नेपाल र नेपालीको हित गरे अत्तालिनु पर्दैन !

नेपाल र नेपालीको हित गरे अत्तालिनु पर्दैन !


राजसंस्था पुनर्स्थापना हुने वा राजा फर्किने भय नभएको भए यत्रा वर्षहरूमा पनि परिवर्तन जोगाउने दुहाई दिनुपर्ने थिएन । राजा फर्कनसक्ने अदृष्य भयको प्रभावले त्यो विदेशीले स्थापना गरिदिन लागेको हल्ला चलाइन्छ । शासकीय मान्यताक्रममा आफूभन्दा तलको विदेशी व्यक्ति आउँदा दर्शनभेटसरह लाग्ने व्यवहार त्यही भ्रम या हल्लाको परिणाम हुनसक्छ ।
✍ स्वयम्भुनाथ कार्की

राष्ट्रको हितभन्दा महत्वपूर्ण अरु कुनै कुरा हुुन सक्दैन । अनि कुनै राष्ट्र केवल भुगोलले मात्र हुँदैन । राजा (शासक), जनता नै राष्ट्र हो । हो यो समुच्चयलाई एकअर्कामा जोड्ने आस्था भने आवश्यक हुन्छ । यो आस्थाले निर्माण गरेको एकता सुत्रको अभावमा त्यो राष्ट्र हुन सक्दैन । यो कसैले आधुनिक युगमा गरेको वा गरिएको परिभाषा नभइ सनातन परम्पराको आधारभूत कुरा हो, परिभाषा हो ।

महाभारतमा खाण्डव वन दहन गरेर बसाइएको इन्द्रप्रस्थ सम्राट युधिष्टिरलाई मान्ने जनताको निमित्त भुगोलको निर्माण थियो । सनातनीहरूको शास्त्र भन्दछ- जनता जनार्दन अर्थात् बिष्णु हुन् र राजा त्यही जनार्दनको अंश ! जनता जनार्दन भनेर भन्ने चलन आज पनि कायम छ । नेपालको एकिकरण गर्ने शाहवंशका पृथ्वीनारायण शाह यदि आफ्नो राज्य गोर्खाका बाह्र हजार घरधुरीका जनताको सम्मति र सहयोगमा नचलेका भए आधुनिक नेपाल सम्भव नै थिएन । यस्तै, गोर्खाका घले राजाहरूले जनताको कुरा सुनिदिएका भए द्रव्यशाह गोर्खाका राजा हुन सक्ने थिएनन् ।

जनतालाई सर्वसुलभ र छिटो न्याय दिएर रामशाहले ‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान नै चलाएका थिए । शाहवंशमा जो समर्थ राजा देखिए सबैले लोकसम्मतिलाई शासनको आधार बनाए । राजा राजेन्द्रले यही कुरा छोड्दा राजा र प्रजाको बीचको सम्पर्कसुत्र कमजोर भयो । उनको यो कमजोरीले नेपाल १०४ वर्षसम्म अस्वभाविक उत्तराधिकार नियम भएको जहानिया शासनको सुरुङमा फस्न वाध्य भयो । सन्तानमा उत्तराधिकार जाने परम्परा तोडेर भाइमा उत्तराधिकार जाने व्यवस्था जंगबहादुरले गरेका थिए । यो त्यो बेला क्रमभङ्ग नै थियो, एक ठूलो परिवर्तन थियो र एक प्रकारको अग्रगमन नै थियो । राजालाई दायरामा बाँधेर केवल भनेको ठाउँमा लालमोहर लगाउनैपर्ने गरिएको थियो । यो नै अलङ्कारिक राजाको प्रयोग थियो जो बेलाइतपछि सम्भवत नेपालमै भएको थियो । अन्यत्रका अलङ्कारिक राजा सम्भवत त्यसपछिका हुन् ।

नेपालमा अनेकौँ पटक सत्ता र व्यवस्था परिवर्तन भए । हरेक श्री ३ ले लिखित नियम अत्यन्त कम र हुकुमी नियम ज्यादा चलाए । त्यसबेला राणा शासनका प्रवर्तक श्री ३ जंगबहादुर राणाले बनाएको मुलुकी ऐन १९१० भने कायमै थियो । यसैले ती हरेक व्यक्ति परिवर्तन व्यवस्था परिवर्तनसरह थिए । जंगबहादुर, चन्द्र शम्सेर र जुद्धशम्सेर बाहेक अरु राणा श्री ३ वर्तमानमा इतिहासकार बाहेक अरुले सम्झेको छैन । वीर अस्पताल अनि वीरगञ्जले पनि वीर शम्सेर सम्झाउन्न । किनभने उनका यी कीर्तिहरू जनताको हितको भन्दा जनतालाई गुन लगाउने प्रयोजनले भएका थिए । जंगबहादुर लगायतकाले केही मात्रामा भए पनि आफूलाई जनतासँग जोडेका थिए । नियम-कानुनमा जे भए पनि आवश्यकताको सिद्धान्त भनेर आफूखुशी गर्ने वर्तमान केही दशकदेखिको प्रवृत्ति पनि त्यही श्री ३ हरूको पदचिन्ह हो ।

राजसंस्था पुनर्स्थापना हुने वा राजा फर्किने भय नभएको भए यत्रा वर्षहरूमा पनि परिवर्तन जोगाउने दुहाई दिनुपर्ने थिएन । राजा फर्कनसक्ने अदृष्य भयको प्रभावले त्यो विदेशीले स्थापना गरिदिन लागेको हल्ला चलाइन्छ । शासकीय मान्यताक्रममा आफूभन्दा तलको विदेशी व्यक्ति आउँदा दर्शनभेटसरह लाग्ने व्यवहार त्यही भ्रम या हल्लाको परिणाम हुनसक्छ । अनेकौँ नयाँ सङ्गठनहरू गठन गरिएका छन् संरचनाहरू तैयार गरिएका छन् । तर तिनीहरूमा जनता र राष्ट्रको हितको निमित्त काम गर्ने कार्यक्रम दिने हविगत, ल्याकत देखिएको छैन । जनताको दैनिकीमा असर गर्ने बस्तुहरूको अभाव हटाउनुभन्दा भाषण गर्नु, कुचो लगाउनु अनि प्लास्टिक टिप्नु महत्वपूर्ण काम भएको छ । स्वदेशमा रोजगारी श्रृजना गर्ने कुरा भाषणमा मात्र सीमित छ ।

यसर्थ, राजा महेन्द्रको कार्यकाल र त्यसमा भएका जनकल्याणका कुराहरूको चर्चा जनताले गर्दैछन् । गणतन्त्र बचाउने हो भने नेपाल र नेपालीको हित सबैभन्दा ठूलो मानेर काम गरे हुन्छ । राजा फर्किने वा उपलब्धि गुम्ने हाउगुजीको आवश्यकता छैन । उसै पनि परिवर्तनबाट आफूलाई कुनै उपलब्धि भएको मान्नेहरूको सङ्ख्या दिनैपिच्छे घट्दै गएको जगजाहेरै छ !