राममन्दिरले जगाएको सांस्कृतिक राष्ट्रवाद

राममन्दिरले जगाएको सांस्कृतिक राष्ट्रवाद


छिमेकी मुलुक भारतमा बढ्दो सांस्कृतिक राष्ट्रवाद छ, तर नेपालमा भने राष्ट्रवादको नाममा केवल भारतको निरपेक्ष विरोध छ । त्यो पनि यिनै वामपन्थी शक्तिहरूबाट जो नेपालको संस्कृति इसाइहरूलाई बेच्न तयार छ । तसर्थ, नेपालको राष्ट्रवादलाई पुनः परिभाषित गर्न जरुरी भइसकेको छ ।
✍ उज्वल उत्सर्ग

१६औँ शताब्दीमा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा प्रथम मुगल शासक बाबरले बनाएको मस्जिद विगत पाँच सय वर्षदेखि विवादमा थियो । यसलाई बाबरी मस्जिद भनि चिनिन्थ्यो । लडाका शासक बाबरले शक्तिको बलमा रामजन्मभूमिमा उक्त मस्जिद बनाएको भनि हिन्दुसमुदायले प्रतिवाद गर्दै आएका थिए । तर १६औँ शताब्दीमा स्थापित भएका मुगलहरूले १८औँ शताब्दीसम्म भारतमा शासन गरे । त्यसबखत हिन्दुहरूको केही चलेन । त्यसपछि ब्रिटिशको अधीनस्तमा गयो भारत । ब्रिटिशहरूले त झन् ‘फुट डालो और शासन करो’ भन्ने कपटपूर्ण नीतिबमोजिम यस्ता गैरक्रिश्चियन धार्मिक विवाद वा सम्प्रदायिक मुद्धाहरूलाई झन्-झन् उचाल्न थाले भनि हिन्दू विद्वान्हरूको आरोप छ ।

ब्रिटिशहरूको पतनपछि भारतमा भारतीयहरूको शासन त आरम्भ भयो तर पश्चिमा विरासतकै निरन्तरताको रूपमा रहेको भारतीय काङ्ग्रेसको हातमा भारतको शासन गयो । महात्मा गान्धी एवम् जवाहरलाल नेहरू जस्ता कट्टर धर्मनिरपेक्षतावादी नेताहरू मुस्लिमहरूप्रति ज्यादै नै ‘सफ्ट लाइनर’ थिए भनि एकथरी भारतीय हिन्दूहरूको आक्षेप छ । यसैको परिणामस्वरुप लामो समयसम्म विवादमा रहेको बाबरी मस्जिदको कुनै समाधान निस्कन सकेन । तर विश्व हिन्दु परिषद्, राष्ट्रिय स्वयम्सेवक सङ्घ, बजरंग दल एवम् भारतीय जनता पार्टीहरूको जेहादी आह्वानमा लाखौँ जनता सडकमा उत्रिएर विवादित मस्जिदलाई सन् १९९२ को डिसेम्बर महिनामा ध्वस्त गरियो । पाँच सय वर्षको इतिहास बोकेको उक्त ‘धरोहर’ धुलिसात हुन पुग्यो । त्यसपछि यो मुद्दा लामो समयसम्म अदालतमा रह्यो । तर संयोग हो वा नियोजित…, सन् २०१४ मा नदेन्द्र मोदीले सत्ता सम्हालेपछि सन् २०२० मा अदालतले राममन्दिरको पक्षमा निर्णय दियो । त्यसपश्चात मोदीकै अगुवाइमा सम्मुन्नत भारतीय वास्तूकलामा आधारित विशाल मन्दिरको संरचना निर्माणको काम अघि बढ्यो ।

नवनिर्मित उक्त मन्दिरको मुर्तिमा जनवरी २२ मा प्राणप्रतिष्ठा गर्न भनी विश्वकै ध्यान खिच्ने गरि ऐलान भयो । यो समान्य एउटा धार्मिक परिघटना मात्र होइन, बरु यो एउटा वैश्विक राजनीतिक घटना पनि हो । इतिहासले छायामा पार्न खोजेको हिन्दु सांस्कृतिक राष्ट्रवादलाई मोदीको नेतृत्वले पुनः जागृत गराउँदै लगेको अनुभूति हुँदैगएको छ । अन्य धर्मावलम्बीको दृष्टिमा मोदी खलपात्र भए पनि भारतीय हिन्दुहरूको नजरमा उनी एक प्रतापी शासक सावित हुँदैगएका विश्लेषणहरू सुन्न पाइन्छ । आज उनको तुलना भारतका चक्रवर्ती धार्मिक एवम् राजनीतिक व्यक्तित्वहरू, आदी शंकराचार्य, सम्राट अशोक, पुष्यमित्र सूङसँग भइरहेको छ ।

