चांगाथलीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण शुरु

चांगाथलीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण शुरु


ललितपुरको महालक्ष्मी नगरपालिका-७, चांगाथलीस्थित पञ्चकन्या मन्दिर परिसरमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण शुरु गरिएको छ ।

बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीनतल्ले सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

‘बर्थिङ सेन्टर’को रुपमा समेत विकास गरि दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरि स्वास्थ्यचौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए । उनका अनुसार नपुग रकम थपेर आगामी आर्थिक वर्ष ०८१÷८२ सम्म निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्नेगरि निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिइएको हो ।

‘भवन निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट एमबिबिएस डाक्टरको दरबन्दी व्यवस्था गरि वडावासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा दिइने वडाको योजना छ’– वडाध्यक्ष महर्जनले भने ।

वडा कार्यालयले हाल सो वडाको चांगाथलीस्थित चाँदनीचोकमा रहेको अस्थायी स्वास्थ्यचौकीबाट वडावासीलाई दैनिक बहिरङ्ग स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । जटिल खालका र आकस्मिक सेवाको लागि भने सो नगरपालिका क्षेत्रमा रहेको किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा विरामी जाने गरेको छन् ।