विपश्यना ध्यान शिविरको समापन

विपश्यना ध्यान शिविरको समापन


कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर समापन भएको छ । समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित थिए ।

शिविरमा ४३ जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी सहभागी थिए । सहभागीलाई आचार्य ज्ञानदर्शन उदास लगायतले ध्यान सिकाएका थिए ।

कारागार कार्यालय, नक्खुमा निर्मित विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटनसँगै शिविर सुरु भएको हो । नेपाल विपश्यना केन्द्रको सहयोगमा सो केन्द्रको निर्माण भएको थियो ।

शिविरको समापन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिको सरकारको अभियानमा जेल सुधार पनि एक महत्वपूर्ण पक्ष भएकोले कैदीबन्दीको अधिकार एवम् रुपान्तरणलाई सरकारले ध्यान दिएको बताए ।

ध्यानले आफ्नै रुपान्तरण गर्ने भएकोले १२ दिनसम्म सिकेको यस बिधिलाई दैनिक र जीवनभर प्रयोगमा ल्याएर उदाहरणीय बन्न उनले कैदीबन्दीहरूलाई आग्रह गरे ।

सहभागीमध्येले शिविर अवधिका अनुभव सुनाउँदै ध्यानले सकारात्मक सोच्न र सच्चिन धेरै मद्दत गर्नसक्ने बताए ।