नातिको शिरमा पर्ने श्रीपेच अस्वीकार गरी गणतन्त्रको बाटो यसकारण खुल्ला गरेका थिए राजाले !

नातिको शिरमा पर्ने श्रीपेच अस्वीकार गरी गणतन्त्रको बाटो यसकारण खुल्ला गरेका थिए राजाले !


यदि नाबालक हृदयेन्द्रलाई नै गद्दीमा कायम राखिन्थ्यो भने पनि उनी स्वतन्त्र रुपमा काम गर्ने राजा बन्दैनथे । उनको सबैभन्दा नजिकको नातेदार बाबु र हजुरबुबालाई अयोग्य देखाएपछि उनलाई चलाउने को हुन्थ्यो भनेर यहाँनेर नाम तोकिरहन आवश्यक छैन ।
✍ सन्तोष भुसाल

२०६३ बैशाख ११ गते राति ११ बजे राजा ज्ञानेन्द्रले सातदलिय आन्दोलनको मागबमोजिम विघटित प्रतिनिधिसभा (संसद्) पुनःस्थापना गरिदिए । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरिदिए र २०६३ जेठ ४ गते पुनर्स्थापित संसद्को बैठक आव्हान पनि गरिदिए राजाले ।

नारायणहिटी राजदरबारको कास्की बैठकमा उभिएर गिरिजाप्रसादले पनि नेपाल अधिराज्यको संविधान २०४७ को प्रतिकुल हुनेगरी काम गर्नेछैन भनेर राजाबाट शपथ खाए ।

तत्कालीन समयमा लागू रहेको नेपाल अधिराज्यको संविधान २०४७ को भाग ५ मा श्री ५ सम्बन्धी प्रावधान छ । जुन प्रावधान नेपाल निर्माण गरेको शाहबंशीय राजसंस्थाको परम्परा अनुसारको छ । उक्त प्रावधान अशंसोधनीय भनेर संविधानमै लेखिएको छ ।

तर, पुनर्स्थापित संसद्को पहिलो बैठकले संविधानले अशंसोधनीय भनेका प्रावधानहरु नै संशोधन गरेको घोषणा गर्‍यो । सोही बैठकले राजगद्दीको उत्तराधिकारी राजाको पहिलो सन्तान हुनेछ भनेर समेत घोषणा गर्‍यो । यस घोषणाले छोरीलाई पनि राजगद्दीको उत्तराधिकारी बनाउने प्रष्ट हुन्थ्यो ।

शाह बंशको राजपरिवारमा जन्मिएका भएपनि ती छोरीका सन्तान शाहबंशका हुँदैनन् र, तिनले पृथ्वीनारायण शाहको बंशसंग कुनैपनि सम्बन्ध राख्दैनन् ।

बंश परम्पराबाट चल्दै आएको र पृथ्वीनारायण शाहको बंशजको प्रतिनिधित्व गर्दै आएको राजसंस्थालाई तत्काल फाल्न नसके पृथ्वीनारायणको बंशभन्दा बाहिर लैजान अनि नेपाल निर्माणमा यो बंशको कुनै योगदान नै छैन भन्दै गणतन्त्रमा लैजाने नियोजित चाल चाल्न सम्भव नहुन सक्थ्यो । यसै ठहरका साथ सो घोषणा गरिएको थियो भनी ठोकुवा गर्न सकिन्छ ।

त्यसपछि गिरिजाप्रसादको मुखबाट बेबी किङ्गको अस्त्र फाल्ने काम भयो बाह्य शक्तिकेन्द्रबाट ।

राजा ज्ञानेन्द्र र युवराज पारसलाई अयोग्य देखाएर फालिएको बेबी किङ्गको अस्त्रले युवराज पारसका तीन सन्तानमध्ये सबैभन्दा कान्छा सन्तान हृदयेन्द्रलाई राजगद्दी उत्तराधिकारी बनाउन मिल्दैनथ्यो । किनकि, पुनर्स्थापित संसदले पहिलो सन्तानलाई उत्तराधिकारी बनाउने घोषणा गरेको थियो । बेबी किङ्गको प्रस्ताव त्यही घोषणालाई कार्यान्वयन गराउने योजनाअनुरुप आएको थियो ।

यदि तत्काललाई भ्रमित पार्न हृदयेन्द्रलाई गद्दिमा राखिएपनि पछि ‘कान्छो सन्तान कसरी गद्दीको दाबेदार हुनसक्छ ?’ भन्ने बखेडा झिकेर उनलाई पनि गद्दीच्युत गराइन्थ्यो र, जेठो सन्तानलाई अघि सारिन्थ्यो । यदि नाबालक हृदयेन्द्रलाई नै गद्दीमा कायम राखिन्थ्यो भने पनि उनी स्वतन्त्र रुपमा काम गर्ने राजा बन्दैनथे । उनको सबैभन्दा नजिकको नातेदार बाबु र हजुरबुबालाई अयोग्य देखाएपछि उनलाई चलाउने को हुन्थ्यो भनेर यहाँनेर नाम तोकिरहन आवश्यक छैन । त्यो पनि अर्को खतरा थियो राजसंस्थाको शाहबंशीय परम्पराका लागि । किनकि, राजसंस्थाको नेतृत्व राजपरिवारकै सदस्य भएपनि महिलातर्फ लैजानु भनेको निर्णायकत्व शाहबंशबाट अर्को बंशमा सार्नु हो । अझै प्रष्ट भन्नुपर्दा पृथ्वीनारायण शाहको बंशबाट राजसंस्थालाई अलग गराउनु हो । स्वभावतः त्यस्तो राजसंस्थाको औचित्य पुष्टि हुनै सक्दैनथ्यो ।

जसरी पनि यो खेल अन्त्यमा गणतन्त्रमै पुग्थ्यो ।

यसैकारण राजा ज्ञानेन्द्रले बेबी किङ्गको प्रस्ताव अस्विकार गरेर बरु गणतन्त्रलाई बाटो खोलिदिने निर्णय लिएका थिए । सम्भवतः राजाले त्यसबेला ‘बरु म जनबलमा फर्किने छु’ भन्ने सोच बनाएर दरबारबाट बाहिरिएका थिए ।