इतिहास छ ।

यहाँनेरि अर्को बलियो तर्कको बजार छ । ज्ञानेन्द्र, पारस या कोही एबिसी सिर्फ पात्र हुन्, खाँचो राजतन्त्रको छ । राष्ट्रिय एकता, सद्भाव र गौरवको प्रतीक भएर राजतन्त्र बस्नेछ, शासन गर्ने अरु पात्रहरू हुनेछन् । मुलुकमा सुशासन र विकासको काम गर्न कार्यपालिकालाई नै धौ-धौ परेको बेला राजतन्त्रबाट आशा राख्ने ठाउँ देखिँदैन, तथापि आर्थिक चलखेलसहितको मञ्च रहिञ्जेल राजतन्त्रको मार्केट चलिरहने देखिन्छ । तर मूलपात्र ज्ञानेन्द्रलाई चाहिँ यी सुदूर सम्भावनाको प्रतीक्षामा दिन कटाउनु छैन, किनभने यता वर्तमानमै उनको आफ्नै बडो लोभलाग्दो राजनितिक मार्केट छ । भव्यतम् स्वागतद्वार बनाएर मानिसहरू निमन्त्रणा गरिरहन्छन् । माला, खादाले हरदम सुशोभित गला । न धनको कमी न भौतिक आधारको अभाव । दान, धर्म, पुजा, प्रसादले मग्न अभिनन्दित जिन्दगी । पुर्खाको गौरवान्वित इतिहास र वंशीय परम्पराले सभ्य संस्कार । यस्तो पृष्ठभूमि भएको मानिस राजनीतिबाहेक अरु के गर्न सक्छ ? महलको बगैंचामा घाम ताप्ने मात्र उनको बल उमेर भइसकेको छैन ।

पहिला-पहिला त ज्ञानेन्द्रले नागरिक अभिनन्दन ग्रहण गरेको र भारतीय नेताहरूलाई भेटेको नै आपत्तिको विषय ठानिन्थ्यो । गणतन्त्रवादीहरू यति असहिष्णु बने मानौँ गणतन्त्र ज्ञानेन्द्र तथा उनको समुहबाहेक अरुको लागि मात्र हो । आजभोलि गणतन्त्रवादीहरू पनि भ्रष्टाचार आदि विभिन्न झमेलामा जेलिँदै गएपछि ज्ञानेन्द्रका गतिविधिलाई बक्रदृष्टिले हेर्ने मार्केटिङ पनि मन्दी हुँदै गइरहेको छ ।

अर्कोतिर सय राजाभन्दा एक राजा धान्न सकिने तर्कको मार्केटिङले पनि राम्रो बजार लिएको छ । कुरा हो पनि । २०४६ को परिवर्तनभन्दा २०६३ को परिवर्तनपछि नाताकृपावादले पराकाष्ठा नाघेको तथ्य अरुले औंल्याउनै पर्दैन, तिनै नाताकृपावादीहरूको आत्माले स्वीकार गर्दछ । भ्रष्टाचारभित्र पनि कसरी झन् ठुलो भ्रष्टाचार हुँदोरहेछ भन्ने तथ्य ललिता निवास, नक्कली शरणार्थी, क्वीन्टलौँ सुन आदि काण्डले प्रष्ट पारेकै छ । जनताले विश्वास गरेर माथि पुऱ्याएका पात्रहरूकै अनुसन्धान फाइलहरू बाक्ला हुदै जाँदा ‘राजा आउ, देश बचाउ’ भन्ने ब्यानरको बजार तेजी हुनु स्वभाविक हो । तर एक राजा भए ठाउँमा अरु उपराजाहरू पस्दैनन् र तिनले मूल राजालाई सफा राखिराख्छन् भन्ने के ग्यारेन्टी त छैन ।

