नवलपरासी सुस्तामा नाति र हजुरबुबाको हत्या

नवलपरासी सुस्तामा नाति र हजुरबुबाको हत्या


  • आरपी उपाध्याय, पश्चिम नवलपरासी

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेहरुमा सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने वर्ष ६५ का यक्षलाल चमार र निजको नाति ११ वर्षका गौचरण चमार रहेका छन् । उनीहरुको घरदेखि ५ सय मिटर दक्षिणतर्फ मृत शरीर फेलापरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचनाअधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक हजुरबुबा र नातिको शव हेर्दा हत्या गरेजस्तो प्रकृति रहेको र, अज्ञात व्यक्तिबाट धारिलो हतियारको प्रयोग गरि हत्या भएको आशंका गरिएको छ।

सुस्ताको मर्चहवा टोलमा बस्ने हजुरबुबा यक्षलाल र नाति गौचरण घरदेखि दक्षिणतर्फ नारायणी नदीको ठोक्कर नं. ५ स्थित ठाउँमा विगत ४र५ वर्षअघिदेखि नै सिमेन्टको कच्ची खपडोले छाएको चाप्रोमा बसि खेतिपातिको काम गर्दै आएका थिए ।

मृतक दुवैको शव अन्दाजी २५ मिटरको दूरीमा रहेको स्थानीयले दिएको जानकारीलगत्तै जिल्ला प्रहरी कार्यालय परासीबाट प्रहरी उपरीक्षक कुमारकाजी आचार्यको कमान्डमा घटनास्थलमना प्रहरी टोली पुगेको थियो । प्रहरीले तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।