मन्त्री चौधरीको अमेरिका यात्रा उपलब्धिमुलक !

मन्त्री चौधरीको अमेरिका यात्रा उपलब्धिमुलक !


अमेरिकाको न्यूयोर्कमा ६८औँ युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छन् ।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रिस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताइन् । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गरिन् । ‘भ्रमण फलदायी भएको छ । लैङ्गिक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरु, वर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरु बारे विश्वमाझ जानकारी दिन सके । सम्मेलनमा तीन वर्षदेखि मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धिमुलक भएको छ’, उनले भनिन् ।

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताकी छन् । मन्त्री चौधरीले विश्व सम्मेलनमा बोल्दै मन्त्री चौधरीले महिला र युवतीहरुका सवालमा नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको वर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतिका बारेमा विश्वको ध्यानाकर्षण गराएकी थिइन् । उनले महिला समानता र महिला सशक्तिकरणलाई सरकारले प्राथमिकतामा राखेको धारणा राख्दै १६ औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न राज्य प्रतिबद्ध भएको बताइन् ।

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराइन् । नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको उनको धारणा छ ।