रामले दाइजो स्वीकार गर्नुहोला र ?

रामले दाइजो स्वीकार गर्नुहोला र ?


मर्यादावाला प्रसङ्गले महिलाहरूलाई अलिकति आकर्षित गरेपनि रामजस्तो अर्काले शङ्का गर्दैमा पत्याएर सजाय दिलाउने पति चाहिएको छैन, तर पुरुषहरूलाई भने अहिले पनि सीताजस्तै पत्नी चाहिएको छ- सुन्दर, सुशील, सहनशील… !
✍ बबिता बस्नेत

अयोध्यामा राम मन्दिरको निर्माण र रामको प्राण प्रतिष्ठासँगै भारत अहिले राममय बनेको छ । रामको प्राण प्रतिष्ठाको भब्य तयारी भइरहँदा रामकी पत्नी सीताको माइतीघर नेपालको जनकपुरबाट सुनचाँदीका गहना, लत्ता-कपडा, आभुषण, विभिन्न प्रकारका खानेकुरा, फलफुल, फर्निचर, भाँडावर्तनलगायतका सामानहरू अयोध्या लगियो । सीताको माइतीको प्रतिनिधित्व गर्दै जानेहरूले राम-सीताको सयनकक्षमा राख्नका लागि खाटसमेत लगेका छन् । तथापि ती सामाग्रीहरूले त्यो भब्य मन्दिरमा स्थान पायो/पाएन, कहाँ स्थान पायो नेपालीहरूलाई जानकारी मिल्न सायद समय लाग्नेछ । नेपाली समाजमा दाइजोको रूपमा छोरीलाई दिँदैआएका सामाग्रीहरू रामले पनि ज्वाइँका रूपमा प्राप्त गरेका छन् । जुन दाइजोको विरोध सभ्य र समतामुलक समाजको परिकल्पनाकारहरूले गर्दै आएका छन् ।

राजा जनकले आफ्नी छोरी सीताको विवाह दाइजो दिएर गरेका थिएनन् । त्रेता युगका भगवान् रामले धनुष-बाण उठाउने प्रतिस्पर्धामा विजयी भएर सीतालाई प्राप्त गरेका हुन् । विवाह गर्दा अहिलेजस्तो छोरीपक्षले छोराको घरमा कार्पेट, पर्दा हुँदै टेलिभिजनदेखि सुत्ने खाटसम्म दिएर सीताको विवाह गरिएको थिएन । आफू सुत्ने पलङसमेत पत्नीले माइतीबाट ल्याउनुपर्ने समाजमा पुरुषको के इज्जत रहन्छ ? आत्मसम्मान भएको कुनैपनि पुरुषले दाइजो स्वीकार गर्न सक्दैन । राम आत्मसम्मानले भरिएका राजा थिए, उनलाई पत्नीको माइतबाट दाइजोमा दिने गरिएका सामानहरू पुऱ्याउनु सही हो जस्तो लाग्दैन । अयोध्यामा त्यति ठुलो कार्जे (कार्य/कर्म) हुँदा कुनै विशेष उपहार लानु स्वभाविक भएपनि दाइजोको झल्को दिने सामानहरू नलगिएको भए हुन्थ्यो । सीता राजा जनककी छोरी मात्र होइनन्, नेपाल राष्ट्रकी राष्ट्रिय विभूति पनि हुन् । राजा भएपनि सांसरिक मोहबाट मुक्त राजर्षी जनक पनि नेपालका राष्ट्रिय विभूति हुन् । आफ्नै शान, मान भएकी सीताको माइतीको तर्फबाट अयोध्यामा जे-जे लगेपनि दाइजोलाई प्रश्रय दिने सरसामान, सुत्ने खाट र फर्निचरहरू चाहिँ नलगेको भए हुन्थ्यो ।

समाजमा बहुविवाह सामान्य थियो । राजा दशरथकै तीनवटी पत्नी थिए । श्रृङ्खलावद्ध विवाह गर्न सक्नुलाई मर्दाङ्गी ठानिन्थ्यो । त्यस्तो बेलामा रामले एक पत्नीमा सीमित रही मर्यादा कायम राखेकाले उनलाई पुरुषहरूमा उत्तमको संज्ञा दिँदै मर्यादा पुरुषोत्तम भनियो ।

सीता र रामको जोडीलाई आदर्श मान्ने गरिएपनि मानसिक हिंसाको सुरुवात सीताकै पालामा भएको थियो । कर्तब्यपरायण रामसँगै वनबास गएपनि सीताले बिनाकसूर अग्निपरीक्षाबाट गुज्रनुपऱ्यो । राजा बन्नुपर्ने बेलामा बाबुको आज्ञा पालन गर्दै १४ वर्ष वनबास गएकाले रामलाई कर्तब्यपरायण मानिएको हो । उनका ठाउँमा अरु सन्तान भए विद्रोह गर्ने थिए ! राजा दशरथले पत्नी कैकेयीको दबाबमा परेर छोरालाई वनबास पठाउन बाध्य भएपछि ‘तिमी मसँग बरु विद्रोह गरेर राज्य लेउ, राजकाज चलाउ तर वनबास नजाउ’ भन्दा रामले कैकेयी पनि मेरी आमा नै हुन्, आज्ञाको पालना गर्नु मेरो धर्म हो भनेर जङ्गल गए । बाबुआमाको आज्ञालाई आफ्नो कर्तब्य ठान्ने भएकाले उनलाई कर्तब्यपरायण भनिएको हो । रामले पाएको अर्को उपमा हो ‘मर्यादा पुरुष’ । मर्यादाको कसी महिलामा मात्रै लागु हुने र जे-जे गरेपनि, केही नगरेपनि पुरुष भनेको पुरुष नै हो भन्ने मान्यता रहेको तात्कालीन समाजमा पुरुषले धेरै महिला विवाह गर्ने चलन थियो । आफ्नै बाबु राजा दशरथका तीनवटी पत्नी थिए । समाजमा बहुविवाह सामान्य थियो । श्रृङ्खलावद्ध विवाह गर्न सक्नुलाई मर्दाङ्गी ठानिन्थ्यो । त्यस्तो बेलामा रामले एक पत्नीमा सीमित रही मर्यादा कायम राखेकाले उनलाई पुरुषहरूमा उत्तमको संज्ञा दिँदै मर्यादा पुरुषोत्तम भनियो ।

