शिक्षाका ज्योति आबाल व्रह्मचारी षडानन्द अधिकारी र उनको योगदान

शिक्षाका ज्योति आबाल व्रह्मचारी षडानन्द अधिकारी र उनको योगदान


राणा शासकहरु आबाल व्रह्मचारी षडानन्दको अनुशरण गर्नु आफ्नो धर्म ठान्दथे । त्यसैले १९३४ सालमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला काठमाडौंमा खुल्यो । यसरी नै राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने सरकारी घोषणा पनि भयो ।
✍ श्याम लम्साल

षडानन्द अधिकारीको जन्म वि.सं. १८९२ साल मार्ग महिनाको शक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो । यीनको पिताको नाम लक्ष्मीनारायण अधिकारी तथा माताको नाम रुक्मिणी हो । यिनको न्वारनको नाम षडानन्द हो भने चल्तीमा पनि षडानन्द नै रहेको छ । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो भने पछि गएर आबाल व्रह्मचारी, व्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि यिनका सान्निध्यका शिष्य र भक्तहरु बालागुरु, गुरु महाराज भन्न रुचाउँथे । मातापिताका यी कान्छा सन्तान हुन् । गर्भमा हुँदै पिताको स्वर्गबास भएको हुँदा गर्भे टुहुरा यिनको स्याहारसुसार आमा, दाजु र दिदीले गरेका थिए ।

यिनको ८ वर्षको उमेरमा यज्ञोपवित संस्कार भयो । यज्ञोपवित संस्कार भएपछि यिनी घरबार छोडी विद्याध्ययनका लागि परदेश लागेका हुन् । सर्वप्रथम यिनले जनकपुरको व्रह्माचार्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गरे । षडानन्दले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितहरुको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरेको बुझिन्छ । धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्हरुको संगतमा चण्डी, गीता, ज्योतिष तथा वेदादिको अध्ययनकै क्रममा त्यहाँबाट यिनी बनारस गए । बनारसमा यिनले मुमुक्षु भवनमा बसेर पढेका हुन् भनिन्छ । त्यहाँ आफ्नो अध्ययनलाई अझ गहन रुपमा अगाडि बढाए ।

बनारसमा षडानन्दले अध्ययनका साथै योग-साधना समेत गरेको देखिन्छ । योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए । षडानन्दका त्यसबेलाका शिष्यहरुको भनाई अनुसार यिनले चौबीसपटक गायत्री पुरश्चरण गरेका थिए । यसैक्रममा यिनले बाग्मती किनार, पत्थर, घट्टामा बसी तपस्या गरेका थिए, भनिन्छ । त्यस्तै यिनले देवघाट हुँदै केही वर्ष पोखराको सेती किनारमा बसेर पनि अष्टाङ्ग योग-साधना गरेको चर्चा सुनिन्छ । यिनी एउटै थलोमा ३ वर्षसम्म बसेर अनेकन् कष्टप्रद साधना तथा तपश्चर्या गर्थे भन्ने भनाई छ ।

यिनी पट्टल बाँधेर योग-साधनामा रहँदा भुइँबाट एक हात माथि आकाशमा समेत उठ्तथे, भनिन्छ । यिनी आफ्नो अध्ययन पूरा गरी योग-साधकका रुपमा स्थापित भएपछि आजीवन व्रह्मचार्यमा रहेर मातृभूमिका लागि केही गर्न वि.सं. १९३१ सालमा आफ्नो जन्मस्थल दिङ्ला फर्के ।

विद्यालय स्थापना :

बालागुरु षडानन्दले वि.सं. १९३२ साल चैत्र शुक्ल रामनवमी, सोमबारको शुभ-साइतमा दिङ्ला भन्झ्याङ्को रमणीय उच्चस्थल कैलाशमा स्थानीय जनताको सकृय सम्लग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । प्रारम्भमा आफैँले अध्यापन कार्य पनि संचालन गरेका थिए । भनिन्छ- त्यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको आसाम तथा सिक्किमका समेत विद्यार्थीहरु आई अध्ययन गर्दथे ।

जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो । त्यस विद्यालयमा वेद, साहित्य, व्याकरण तथा ज्योतिषको अध्ययन-अध्यापनका लागि छुट्टाछुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो । त्यसैगरि विद्यार्थी र शिक्षकका लागि थप अध्ययन गर्न पुस्तकालयको व्यवस्था समेत गरिएको थियो । केही दुर्लभ ग्रन्थहरु यद्यपि त्यहाँ सुरक्षित रहेका छन् ।

गुठी व्यवस्था :

कुनैपनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतिपूर्ण हुन्छ, त्यति नै त्यसको संरक्षण तथा अनन्तकालसम्म संचालन गर्ने व्यवस्था गर्नु पनि चुनौतिपूर्ण हुन्छ । आबाल व्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, विद्यालय, पुस्तकालय, बरबगैँचा कार्यको सुचारु रुपले संरक्षण होस् भनेर एउटा वृहत् गुठीको पनि स्थापना गरे । गुठीका नाउँमा लालमोहर पनि गराए । त्यस समयमा नै १०००/१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरे । २०३६ सालको नापी अनुसार सो गुठीको क्षेत्रफल १७५३ रोपनी रहेको बुझिएको छ । यिनले त्यस खेतको आम्दानीबाट त्यस मन्दिरको संरक्षण र पूजनादि कार्य गर्ने, त्यस खेतको आम्दानीबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने, पर्व-पर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि यस खेतबाट यति खर्च व्यहोर्ने आदि कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर राख्ने व्यवस्था गरे । उक्त किसिमको अभिलेख राख्नका लागि काठमाडौंबाट रत्नमान शाक्य भन्ने कलाकार लगी गुठीयार, दाताहरुलाई स्पष्ट विवरण तयार पारी शिलालेखमा अंकित गराउने काम पनि गरे ।

आबाल व्रह्मचारी षडानन्द कति दूरदर्शी र व्यवस्थापकीय दृष्टि भएका व्यक्तित्व थिए भन्ने कुरा आजसम्म सो व्यवस्था जीवन्त रहनुले पनि बुझ्न सकिन्छ । अहिलेसम्म पनि उनले गरेको व्यवस्था अनुसार त्यहाँको विद्यालय संचालन, पूजाआजा र पुराण प्रवचन भइरहेको छ । यहाँसम्म कि उनले भगवान्लाई पहिऱ्याउने लुगाको विषय समेत लेखाएका छन् ।

विद्यालय स्थानान्तरण :

विद्यार्थी संख्यामा प्रशस्त वृद्धि हुन थालेपछि वि.सं. १९५५ मा कैलाश डाँडाबाट विद्यालयलाई भन्झ्याङको समतल र केही फराकिलो ठाउँमा स्थानान्तरण गरियो । त्यसपछि सोही विद्यँलय परिसरमा उत्तरतर्फको चोकमा गुम्बज शैलीका कलात्मक दुई गुम्बज जोडिएका युग्म मन्दिरमा पूर्वपट्टि शिवपाञ्चायनका रुपमा षडेश्वर र पश्चिमपट्टि राम मन्दिर निर्माण गरी तिनमा शिवलिङ्ग तथा राम, सीता र लक्ष्मणका मूर्तिहरु स्थापना गरिए । यी मूर्तिहरु षडानन्द आफैँले भारतको हरिहर क्षेत्र तथा उज्जैनबाट ल्याएका हुन् भन्ने बूढापाकाहरुको भनाई छ । उक्त मन्दिर परिसरमा नन्दी र हनुमानका ठूला प्रस्तर मूर्तिहरुका साथै कीर्तिमुख भैरवको समेत स्थापना गरेका थिए ।