उता अर्को मार्केट छ जहाँ भुत भइसकेको राजसंस्था फर्कन सम्भव छैन भन्ने तर्क कमजोर छैन । ठुलो लडाइँ, योगदान र समर्थनपश्चात प्राप्त प्रजातन्त्र/गणतन्त्रविरुद्ध राजसंस्था फर्कने प्रसङ्ग असैह्य मात्र होइन अराजक नै ठान्छन् गणतन्त्रवादीहरू । पहिला-पहिला त ज्ञानेन्द्रले नागरिक अभिनन्दन ग्रहण गरेको र भारतीय नेताहरूलाई भेटेको नै आपत्तिको विषय ठानिन्थ्यो । गणतन्त्रवादीहरू यति असहिष्णु बने मानौँ गणतन्त्र ज्ञानेन्द्र तथा उनको समुहबाहेक अरुको लागि मात्र हो । आजभोलि गणतन्त्रवादीहरू पनि भ्रष्टाचार आदि विभिन्न झमेलामा जेलिँदै गएपछि ज्ञानेन्द्रका गतिविधिलाई बक्रदृष्टिले हेर्ने मार्केटिङ पनि मन्दी हुँदै गइरहेको छ ।

राजनीतिको पृष्ठभूमिमा राम्रै मार्केटिङ गर्ने मिडियाहरू, अर्धराजनितिक समूह र आफूलाई विश्लेषक भन्न रुचाउने विद्वानहरू पनि छन् । मिडियाहरू जो कसैले एउटामात्र शब्द बिब्ल्याँटो बोल्यो भने लामै जीविका चल्ने मार्केटिङ गरिहाल्छन् जुन शब्दको आयु चौबीस घण्टा पनि राम्रोसित हुँदैन । उदाहरणार्थ अस्ति एकजना किराती मन्त्रीले धार्मिक पर्वको दिन शुभकामना मन्तव्य दिने हुँदा केही शब्दहरू बिब्ल्याँटो बोले । नबोल्नुथ्यो तर बोली त हाले । भाषण लम्ब्याउन थालेपछि अनावश्यक शब्दहरूले प्रवेश पाउँदै जान्छन् किनभने सीमित सत्यतथ्यहरू त एकैछिनमा बोलेर सक्किहाल्छन् । तर खुल्ला भाषण केही इमोसनल पनि हुने भएकोले वक्ताले थाहै नपाइ अनावश्यक शब्दहरू फुत्कने खतरा भइरहन्छ । किरातीको मन्तव्यमा त्यही भयो । अगाडि ताली पिटेर वाहवाह गर्ने समुहको प्रभावमा वक्ताहरू बाटो बिराएको पत्तै पाउँदैनन् । आखिर त्यो औपचारिक मन्तव्य त थिएन । आफ्नो अफिसको प्याडमा सम्बन्धित अधिकारिको सहीछाप भएर भोलि कार्यन्वयनमा जाने नीति आएको त होइन । तर सदनदेखि सडकसम्म राम्रै मार्केटिङ भयो त्यो विषयको ।

