अमेरिकामा अवसर लिन शुन्यबाट जीवन सुरु गर्नुपर्छ : समाजसेवी पार्वती लामा

अमेरिकामा अवसर लिन शुन्यबाट जीवन सुरु गर्नुपर्छ : समाजसेवी पार्वती लामा


✍ मुकुन्द सुवेदी, न्यूयोर्क (अमेरिका)

रामेछाप जिल्लाको एउटा विकट गाउँ गागलभदौरे खाँडादेवी गाउँपालिकामा जन्मेकी पार्वती थोकर लामा अमेरिकामा बस्ने नेपालीहरूका लागि साँच्चिकै प्रेरणादायी सामाजिक कार्यकर्ताका रूपमा परिचित छन् । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरभन्दा थोरै छेउ रिचमण्डमा बस्ने उनी झण्डै २५ वर्ष पहिले अमेरिका आएकी हुन् । एकल महिला पुरुष हुन् वा दुःखपीडा पाएका जोसुकैलाई पनि उनी हरपल मद्दत गरेर उनीहरूका समस्या समाधान गरिदिएर नेपाली समाजमा एउटा राम्रो चिनारी बनाएकी छन् । सुरुका दिनमा आफ्नो सङ्घर्षका कथाब्यथा सुनाउँदै उनी भन्छिन्- ‘अमेरिका अवसरको मुलुक त हो, तर यहाँ आउने जोसुकैले पनि शुन्यबाट आफ्नो जीवन सुरु गर्नुपर्छ ।’

‘आफू नेपालमा के पद वा ओहोदामा थिएँ भन्ने कुरा मनमा लिनैनहुने तथा आफ्नो विगत बिर्सेर नयाँ मुलुकमा आएको छु, यहाँको कानुनलाई पूर्ण पालना गर्छु भन्ने दृढ संकल्प हुनुपर्छ । अमेरिकामा कडा परिश्रम गरेर राम्रोसँग पैसा बचत गर्न सक्यो भने आर्थिक समृद्धि छिटो हुन्छ, जीवनलाई सहज बनाउन सकिन्छ’, हरेक नेपालीलाई उनको यही सुझाव छ ।

सानैदेखि विद्रोही स्वभावकी पार्वती स्पष्टसँग सबैलाई भन्छिन्- ‘आफ्नो काम राम्रोसँग गर्नु, झुट बोल्ने काम छोड्नु र अल्छी नगर्नु अमेरिकामा । यदि काम राम्रोसँग नगर्ने, अल्छी गर्ने र गफगाफमा भुलेर आर्थिक समृद्धिको सपना देख्ने हो भने कदापि सफल भइँदैन । अन्त्यमा जीवन बर्बाद हुन बेर लाग्दैन ।’ त्यसो त पार्वती लामाले श्रीमान्पीडित, श्रीमतिपीडित र एकल महिला तथा पुरुष धेरैको उद्दार गरेकी छन् । धेरैलाई आफ्नो घरमा आश्रय दिएकी छन् । काम खोजिदिएकी छन् । न्यायलयको ढोकासम्म पुगेर पीडितलाई न्यायसमेत दिलाएकी छन् ।

‘नेपाली महिलामात्र होइन, पुरुष पनि पीडित छन् । किनकि उनीहरूलाई राम्रो सुझाव र सरसल्लाहको खाँचो छ । कतिपय त साँच्चीकै बद्मास पनि छन्’, उनी भन्छिन् । नेपाली महिलाहरूलाई शिक्षामा नै जोड दिनुपर्ने तर्क गर्दै पार्वती अगाडि भन्छिन्– ‘छोरीलाई शिक्षामा नै लगानी गर्नुपर्छ, शिक्षाले नै मानिसलाई सक्षम र प्रभावशाली बनाउँछ ।’

विकसित देशमा सबैको पहिलो रोजाइ शिक्षा हुने गर्दछ । नेपालमा पनि गाउँगाउँमा यो लहर आएको छ । यो खुशीको कुरा हो, तर यसलाई अब प्राविधिक शिक्षामा जोड्पर्छ । विभिन्न माध्यमबाट अमेरिका आउने बस्नेहरूलाई उनको सुझाव छ– सीप सिकेर आउनुस् । जस्तै धारा पानी बनाउने, विजुलीको घर बनाउने, बस, ट्रक ड्राइभिङ गर्न सक्ने, मोबाइल मर्मत तथा घरको कामहरू गर्न सक्ने भएमा अमेरिकामा सजिलो काम पाइन्छ । पैसा पनि कमाउन सकिन्छ । उनी भन्छिन्, ‘अमेरिका श्रमको सम्मान गर्ने मुलुक हो, त्यसैले यो वा त्यो काम गर्छु भनेर लजाउनुपर्ने छैन, वास्तवमा हाम्रो देश नेपाल पछिपरेको मुख्य कारण हामीलाई काम गर्दा लाज लाग्छ, अनि कहाँबाट हुन्छ आर्थिक समृद्धि हुन्छ ?’

दुई छोरीकी आमा पार्वतीका एकजना दाइ नेपालमा चर्चित गीतकार डीडी थोकर लामा हुन् । पारिवारिक वातावरण नै सामाजिक काम नै ब्यस्त हुने भएकाले अमेरिका आए पनि त्यसले छोड्न सकेन उनलाई । अमेरिकाका प्रायः सबै ठूला संस्थाहरूमा रहेर काम गरेकी उनी नेपालीहरूमा जुन किसिमको एकता हुनुपर्ने हो त्यो नहुँदा कहिलेकाहीँ दिक्क मान्ने गर्दछिन् । अमेरिकनको अफ्रिकन, ल्याटिना, भारतीय, चिनियाँ, यूरोपियनसमेत बीच जुन एकता छ, परम्परामा सद्भाव छ, जसले उनीहरू ठूलाठूला पदमा पुगेका छन् । हामी नेपाली मूलका नेपाली, भुटानी, भारतीय र बर्मेली मिलेर जाने हो भने सफल हुने उनको बुझाइ छ ।

नेपालमा व्यवस्था परिवर्तन भए पनि मानसिकता र पात्र उही भएकाले धेरै विकास हुन सकेको छैन, त्यसैले अब सकारात्मक सोच राखेर आफूले आफूलाई सोध्नुपर्ने पार्वतीको धारणा छ । हुन त पार्वती थोकर लामाजस्ता परदेशमा हुने धेरै नेपाली चेलीले आफ्नो माइतीदेश नेपाल आउँदा अन्तर्राष्ट्रिय विमानस्थलमा भोग्नुपरेका समस्या सदैव सुन्न र देख्न सकिन्छ । त्यसमा पार्वती भन्छिन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने विदेशी नेपाली जोसुकैलाई कुनै समस्या र झन्झट नगरीदिने हो भने ३० प्रतिशत पर्यटन नेपालमा बढिहाल्छन् र त्यहाँ पुग्ने वित्तिकै हरेकको मन बद्लिन्छ अनि नेपालप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ ।’ उनी नेपालको अन्तराष्ट्रिय विमानस्थल र त्यहाँ खटिएका कर्मचारीको व्यवहार सुधार्न जरुरी भइरहेको औंल्याउँछिन् ।