लुम्बिनीबाट शान्ति र समृद्धिका लागि बुद्ध शिक्षाको सन्देश

लुम्बिनीबाट शान्ति र समृद्धिका लागि बुद्ध शिक्षाको सन्देश


बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।

परराष्ट्र मन्त्रालय र एचसिसिएनको आयोजनामा लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बुद्ध जन्मस्थल लुम्बिनीबाट विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारका द्वन्द्व देखापरेकाले समस्या समाधानका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताउनुभयो ।

‘बुद्वले आफैँलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन् बढी अपरिहार्य बन्दै गएको छ’, उहाँले भन्नुभयो, ‘बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले मन केन्द्रित गरिने ध्यान बौद्व धर्ममा मात्रै सीमित नरहेको बताउनुभयो । उहाँले खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताउनुभयो । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापितहुँदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्धजन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले विश्व शान्ति प्रवर्द्धनमा विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता कायम गर्ने बताउनुभयो । उपाध्यक्ष डा लामाले बुद्धका शिक्षा विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सद्भाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गर्नुभयो ।

सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्य दूत र सरकारी अधिकारी बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ति र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन् ।

बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णुकुमार अग्रवालले बताउनुभयो ।

मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदूत एनआर हेरुले बुद्ध जन्मस्थल जस्तो पवित्र भूमिका आएर शान्तिको सन्देश दिन पाउँदा आनन्द प्राप्त भएको बताउनुभयो । नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो । सम्मेलन अष्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी भएका हुन ।

समृद्धिका लागि विश्व शान्ति सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका उनीहरू बुटवलस्थित लुम्बिनी केवलकारको भ्रमण गरेका थिए । यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न देशका गैरआवासीय राजदूतको उपस्थितिमा सीता अशोकको वृक्षरोपण गरिएको छ ।

तस्बिर : रासस