समतल क्षेत्रमा स्थापित विद्यालय र मन्दिर एउटै परिसरमा एकिकृत रुपमा रहेका थिए । उक्त परिसरलाई तीनवटा चोकमा विभाजन गरी निर्माण गरिएको देखिन्छ । सबभन्दा पछाडि उत्तरतिरको पहिलो चोकमा राम मन्दिर र शिव मन्दिर थिए भने त्यसको उत्तर र पूर्वमा झिँगटीले छाएका तीनतले छात्राबास भवन थिए । वीचको चोकको माझमा मण्डप र त्यसको पूर्व र पश्चिम लङमा पनि झिँगटीकै छानो भएका तीनतले छात्राबास भवन थिए भने त्यही चोकको उत्तर र मन्दिर चोकको दक्षिणतिरको तीनतले भवनको भुइँतलामा वेदाध्यायीहरुका लागि फलेक छापिएको खुल्ला कक्ष थियो । त्यसको माथिल्लो तलामा भने भण्डार थियो, जसलाई जगेडा घर पनि भनिन्थ्यो । त्यस घरको भुइँतलाको पूर्वपट्टि नगरा राखिएको थियो । त्यस चोकभन्दा बाहिर दक्षिणपट्टि अर्को ठूलो चोक थियो । जसलाई पूर्व-पश्चिम लम्बाइको झिँगटीको छानो भएको एकतले पुराणशालाले छुट्याएको थियो । यसबाहिरी चोकको पश्चिमपट्टि दुईतले भवन बनाएर दुबै तलामा कक्षा संचालनको व्यवस्था गरिएको थियो । यस चोकको पूर्वपट्टि राधाकृष्ण मन्दिर तथा अन्य स-साना मन्दिरका साथै शिवलिङ्गहरु स्थापना गरिएका थिए । राधाकृष्ण मन्दिरभन्दा दक्षिण-पूर्वपट्टि विद्यालय परिसर प्रवेश गर्नेबित्तिकै एउटा झिँगटीले छाएको तीनतले कलात्मक धर्मशाला (पाहुना घर) थियो र यस चोकको वीचको भाग चाहीँ खुल्ला र फराकिलो थियो, जसलाई धान्य पर्व, तोलादान, यज्ञयागादि कर्मका लागि प्रयोग गरिन्थ्यो । त्यसैगरि विद्यालय परिसरको आसपास र भन्झ्याङ बजारको छेउमा गुम्बज शैलीमा सरस्वती मन्दिर, गणेश मन्दिर तथा लक्ष्मी मन्दिर समेत बनाइएको थियो । यस किसिमको योजनाबद्ध ढङ्गले निर्माण गरिएको वृहत्तर संरचनालाई अहिले पनि भत्के-बिग्रेको अवस्थामा देख्न सकिन्छ ।

२०१६ सालमा विद्यालय संस्कृतप्रधान पाठशालामा परिणत भएपछि विद्यार्थी संख्या अत्याधिक रुपमा वृद्धि भयो र २०२१ सालदेखि विद्यालय पूर्वतर्फको डाँडामा नवनिर्मित तीनतले भवनमा सारियो । २०२२ सालदेखि केही वर्ष महाविद्यालयका रुपमा उत्तरमध्यमा तहको पठन-पाठन पनि भएको थियो । उक्त भवनमा षडानन्द संस्कृत माध्यमिक विद्यालयको पठन-पाठन अद्यापि भइरहेको छ ।

विभिन्न भौतिक सम्पदाहरुको निर्माण :

विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैँचा पनि निर्माण गराएका थिए । जुन बगैँचामा विभिन्न जातका फलका बिरुवाहरु, विभिन्न याममा फुल्ने फूलहरु, स्थानीय जङ्गलमा पाइने विभिन्न बोट-बिरुवाहरु विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए । भनिन्छ- त्यस बगैँचामा एकहजार आठ प्रजातिका बोटबिरुवाहरु रोपिएका थिए ।

सो बगैँचाको संरक्षणका लागि काठमाडौं तथा भक्तपुरबाट प्राविधिक झिकाई तेलिया इँट र सुर्कीको विशाल पर्खाल बनाएर घेरिएको थियो । भित्री बगैँचाको दक्षिण-पश्चिम र बजारको उत्तर-पूर्वमा बाहिरी बगैँचा बाइएको थियो । जुन आज पनि देख्न सकिन्छ ।

षडानन्दले भन्झ्याङ बजार परिसरको बाहिरी बगैँचामा सुन्दर पार्वतीकुण्ड (ठूलो पोखरी) निर्माण गराए । त्यस कुण्डमा विभिन्न जातका रङ्गीचङ्गी माछाहरु पालिएका थिए साथै बाहिरी र भित्री बगैँचामा सीताकुण्ड, गौरीकुण्ड, हनुमानकुण्ड आदि कुण्डहरुको निर्माण गराएका थिए ।

विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चौरको नजिकमा नारायण धारा तथा भन्झ्याङबाट फालिकोटतिर जाने बाटोमा रामधारा र लक्ष्मणधारा जस्ता धाराहरु पनि बनाइएका थिए । उनले सामूहिक, सामाजिक तथा सांस्कृतिक गतिविधि संचालन गर्न चौरहरु र गौचरनहरुको पनि व्यवस्था गरेका थिए । तीमध्ये नारायणचौर र गौचरन अझै पनि छँदैछन् ।

षडानन्दले विद्यालय आउन-जानका लागि आसपासमा बाटो निर्माण गराए । मन्दिर परिसरदेखि भन्झ्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्नेखालको फराकिलो बाटो बन्यो । नारायणधारा, रामधारा जाने-आउने बाटो र गडीगाउँदेखि टुँडिखेलको नजिकबाट भन्झ्याङ आउने चौडा बाटो समेत यिनकै निर्देशनमा बनेका थिए ।

बस्ती बिस्तार भएपछि तथा शैक्षिक एवं सामाजिक गतिविधि बढेपछि सुरक्षाको पनि विशेष आवश्यकता पर्छ । तसर्थ यिनले तत्कालिन शासकहरुसँग हारगुहार गरेर छोटी जङ्गी अड्डा स्थापना गराए र सिपाहीहरुलाई परेड खेल्न गडीगाउँको डाँडामा टुँडीखेल बनाउन लगाए । त्यो टुँडीखेल अहिले पनि यथावत् छ ।

सामूदायिक वनको व्यवस्था :

षडानन्दले एउटा विशाल वनको स्थापना गराएका थिए । जसमा स्थानीय रुपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरु थिए साथै त्यहाँ रुद्राक्षको वन सघन रुपमा हुर्काइएको थियो । ती बोटबिरुवा धार्मिक तथा सामाजिक रुपमा दैनिक आवश्यकतासँग आबद्ध थिए ।

पछि आएर त्यो वन रुद्राक्ष वनका रुपमा चर्चित हुन पुग्यो । यसलाई जगेडा वन पनि भनिन्छ । यसलाई सामूदायिक धारणा अनुरुप संरक्षित नेपालको पहिलो सामूदायिक वन मानिन्छ ।

मेला, व्यापार :

बालबागुरु षडानन्दले दिङ्ला भन्झ्याङ्मा बजार बसाए । सो भन्झ्याङ्मा बालाचतुर्दशीका दिन सद्मी मेला लाग्ने गर्दछ । सो दिन मृतात्माहरुको शान्तिका लागि रथयात्रा सहित शतबीच छर्ने प्रचलन छ । त्यस्तै चैत्रशुल्क नवमीका दिन रामनवमी मेला लाग्दछ । प्रत्येक शनिबार साप्ताहिक हाट लाग्ने व्यवस्था समेत छ । अहिले पनि पर्व-पर्वमा ती मेलाहरु र साप्ताहिक हाट लाग्ने गर्दछन् ।

शनिबारको हाट तथा मेलामा गृहस्थी जीवनसँग सम्बन्धित स्थानयि उत्पादन चामल, दाल, चिउरा, सागसब्जी, घ्यु, कुराउनी, सक्खर तथा फलफुलहरु किनबेच हुने गर्दछन् । यस्तै स्थानीय सीपबाट उत्पादित डोका, डाला, थन्से, डेली, ठेकी, गुप्ते, दुधेरो, भुने, भकारी, मान्द्रा, नाङ्ला, ढाकी, महला, घुम, नाम्ला, खकन, दाम्ला, फिपी, पिचा, मुर्चुङ्गा, मादल, बिनायो, राडी, पाखी, लुकुनी, खुकुरी, कर्द, चकमक, फाली, करुवा आदि र अन्य स्थानीय भाँडाकुँडाको समेत प्रशस्त किनबेच हुन्छ ।

यसरी नै मेलामा बालन, भजन, संगीती आदि गाएर रातभर जाग्राम बस्ने चलन पनि छ ।

समाज सुधार :

बालागुरु षडानन्दले समाज सुधारका क्षेत्रमा उल्लेख्य योगदा पुऱ्याएका छन् । यिनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा वि.सं. १९४० सालतिरै सतीप्रथा उन्मूलन गराएका थिए । त्यस्तै छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रचारित गरेका थिए । राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्रशमशेरले यिनैबाट पाएका थिए, भनिन्छ ।

पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरुको सहयात्राको सुरुवात पनि यिनले गरे । संस्कृत भाषा बाहुनले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो ।

समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ वटुकहरुको सामूहिक व्रतबन्ध स्थानीय नारायणचौरमा गराई सामूहिक संस्कार कार्य गर्ने कुरामो प्रारम्भ गरे ।

सदाचार शिक्षा :

विद्यालयबाट अध्ययन गरेर शिक्षा हासिल गर्नु त छँदैछ, त्यसका अतिरिक्त आध्यात्मिक एवं नैतिक ज्ञान समेत थप दिई समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व-पर्वमा पुराण तथा नैतिक प्रवचन दिने व्यवस्था समेत भएको थियो ।

सिद्धिप्राप्त व्रह्मचारी :

आबाल व्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग-साधनाका साथै चौबीसपल्ट गायत्री पुरश्चरण गरी अष्टसिद्धि तथा गायत्री साधना समेत गरेका थिए ।

यिनका विषयमा अनेकन् किंबदन्तीहरु छन् । यिनी आज काठमाडौंमा थिए भने भोलिपल्ट दिङ्लामा हुन्थे, भनिन्छ । त्यस्तै अरुण नदीमा रुमाल बिछ्याएर नदी पार गर्थे पनि भनिन्छ । कतिपय त यिनको गायत्री जप गर्ने कोठामा गायत्री मातासँग साक्षात् वार्ता भएको हामीले पनि सुनेका थियौँ भन्ने पनि थिए रे ! त्यस्तै यिनको अन्तिम अवस्था बितेको काठमाडौं, टेकुको पचलीघाटमा बाग्मती नदीमा बर्खाको भेला आएको बेला पनि खराउ लगाएर पानीमाथि हिँड्दै नदी वारपार गर्थे भन्ने पनि विश्वास गरिन्छ ।

यिनी योग-साधानारत रहेरै दिवंगत हुनु, त्यतिखेरको समयमा पनि राष्ट्रले गर्न नसक्ने सुधार तथा विकाश निर्माण कार्य गरिनुले उनमा विशिष्ट सिद्धि थियो भन्नुमा दुईमत रहँदैन । यिनको ख्याति तथा सिद्धिबाट तत्कालिन शासकहरु पनि भलीभाँती परिचित थिए । तत्कालिन शासकहरु पनि सिद्ध पुरुष षडानन्दका भक्त थिए । त्यसैले षडानन्दले भने/गरेका सामाजिक कार्यमा तत्कालिन शासकबाट लालमोहर गरिदिएको देखिन्छ । उनले गुठीको लालमोहर वि.सं. १९३५ सालमा नै गराएका थिए । त्यतिमात्र होइन, राणा शासकहरु आबाल व्रह्मचारी षडानन्दको अनुशरण गर्नु आफ्नो धर्म ठान्दथे । त्यसैले १९३४ सालमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला काठमाडौंमा खुल्यो । यसरी नै राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने सरकारी घोषणा पनि भयो ।

देहावसान :

वि.सं. १९६६ सालमा धर्मपत्रिकामार्फत् आफ्नो सिर्जना विद्यालय, मन्दिरको पूजापाठ, मेलापर्व आदि संचालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठमाडौंको टेकु, पचलीघाटमा अवस्थित आश्रममा फर्किए र वि.सं. १९७३ सालको जेष्ठशुल्क त्रयोदशीका दिन योग-साधनामा रहँदारहँदै ब्रह्मलीन भए ।

यसैबीच उहाँको १८८औँ जन्मजयन्ती मार्गशुक्ल पञ्चमी २०७९ का दिन मोरङको दाम्राभिट्टा, झापाको दमक, सुनसरीको इटहरी, भोजपुरको दिङ्ला, काठमाडौं लगायतका ठाउँहरुमा उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गरी मनाइयो भने दाम्राभिट्टामा स्थानीय त्रिपुरेश्वर शिवालय मन्दिरमा साँझ १८८ वटा दीप प्रज्वलन समेत गरिएको थियो ।

उनलाई राष्ट्रिय विभूति घोषणा गर्न नेपाल सरकारसमक्ष यसै लेखमार्फत् अनुरोध गर्न चाहन्छु ।