विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय

विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय


नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ ।

सैनिक श्रीमती सङ्घको पहलबाट सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित उक्त विद्यालयमा आगामी शैक्षिक सत्रबाट ३० जना बालबालिका भर्ना गरी पठनपाठन आरम्भ गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माबाट उद्घाटन गरिएको उक्त विद्यालय करिब १५ महिनाअघि शिलान्यास गरिएको थियो ।

भवन समुद्घाटन समारोहमा प्रधानसेनापति शर्माले बहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका विशेष क्षमता भएका सन्ततिको शिक्षा र जीवनोपयोगी क्षमता विकासमा विद्यालय महत्वपूर्ण सावित हुने बताए । विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुरसन्ध्यामा सहयोग पु¥याउने कलाकारलगायत सम्बद्ध सबैलाई उनले धन्यवाद दिए ।

सङ्घकी अध्यक्ष शर्माले विसं २०४० कात्तिक २२ गते स्थापित सैनिक श्रीमती सङ्घ सैनिक व्यक्तिका परिवारको कल्याण सँगसँगै विपद्प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको बताइन् ।