आठौँ शताब्दीमा दक्षिण भारतको केरलामा ब्राह्मण कुलमा जन्मिएका आदी शंकराचार्य धार्मिक एवम् अध्यात्मिक दार्शनिक थिए । उनले वेदान्त दर्शनको माध्यमबाट सनातनी धर्मलाई परिभाषित एवम् व्यवस्थीकृत गरे । विविधताले भरिएको सनातनी परम्परालाई एकताबद्ध पारि एकीकृत सनातनी परम्पराको विधिवत प्रारम्भ गरेर सनातनी कर्मकाण्डको व्यापकीकरण गरे । आज हिन्दु धर्मको सर्वोच्च पद उनकै नाममा रहन गएको छ ।

शुरवीर मौर्य सम्राट अशोक पनि अत्यन्तै धार्मिक बने । यिनको पालामा बुद्ध धर्मको व्यापक प्रचारप्रसार भएको थियो । भारत, नेपाललगायत सिङ्गो भारतवर्षमा यिनले करिब ८४ हजार बुद्ध स्तूपा एवम् मठ-गुम्बाहरूको निर्माण गराएका थिए । भारतवर्षमा यिनको कार्यकाललाई बौद्ध धर्मको स्वर्णयुग भनिन्थ्यो । सम्राट अशोक भारतका लागिमात्र नभइ नेपालका लागि पनि महत्वपूर्ण व्यक्तित्व हुन् । उनले लुम्बिनीमा निर्माण गरिदिएको शिलालेखलबाट नेपालमा बुद्ध जन्मिएको प्रमाणिकता भेटियो । यतिमात्र नभइ काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरू जस्तो चावहिल र पाटनका कैयौँ स्तुपाहरू उनकै पहलमा बनेको थियो भनी अप्रमाणिक तथ्यहरू पाइन्छ ।

यसैगरी, भारतको अर्का युगान्तकारी राजनीतिक व्यक्तित्वको नाम पुष्यमित्र सुङ थियो । सैनिक ‘कू’मार्फत उनले मौर्य शासनको अन्त्य गरिदिएका थिए । त्यसपश्चात भारतमा बौद्धधर्म पतनोन्मुख भयो भनी इतिहासकारहरू बताउने गर्दछन् । उनी पनि एक ब्राह्मण परिवारबाटै थिए । यिनको समयमा भारतमा सनातनी वेदमार्गी र बौद्ध धर्मबीच निक्कै सङ्घर्ष भएको थियो । सायद सुङ नरहेका भए उत्तरभारत आज पूरा बौद्धमय हुनेथियो भनिन्छ । प्राचीन समयमा आदी शंकराचार्यपछि सुङले नै सनातनी (हिन्दु) धर्मको अक्रामक प्रवर्द्धन गरेका थिए भन्दा अतिशयोक्ति नहोला ।

इतिहासले छायामा पार्न खोजेको हिन्दु सांस्कृतिक राष्ट्रवादलाई मोदीको नेतृत्वले पुनः जागृत गराउँदै लगेको अनुभूति भएको छ । हिन्दुहरूको नजरमा उनी एक प्रतापी शासक सावित भएका छन् । आज उनको तुलना भारतका चक्रवर्ती धार्मिक एवम् राजनीतिक व्यक्तित्वहरू, आदी शंकराचार्य, सम्राट अशोक, पुष्यमित्र सूङसँग भइरहेको छ ।

हजारौँ वर्षपछि भारतले एउटा अर्को सुङ पाएको छ र, उनको नाम हो- नरेन्द्र दामोदर दास मोदी । फरक यत्ति हो कि सुङ बौद्धविरोधि मानिन्थे भने मोदी इस्लामविरोधि मानिन्छन् । मोहम्मद गोरीदेखि बहादुर शाह जफरसम्म सयौँवर्ष मुस्लिम शासकहरूले भारतमा राज्य गरेका थिए । यसै दौरानमा हिन्दु र बौद्धविरुद्ध उनीहरूबाट धार्मिक असहिष्णुता, अभद्रता एवम् अपमानपूर्ण शासन भएको थियो भनी जानकारहरू बताउँछन् । यसैक्रममा बाबरले बलजफ्ती रामजन्मभूमिमा मस्जिद बनाएका हुन् भन्ने उनीहरूको तर्क छ ।

जे होस्, आज पासा पल्टिएको छ । ‘वक्त वक्त की बात है’ भनेझैँ समय आज हिन्दुहरूसँग छ । भारतमा मोदीनेतृत्वले ‘हिन्दु सांस्कृतिक राष्ट्रवाद’को जोडदार पक्षपोषण गरिरहेको छ । उनको नेतृत्वले अयोध्यालाई एउटा अत्याधुनिक सांस्कृतिक शहरमा रुपान्तरण गर्न खोजिरहेको छ । यसअन्तर्गत करिब ३.७ विलियन अमेरिकी डलरको लगानीमा १५० वटा जति विकासका आयोजनाहरू पर्दछन् । अन्तर्राष्ट्रिय विमानस्थल, चार लेनको नेशनल हाइवे, सुधारिएका रेल्वे स्टेशनहरू धमाधम बनाइँदै छ । यसप्रकार राम मन्दिरको निर्माणले भारतमा विकाससँगै सांस्कृतिक राष्ट्रवाद जागृत गराएको छ । परन्तु नेपालमा भने ठिक यसको विपरीत भइरहेको देखिन्छ ।