सांसदहरूलाई केही गरेनन् भन्ने एउटा कमन आरोप लाग्नेगर्छ, किनभने चुनवताका ‘धेरै गर्छु’ भनेर उनिहरूले ठुलै मार्केटिङ गरेका हुन्छन् । तर गर्ने त योजनाले हो । केही गरेको देखाउन पहिलापहिला सांसद विकास कोष नाउँको केही लाख पैसोको व्यवस्था थियो, अहिले दुरुपयोग भएकोले कटौती भयो क्यारे ! खास कामका अधिवेशन सधैंभरि चल्दैनन् । यसरी बेकारी भएका सांसदहरू संसदमा अर्थहीन विषयको मार्केटिङ गर्दछन् । भोलि समयले आफै सम्याउदै जाने विषयमा पनि संसदका खास कामहरूलाई डिस्टभ हुनेगरी ती कराउँछन् । ती सांसदहरूले मन्त्री किरातीले तुरुन्तै राजीनामा दिनु पर्ने सम्मको माग राख्न भ्याए । त्यसको भोलिपल्ट गौसालातिर पुलिसले लाठी उज्याउनु पर्ने गरि अर्को समुहले प्रदर्शन गरेको खबर सुनियो । विश्लेषकहरूको मुखबाट मन्त्री किराँती विदेशी धर्म समुहको सदस्य भएको सम्म सुन्न पाइयो । तर विद्वान् विश्लेषकहरूको मार्केट कति फितलो हुन्छ भने उनिहरूले कुन विदेश ? कुन समूह ? कहिलेदेखि एजेन्ट भएको ? कति आर्थिक या अन्य लाभ लिएको ? र तिनका प्रमाणहरू के ? आदि प्रश्नहरूको कहिल्यै व्याख्या गर्दैनन् । युरोपियन युनियन, इण्डो-अमेरिकन प्याक जस्ता विदेशी संस्थाहरूको दुई चार नाम दिएर आफ्नो समूह धारअनुसार उभिएका विश्लेषकहरूले कुनै पनि शीर्ष नेताहरूलाई विदेशी एजेन्ट र डरलसँग जोड्न बाँकी राखेका छैनन् तर उनिहरू कुन प्याकसँग ? के शर्त बन्दोबस्तमा ? के कति डलर लाभ हुनेगरी ? कसरी सदस्य भए ? र आफुहरूले कस्ता प्रमाणहरू फेला पारेर बोलेको हो ? आदि प्रश्नतिर प्रवेश नै गर्दैनन् । न मिडियाहरू नै खोदलेर प्रश्न गर्छन् । मिडियाले प्रमाणहीन विषयहरूलाई रोक्दथे भने नेताहरू पनि फितलो बजार बन्द गर्थे कि ?

भर्खरै तपस्वी भनिएका बम्जन पक्राउ परे । उनलाई अदालतमा पेश गरिएको छ । अदालतले गुण दोष छुट्याएर उचित निर्णय लिने प्रक्रियाको सुरुवात भएको छ । यता एकजना विद्वान् वकिल विश्लेषक मिडियामा आएर कोनी कुन पश्चिमी मिसन कि प्याकको षड्यन्त्र हो भन्दै हुन्छन् । तर उनी षड (६, Six) यन्त्रमद्ये एउटा यन्त्रको पनि सप्रमाण व्याख्या लगाउँदैनन् । ग्लोबलाइजेसन र संस्कृटाइजेसनको कुनै प्रभावै हुँदैन भन्ने होइन तर सिआइबीले कसैलाई पक्राउ गऱ्यो या लामिछाने फुत्त मन्त्री भए या डा. केसी अनसन बसे, जहाँ पनि मिसनरी र डलरको खेल हुन्छ ? हुन्छ भने प्रमाण के ? र प्रमाण पेस गर्न मिल्दैन भने पर्दा अगाडिका सस्ता मालले मात्र कहिलेसम्म हामीले हाम्रा कान थोत्रा बनाइरहने ? कुनै बेला त विद्वान् विश्लेषकहरूको मार्केट यति तेजी भइदिन्छ मानौँ तिनका कुराअनुसार रातभरमा नेताहरूले देश नै बेचिसक्छन् । पोरसाल एमसीसी प्रकरणमा नेता र विश्लेषकहरूले ठुलो व्यापार गरे । तर भोलिपल्ट बिहान उठेर टेकेको भूमि नेपाल नै थियो अनि श्री भानुचन्द्र त्यसरी नै उदाएका थिए । त्यसैउसै सबैको मार्केट चलिरहेको छ ।

यता गाउँमा मलगायत थुप्रै अल्पविद्वानहरू छौँ जो माथि उल्लेखित जस्ता घटना र विषयलाई आफ्नो चेतनाको होलसेल मार्केट ठान्दछौँ र, आफ्नो टोल-छिमेक र चोकचोकमा ल्याएर आ-आफ्ना स्वादहरू मिश्रण गर्दै राम्रै खुद्रा मार्केटिङ गरिरहेछौँ ।