क्यानडा पढ्न आएका भैरहवाका विद्यार्थीको एनआरएनएको पहलमा उद्धार

क्यानडा पढ्न आएका भैरहवाका विद्यार्थीको एनआरएनएको पहलमा उद्धार


‘क्यानडामा विद्यार्थीलाई काम पाउन मुस्किल छ’ : एनआरएनए क्यानडा

  • शिशिर सिंखडा, टोरण्टो

पढ्नका लागि क्यानडा आएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ, भैरहवाका २३ वर्षिय साहिल श्रेष्ठलाई उद्धार गरि गत आइतबार नेपाल पठाइएको हो ।

पढ्न आएका श्रेष्ठ पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनिसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनको भनाइ छ ।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको जानकारी पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए । एनआरएनए क्यानडाका कार्यसमिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी बुधबार (जनवरी १७) बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पु¥याएको जानकारी पाएलगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनि बुधबार बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ : एनआरएनए क्यानडा

‘क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै’, एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । कलिला साना साना भाई बहिनीहरू जसले नेपाल हुदा खानासम्म बनाउन परेन ।

एउटा ठुलो सपना बोकेर नेपाल छोडी आएका छन् । यहाँ आइसकेपछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिव २५ लाख रुपैयाको ऋणको बोझ । बाबु-आमाले बिहानै बेलुकी सोध्ने प्रश्न ‘काम पाइस् कि नाइ’, अर्कोतिर कलेजको फीः तिर्नुपर्ने दिन नजिकिँदै गर्दा क्यानडा आएका कतै तपाईं-हाम्रा छोराछोरी भाइबहिनी भान्जाभान्जी टाउकोभरि येत्रो समस्या बोकेर हिँड्दा मानसिक समस्यामा त छैनन् ? उनिहरुलाई खाना खायो कि खाएन, पढाइको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौँ जागिरको तनाव नदिउँ, जागिर पाएपछि गर्छन उनिहरुलाई झनै पिर छ आफ्नो भविष्यको’, ज्ञवालीले भने ।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं, उनले बताए । क्यनडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमती छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ उनले भने ।

काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केहि काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन ।

यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए ।

(तस्बिरमा एनआरएनए क्यानडाका सदस्य ज्ञवालीको साथमा साहिल श्रेष्ठ)