राजधानीका ९० स्थानमा बिहानैदेखि मापसे र लापसे चेकिङ

राजधानीका ९० स्थानमा बिहानैदेखि मापसे र लापसे चेकिङ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

विगत वर्षका तुलनामा यो वर्ष ट्राफिक प्रहरी होलीलाई मर्यादित बनाउन आक्रामक रुपमा प्रस्तुत भएको छ । होलीको दिन आज (आइतबार) राजधानीका ९० स्थानमा सबै प्रकारका चेकिङ ट्राफिक प्रहरीले गरिरहेको छ । मुख्यत: मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेदेखि लागुऔषध खाएका चालक र सहयोगीसम्म ट्राफिकको निसानीमा परिरहेका छन् । तीब्र गति, लेनलाइन पालना नगर्ने, सडकमा होहल्ला गर्दै गाडीमा हिड्नेदेखि इच्छाविपरीत रङ लगाउनेहरुलाई ट्राफिकले धमाधम पक्रिरहेको छ । कारवाहीबाट बच्न कानुनले निषेध गरेका बस्तुको सेवन नगर्न र ट्राफिक नियम पालना गर्न ट्राफिक प्रहरीले सबैमा आग्रह गरेको छ ।

होलीलाई सभ्य र भव्य बनाउन यातायात सञ्चालनमा थप कडाइको योजना ट्राफिक प्रहरीले ल्याएको जनाएको छ । होली मान्ने नाममा जथाभावी सवारी साधन कुदाउने, ओभरलोड बोक्नेजस्ता विकृति हटाउन ट्राफिक प्रहरी शनिबार (हिजो) देखि नै सकृय भएको थियो ।

‘विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र ब्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू आइतबार बिहान ७ बजेदेखि नै सडकमा खटिसकेका छन् ।’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले घटना र विचारसित भने ।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यबस्था मिलाएको हो ।

ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरेर आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राखेको छ । दुर्घटनारहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिविधीलाई समेत नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मूख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो उपस्थिति छ । राजधानीमा होलीको सहज व्यवस्थापनका लागि ९ सय भन्दा बढि ट्राफिक प्रहरी खटिएका छन् भने आवश्यक परेको अवस्थामा थप प्रहरी परिचालन गर्न मौजुदा शक्ति तैनाथ राखिएको ट्राफिक प्रहरी जनाउँछ ।