जनसङ्ख्या प्रतिशतका आधारमा भारतमा जति नै नेपालमा पनि करिब ८० प्रतिशत जनता हिन्दु धर्मावलम्बी छन् । सन् २००८ मा मात्र धर्मनिरपेक्ष भएको नेपाल राष्ट्रलाई अहिले पनि ‘डि फयाक्टो हिन्दुु नेशन’ नै भन्ने गरेको पाइन्छ । दुर्भाग्य ! यो देशको सनातनी संस्कृतिमा विचलन ल्याउन खोजिँदै छ । दिन-प्रतिदिन सनातनीहरूको सङ्ख्या घट्दो छ । उदाहरणका लागि २०६८ सालको जनगणनाअनुसार नेपालमा बौद्धमार्गीहरूको सङ्ख्या ९ प्रतिशत थियो । यो अहिले घटेर ८.२१ प्रतिशत भएको छ । त्यसैगरी, २०७८ सालको जनगणनाले इसाइहरूको जनसङ्ख्या करिब ०.३६ प्रतिशले बढेको देखिन्छ । जनजाती समुदायको बाहुल्यता रहेको बौद्ध धर्मावलम्बीहरू प्रलोभनमा परेर धमाधम इसाइ धर्ममा ‘कन्भरजन’ भइरहेको प्रष्टसँग बुझ्न सकिन्छ । यस्तै प्रलोभनमा परेर भारतका आदीवासीहरू पनि इसाइ धर्ममा ‘कन्भर्ट’ हुनेगरेका थिए । तर मोदी शासनमा आएपछि त्यहाँको गृहमन्त्रालयले त्यस्ता सबै गैरसरकारी संस्था, एनजिओमाथि विदेशी फण्डिङ रोकेको थियो । तर नेपालमा त्यस्ता एनजिओहरूमा यहाँका वामपन्थी नेताहरू नै आश्रित देखिन्छन् ।

इसाइहरूको चाहनामा दुई तिहाइको नेकपाको ओली सरकारले नै ‘युपिएफ’ कार्यक्रमको सञ्चालन गरेको इतिहास छ । अर्का माओवादी नेता मन्त्रीको हैसियतमा चर्च उद्घाटन गर्न पुग्छ । केही काङ्ग्रेसी नेताहरूको समेत चर्च कनेक्सन रहेको सुनिन्छ । पशुपति विकास कोष र लुम्बिनी विकास कोषमा विवादस्पद व्यक्तिहरूको नियुक्ति हुन्छ । वामपन्थी नेता एवम् पर्यटन तथा संस्कृतिमन्त्री सुदन किरातीले खुलेरै इसाइधर्मको संरक्षक आफूहरू भएको दाबी गरिरहेको पाइन्छ, तर सरकार मौन छ । यस्तै नेतृत्वमा मुलुकलाई छाडिदिने हो भने इसाइहरूले गरेका प्रक्षेपण बमोजिम सन् २०५० सम्ममा नेपाल प्रोटेस्टेण्ट इसाइ राज्य नहोला भन्न सकिन्न ।

उता छिमेकी मुलुक भारतमा बढ्दो सांस्कृतिक राष्ट्रवाद छ, तर नेपालमा भने राष्ट्रवादको नाममा केवल भारतको निरपेक्ष विरोध छ । त्यो पनि यिनै वामपन्थी शक्तिहरूबाट जो नेपालको संस्कृति इसाइहरूलाई बेच्न तयार छ । तसर्थ, नेपालको राष्ट्रवादलाई पुनः परिभाषित गर्न जरुरी भइसकेको छ । भौगोलिकतामा मात्र आधारित राष्ट्रवाद अब सांस्कृतिकतामा पनि आधारित हुनुपर्छ । भूगोल र संस्कृति दुवै उत्ति नै प्यारो हुन्छ । संस्कृतिबिनाको भौगोलिक राष्ट्रवाद नुनबिनाको तरकारी जस्तो हुन्छ । शाह राजाहरूले नेपालको भुगोल बनाए, राणाजीहरूले भुगोल बचाए, अब नेपालको संस्कृति बचाउन कुनै आदी शंकराचार्य, सम्राट अशोक, पुष्यमित्र सुङ वा नरेन्द्र मोदी नेपाललाई पनि चाहिएको छ । विश्वास छ- कोही त जन्मिएको छ । जय नेपाल !