भगवान् रामलाई आफूप्रति आफ्नी पत्नीको समर्पणका बारेमा जानकारी नहुने कुरै भएन । सबै कुरा जानकारी हुँदाहुँदै पनि समाजले प्रश्न उठाउँदा प्रतिकार गर्न नसक्ने वातावरण कसरी बन्यो होला ? कतिले यसलाई जनताले प्रश्न उठाएपछि राजधर्मको पालना गरेको पनि भन्ने गरेका छन् । कसैले आफ्नी पत्नीको चरित्रमाथि शङ्का गर्दा कम्तिमा आफ्नो पतिले साथ दिने अवस्थाको सिर्जना गरिएको भए अहिलेसम्म तमाम महिलाहरू शंकाको सिकार हुनु पर्ने थिएन कि ? यद्दपि रावणले अपहरण गरेर लगेपछि रामले जुन रूपमा दिलोज्यान दिएर पत्नीको खोजी गरे त्यो सानो कुराचाहिँ होइन । जे हुनु भइहाल्यो भनेर अर्को विवाह गरेर बस्न पनि सक्थे तर त्यसो नगरी आफ्नो सारा शक्ति लगाएर सीतालाई फिर्ता ल्याए । जसलाई जीवनसाथीका लागि गरिएको एउटा ठुलो भरोसायोग्य कदम मान्न सकिन्छ ।

रामको पूजाआजा छोरा या ज्वाईंको रूपमा नभएर भगवानको रूपमा गरिने भएकाले नेपालबाट पूजा सामाग्री लानु स्वभाविक हो । तर ससुरालीबाट ल्याएको दाइजोचाहिँ उहाँले स्वीकार गर्नुहोला जस्तो लाग्दैन ।

सीताले रामका लागि सकेको त्याग गरिन् । राजकुमारीका रूपमा हुर्किएकी उनले गेरुबस्त्र लगाएर रामसँगै वनबासको यात्रा गरिन् । सीतालाई रावणले लङ्कामा राखुञ्जेल राम पनि जङ्गलमा एक्लै थिए । तर रामको अग्निपरीक्षाको माग कसैले गरेन । धोबी अर्थात् सर्वसाधारणले कुरा काटे भनेर गर्भवती सीतालाई जङ्गल पठाइयो । दुःखको के सीमा थियो र ? जङ्गलमै सीताले जुम्ल्याहा छोरा जन्माइन् । समयक्रममा आफ्ना बच्चाहरू लिएर फर्किएपछि फेरि उनलाई अग्निपरीक्षा दिन भनियो । पटक-पटकको शङ्का र अविश्वासपछि अन्ततः सीताले ‘अब म थाकेँ, हे धर्तीमाता मलाई लैजाउ’ भनिन् । पृथ्वी फाट्दै गर्दा आवाज आयो- ‘यो संसार तिमीजस्ताका लागि उपयुक्त छैन, आउ मसँग ।’ उनी संसारबाट विलीन भइन् । हजारौँ वर्षदेखि हामीले आदर्श मानिरहेका यी दुई पात्र राम र सीतालाई लिएर कुरा गर्दा महिलाहरूलाई मर्यादावाला प्रसङ्गले अलिकति आकर्षित गरेपनि रामजस्तो अर्काले शङ्का गर्दैमा पत्याएर सजाय दिलाउने पति चाहिएको छैन, तर पुरुषहरूलाई भने अहिले पनि सीताजस्तै पत्नी चाहिएको छ, सुन्दर, सुशील, सहनशील… ।

रामबाट सिक्नैपर्ने कुरा के हो भने जस्तोसुकै आपद् विपद्लाई सहन सक्ने क्षमता थियो । देश र जनतालाई उनले सर्वोपरि ठाने । मुलुकको हितको अगाडि परिवार, नातागोता गौण बन्न पुगे । जनताको चाहनालाई नै आफ्नो इच्छा ठाने र उनीहरूमध्ये कसैलाई पनि अन्याय नहोस् भन्ने कुरामा सधै सचेत रहे । राम आदर्श पति नभएपनि सफल राजा हुन् । आफ्नै पत्नीमाथि न्याय गर्न नसकेपनि न्यायिक राज्यको निर्माण गरेर तात्कालीन जनताको मनमा मात्र नभइ अहिलेसम्म पनि मानिसहरूको मन-मष्तिष्कमा बस्न सक्नु रामको जिन्दगीको सबैभन्दा ठुलो सफलता हो । रामायणका यिनै पात्र भगवान् श्री रामको अहिले अयोध्यामा प्राण प्रतिष्ठा गरिएको छ । रामको पूजाआजा छोरा या ज्वाईंको रूपमा नभएर भगवानको रूपमा गरिने भएकाले नेपालबाट पूजा सामाग्री लानु स्वभाविक हो । तर ससुरालीबाट ल्याएको दाइजोचाहिँ उहाँले स्वीकार गर्नुहोला जस्तो लाग्दैन ।