हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

हुण्डी कारोबार गर्ने दुई जना पक्राउ


नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशनविपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ घर भइ हाल जिल्ला काठमाडौं कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ घर भई हाल काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।

केसीका अनुसार काठमाडौं महानगरपालिका-२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । प्रहरीले गौतमका साथबाट नेपाली रु एक हजार दरका ६ सय थान नोट, र रु पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद गरेको छ ।

यसैगरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम रु सात लाख ९७ हजार र नगद नेपाली रु एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा रु पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।